इटहरी । इटहरी उपमहानगर क्षेत्रमा क्षयरोगबाट वार्षिक ३५ जनाको मृत्यु हुने गरेको एक तथ्याङ्कले देखाएको छ । उपमहानगरको स्वास्थ्य महाशाखाले आयोजना गरेको एक दिने योजना तर्जुमा कार्यशालामा सार्वजिनक भएको तथ्याङ्कले यस्तो जनाएको हो । 

उपमहानगरले क्षयरोग न्यूनीकरणको निमित्त विभिन्न योजना ल्याए पनि पछिल्लो ३ वर्षयता रोगकै कारण मृत्युदर बढेको तथ्याङ्कमा उल्लेख छ । 

तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०७९/०८० मा क्षयरोगका कारण २६ जना, २०८०/०८१ मा बढेर ३१ जना र २०८१/०८२ मा ३५ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ । वडा नं. ६ स्थित ज्येष्ठ नागरिकको सभाहलमा आयोजित क्षयरोगमुक्त अभियानसम्बन्धी वडास्तरीय एक दिने सूक्ष्म योजना तर्जुमा कार्यशाला गोष्ठीमा सार्वजनिक गरिएको तथ्याङ्कले हो । 

तथ्याङ्कअनुसार अधिकांश ज्येष्ठ नागरिकहरू यो रोगबाट प्रभावित छन् । इटहरीमा उमेर समूहको हिसाबले ३५ देखि माथिका उमेर भएकाहरू यो रोगबाट प्रभावित भएको कार्यक्रममा बताइएको थियो ।

बढ्दो सहरीकरणसँगै सौखिन खानपानका कारण यो रोग लाग्ने क्षयरोग सहायक तथा फोकल पर्सन एवम् कार्यक्रमकी सहजकर्ता सुनिता गिरीले बताइन् । क्षयरोगलाई लक्षित गरी केही समयअघि आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ हजार ५ सय जनाको स्वास्थ्य परीक्षण गर्दा १ सय ३९ जनामा सङ्क्रमण देखिएको तर तीमध्ये २९ जनामात्रै नियमित चेकजाँच गर्न स्वास्थ्य चौकीसम्म पुगेको बाँकी उपचार गराउनै नमानेकोले घरमै पुगेर परामर्श र औषधि प्रदान गरिएको सहजकर्ता गिरीले बताइन् ।

सामाजिक मान, प्रतिष्ठामा आँच आउने डरले अधिकांश क्षयरोगका बिरामीहरू अस्पतालसम्म पुग्नै नमान्ने गरेको सहजकर्ता गिरी बताउँछिन् । क्षयरोग लागेको पत्ता लागे समयमै उपचार सम्भव हुने उनको भनाइ छ ।  उनका अनुसार हरेक वर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् । २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गरेको छ ।

रोगको पहिचान कसरी गर्ने 

तीन हप्ता वा सोभन्दा बढी समयदेखि लगातार खोकी लागेमा, खकारमा रगत देखिएमा, श्वास फेर्न गाह्रो भएमा वा छाती भारी भइरहेमा, अकास्मात् धेरै तौल घटेमा यो रोग लागेको हुनसक्ने गिरी बताउँछिन् ।  त्यस्तै पसिना धेरै आउने र थकान बढी महसुस भएमा नजिकैको स्वास्थ्य चौकी गएर परीक्षण गर्नुपर्दछ । शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकामा यो रोगको सङ्क्रमण हुनसक्ने उनको भनाइ छ । यो रोगसँग डराउनु नपर्ने र यसको निःशुल्क उपचारको सरकारले प्रबन्ध गरेको क्षयरोग विशेषज्ञहरू बताउँछन् ।  

रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मान्छेमा, चुरोट रक्सी या लागूऔषध सेवन गर्नेमा र क्षयरोगको औषधिको पूर्ण मात्रा सेवन नगरेमा उक्त रोगको पुनः सङ्क्रमण देखिन सक्ने भएकाले उपचारमा विशेष ध्यान दिनु आवश्यक हुने विशेषज्ञहरूको भनाइ छ ।