नाम्जे (धनकुटा)/ कवि राज माङ्लाककाे चर्चित कविता कृति 'लिम्बुनी गाउँ' काे धनकुटाकाे नाम्जेमा परिचर्चा भएको छ । ०७४ काे मदन पुरस्कारकाे श्रेष्ठ सूचीमा पर्न सफल कृतिबारे चर्चा भएको हाे ।
शुक्रबार साँघुरीगढी गाउँपालिका-६ काे नाम्जेस्थित श्री ग्रामीण जनता माविकाे प्राङ्गणमा भएको कार्यक्रममा कृति र सर्जकबारे कवि एवम् अनुवादक चन्द्र गुरुङ, सांस्कृतिक अभियन्ता नरबहादुर चेम्जोङ र लाेकबहादुर कटुवालले परिचर्चा गरेका थिए । कवि गुरुङले माङ्लाककाे सङ्ग्रह उत्कृष्ट भएको र यसमा नेपालकाे सांस्कृतिक वैविध्यताकाे साैन्दर्य देखिने बताए ।
त्यस्तै, सङ्ग्रहले पूर्वी भूगोलको आदिवासी याक्थुङ समुदायको पहिचानलाई अगाडि ल्याएको कियाचुका सल्लाहकार समेत रहेका नरबहादुर चेम्जोङले उल्लेख गरे । अर्का वक्ता लाेकबहादुर कटुवालले कृतिले उत्तरआधुनिक लेखनलाई चुनाैती दिएको र रैथाने स्वादलाई आत्मसात गरेको धारणा राखे ।
कवि माङ्लाकले सङ्ग्रहकाे तेस्रो संस्करण निस्कने तयारीमा रहेकोमा भन्दै सबैबाट पाएकाे स्नेह र प्रतिक्रियाप्रति आभार व्यक्त गरे । पान्थरकाे आङ्ना (हाल तुम्बेवा गापा)का कवि माङ्लाक ६० काे दशकमा सुरु भएको सिर्जनशील उत्तरवर्तीका एक महत्त्वपूर्ण अभियन्ता हुन् । ०७४ मा प्रकाशित भएको सङ्ग्रहकाे दाेस्राे संस्करण ०७५ मा प्रकाशित भएको थियोे । शिखा बुक्सले प्रकाशित गरेको कृतिमा तीन खण्डमा ३१ कविताहरू समावेश छन् ।
कविता प्रतियोगिता सम्पन्न
श्री ग्रामीण जनता माविमा अध्ययनरत विद्यार्थीहरूबीच कविता प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ६ देखि १२ का २० जना विद्यार्थीहरूले सहभागिता जनाएको प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियोे ।
प्रतियोगितामा स्मृति मगर पहिलो, रुविना मगर दाेस्राे, अनुष्का परियार तेस्रो र मनाेज कटुवाल सान्त्वना भएका थिए । उनीहरूलाई नगद राशीले पुरस्कृत गरिएको थियोे । प्रतियोगिताका निर्णायकहरूमा कवि अमित थेबे, शिक्षकहरू टङ्क पाेख्रेल र लक्ष्मी भण्डारी रहेका थिए ।
उक्त अवसरमा क्षितिज इवाले कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश पारेका थिए । बिना मगरले सञ्चालन गरेकी कार्यक्रम प्रधानाध्यापक टङ्कबहादुर भुजेल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार राईकाे अध्यक्षतामा भएको थियो ।