प्राचीन ग्रीसका महान् दार्शनिक प्लेटो ठान्थे– ‘साहित्यले मानिसलाई भ्रष्ट बनाउँछ ।’ यो किन भने होला आश्चर्य लागेर आउँछ १ मानिसको भावनात्मक र संवेदनात्मक पक्षलाई मात्रै साहित्यले उठाइदिए पाठकलाई बौद्धिक रुपमा झन् कमजोर बनाइरहेको हुन्छ नै, नकार्न सकिन्न ।

यसर्थ साहित्य, बौद्धिक दृष्टिकोणबाट जीवन र जगत् नियाल्ने माध्यम बनिनुपर्छ भन्ने मत दार्शनिक प्लेटोको रहेकोे पाइन्छ । प्रेमिल जोडीहरु जुहारी खेलेर हाटबजारी कृति मात्रै संस्मरण गर्न खोजेका हुन् सम्झियौं भने प्लेटोको माथिको भनाइअनुसारको जवाफ कविहरुले दिन तयार हुनुपर्ने हुन्छ । 

काल्पनिक साहित्यहरु नपढिने होइन तर, अहिले उति पढिन्न । समयसँगै विज्ञान जन्मियो । विज्ञानले प्रविधि जन्मायो । यो प्रविधिसँगै मानिसले आफैलाई भुल्दै गइरहेको यस्तो अवस्थामा आफू के हो त जीवन र जगत्मा ? सोध्नै बिर्सिएका छौँ । यस्तो बेला वैचारिक पक्ष कमजोर हुनु हो ।

जीवन र जगत्लाई खोज्न यहाँ यो किताबको, कवि पोमूले आवश्यकता महसुस गर्नुभएको हुनसक्छ । किनकि यो सङ्ग्रहमा पोरोक्मीको दर्शन, सिद्धान्त र मार्ग प्रशस्त सिकाएको भेटिन्छ । सेक्मुरी फूल हाँसेको पाइन्छ र हरेक मानिसलाई मान्छे बन्न आह्वान गरेको पाइन्छ । 

समयलाई विघटन गरेर 
युगीन बोधसित समाञ्जश्य गरी 
स्वयम् आफैले 
आफूद्वारा आफ्नो निर्माण गर्नु छ 
(मद्वारा मेरो निर्माण)

कवि पनि आममानिस हो । कविता मात्रै हो जीवन्त बाँचिदिने त १ कविता मानवजीवनको बोध गर्नलाई लेखिन्छ, पढिन्छ भनेर उहिल्यै कवि लेखनाथ पौड्यालले भनेका थिए । पौड्यालको ‘साहित्य विनाको मानिस पशुतुल्य हुन्छन्’ भनाइ र प्लेटोको दर्शन भनाइमा कति समदूरी राख्छन् ? हाम्रो आ–आफ्नो दार्शनिक बुझाइहरु होलान् । तर, मेरो मान्यता यो छ कि पाठकलाई सकारात्मक ऊर्जा दिनसक्नु नै सफल साहित्य हो । निराशाले साँच्चै मानिसलाई भ्रष्ट नै बनाउँछ ।

मैले पनि यहाँ यस सङ्ग्रहले पाठकलाई जीवन–दर्शन दिइरहेको भेट्दा यी दुई शब्द लेख्ने हिम्मत गरेको छु । हुन त आजभोलि कविता विधा बौद्धिकता निखार्नका लागि पढिन्छ, लेखिन्छ । दार्शनिक प्लेटो बेलाका प्रसिद्ध नाटककार होमरका इलिअट र अडिसी जस्ता कृतिहरुले बालमस्तिष्कमा मनोरञ्जन बाहेक ज्ञान दिँदैन भन्ने बुझाइ थियो भने अहिले हामी फ्रान्सेली दार्शनिक ज्याक डेरिडाको विनिर्माणवादी युगमा छौँ ।

त्यसैले पनि लगभग २३ सय वर्षअघिको प्लेटो दर्शनले र डेरिडाको विनिर्माणवादी युगमा तादात्म्यता नराख्नु कुनै नौलो कुरो होइन । समयकाल बित्दै जाँदा प्रायः दर्शनहरु परिमार्जन हुँदै आएका छन् । त्यसको प्रभाव नेपाली साहित्यमा मुलधारका भनिएको साहित्य लेखनबाट सीमान्तकृत समुदायको भाषा र लोकसाहित्य नलेखिनु ‘मद्वारा मेरो निर्माण’ जस्ता सङ्ग्रहहरु विनिर्माणको सशक्त उद्घोष भएर आउनु हो । 

उघाऔं तिम्बरकको पानी 
बनाऔं लिसोपासो 
खिपौं भलायो र सामसिङ मुक्तोका घुङ्रिङहरु 
तयार गरौं दलसिङ ढुङ्गा 
बाँध्नु छ असमानताको नाहेन ।
(माटोको गीत)

गाउँघरका बाँसहरुमा कलात्मक अक्षरले खिपेर लेखिने प्रेमिल सायरी, मुक्तक र केही सन्देशहरु हाम्रा गामवेशीका मौलिक साहित्य हुन् । त्यो बाँस–साहित्य हो । तर, तिनीहरु अहिले लोप भइरहेका छन् । सन् २०१९ फेब्रुअरी महिना सौलको एक साँझ भेलामा कवि पराजित पोमु नेपाली साहित्यप्रेमी साथीहरुलाई यही कुरा सुनाउँदै हुनुहुन्थ्यो ।

सङ्गीतकार डिआर अटु दाइले हातै समाएर डो¥याउँदै मलाई त्यहाँ पु¥याएको त्यो क्षण म भने चिन्दै नचिनेको नयाँ मान्छेहरुको हुलमा कतिबेला भागुँ–भागुँ भइरहेको थिएँ । साहित्यमा रूचि हुँदाहुँदै पनि भागिहिँड्ने बानी मेरो मात्रै होइन, यहाँ कति हो कति त्यस्ता रहेछन् ।

भीडमा मज्जाले रमाइदिनेलाई सधैँ एकान्त ठीक लाग्दैन । म भने यसरी पनि त्यहाँबाट भागिरहेको थिएँ कि मलाई जीवनबाट साहित्य रूचि फुत्त निकालेर फ्याँक्नु थियो । के का लागि ? कसका लागि र किन साहित्य लेखिन्छ ? खासमा यसको जवाफ नै भेट्दिनथेँ । जब परदेशमा कविताहरु सँगै घरदेशका गाउँघर भेट्छु अनि लाग्दोरहेछ (हो, साहित्य यसको लागि पनि लेखिन्छ ।) 

भर्लाको लहरामा जेलिएका सुनाखरी फूलहरु 
फूलमाथि उडेका सिम्फोनीहरु 
वैंशले लपक्क भिजेको जवानीमा 
उड्ने रङ्गीन पुतलीहरु म हुँदै होइन ।
(मौन प्रेम)

एउटा दार्शनिकजस्तो लाग्ने कवि पोमुलाई लिम्बू समुदायको मिथकीय बिम्बहरुमा, कवितामा र परदेशमा मेसिनसित दिनरात खेल्दै बाध्यताले मजदुरी गर्दै देश उन्न माहिर छन् भनेर मैले मात्रै कहावत गरेको सुहाउँदैन । नेपालको सुदूर पूर्व ताप्लेजुङमा जन्मिनुभएको कवि पोमु नेपाली साहित्यमा अहिले मिथकीय कविता लेख्ने लहरमा अग्र पङ्क्तितिर देखिनुहुन्छ । 

कहीँ कतै होर्डिङ बोर्ड, बस, स्क्रिनहरुमा 
निकोला टेष्टका रिपिटेड अङ्कहरु 
१११, २२२, ३३३, ४४४ देख्न सक्छौ 
जिन्दगीको जेब्राक्रसमा अलमल हुन्छौ भनी 
सत्मार्ग सङ्केत गर्न म आएको मान्नू । 
(अभिभाज्य पूर्णता)

पहिलो कृति ‘लेप्मुहाङको डुङ्गा’ मैले पढ्ने अवसर पाएको छैन । दोस्रो सङ्ग्रह ‘मद्वारा मेरो निर्माण’ का केही कविताहरुमा बुद्धको मानवतावादी दर्शनलाई विश्वले अङ्गीकार गरिरहेको सन्दर्भमा हामी नेपालीले बिर्संदै गएको चिन्ता व्यक्त गर्नुहुन्छ ।

यिन र याङको अविभाज्य पूर्णता र आध्यात्मिकताले जीवन र जगत्को दृष्टिकोण सँगै उत्तरआधुनिकतातिर धकेलिएको विश्वमानव भूमण्डलीकरणको युगमा यसै पनि बाँच्नुपर्छ, उसै पनि बाँच्नु छ । दुःखहरु धेरै छन् । कविसित दुःखको अनुभूति हुन्न भने त्यहीँ कविता मर्छ । भाषा, कला, धर्म, इतिहास र केन्द्रीय राज्यसत्ता विनिर्माण हुनु समयसापेक्ष देश बाँच्नु हो । 

दर्शनका विद्यार्थीहरुलाई यी कविताहरु पठनीय छन् । कहिलेकाहीँ कविता पढ्ने–लेख्नेहरुले पहिले दर्शनको किताब पढेर कवि पराजित पोमुका कविताहरु पढ्नु भए स्वाद आउनेछ । 

माथि मानेभञ्ज्याङ डाँडामा 
आनीले टाँगेको लुङ्दर फर्फराइरहेको छ ।
(ॐ मणि पद्मे हुँ) 
प्रकाशकः फिनिक्स बुक्स
चित्रकलाः विजया लिम्बू
कृतिः म द्वारा मेरो निर्माण
कविः पराजित पोमु

मूल्यः रू. ३५०।–