धरान । नेपालमा पछिल्लो समय विदेशी फिल्महरूको छायाङ्कन गर्ने क्रम बढ्दो छ । त्यही क्रममा हिन्दी फिल्म ‘भिटी १३’ (वर्किङ टाइटल)को छायाङ्कन गरिएको छ ।

सोनी पिक्चर्स इन्टरनेशनल र रेनेसान्स पिक्चर्सद्वारा निर्मित फिल्म नेपालका सुन्दर दृश्यमा छायाङ्कन गरिएको हो । शक्ति प्रतापसिंह हाडाले निर्देशन गरेको यो फिल्ममा अभिनेता वरुण तेज र पूर्व मिसवल्र्ड मानुषी चिल्लर मुख्य भूमिकामा छन् । सत्य घटनाबाट प्रेरित रहेको भनिएको फिल्ममा हिमाल र उपत्यकाका दृश्यहरू खिच्न विशेष क्यामेरा प्रणाली शटओभर प्रयोग गरिएको छ । शटओभर भारतको हैदरावादका प्रशिक्षित र अनुभवी सिनेम्याटोग्राफर शैकत चक्रवर्तीले सञ्चालन गरेका थिए ।

विगतमा टम क्रुज, फास्ट एन्ड फ्युरियस आदि र अन्य विभिन्न ब्लकबस्टर चलचित्रहरू प्रस्तुत गर्ने टप गन माभेरिक जस्ता चलचित्रहरूमा शटओभर प्रयोग गरिएको छ । फिल्म भिटी १३ को भिजुअल इफेक्ट्स सुपरभाइजर दुर्गाप्रसाद केठा हुन्, जसले तेलेगु, तमिल, मलयालम, कन्नड र हिन्दी फिचर फिल्महरूमा २२ वर्षभन्दा बढी सह–सुपरभाइजर र सह–कलाकारको रूपमा काम गरिरहेका छन् ।

सन् २०२३ को मार्च ३ देखि ९ सम्म फिल्म लाङ्टाङ उपत्यका क्षेत्र, सिन्धुपाल्चोक जुगल हिमाल र त्यस वरपर छायाङ्कन गरिएको हो । अल्टिच्युड एयरको हेलिकप्टर र क्याप्टेन विवेक खड्काको उडानबाट सबै दृश्य खिचिएको हो । हिमाल, हिमाली उपत्यका र यसका वरपरका क्षेत्रहरूको यथार्थ पृष्ठभूमि प्रदर्शन गर्न फिल्मले नेपाल चयन गरेको निर्माण पक्षले जनाएको छ । फिल्म हाल निर्माण चरणमा छ र नेपाल फिल्मको दोस्रो छायाङ्कन तालिका हो । फिल्मको छायाङ्कन हरि के वेदान्तमले गरेका छन् भने कथा आमिर खान, सिद्धार्थ राज कुमार र शक्तिप्रताप सिंहको रहेको छ ।

फिल्मको लाइन प्रोड्युसर फुर्वा शेर्पा हुन् । शेर्पा रेकर्ड होल्डर निर्माता र निर्देशक हुन् । उनले सीएनएन, नेशनल जियोग्राफिक, एबीसी र लन्डनस्थित स्टोरीटेलर्स उत्पादन कम्पनीका लागि धेरै अन्तर्राष्ट्रिय परियोजनाहरूमा काम गरेका छन् ।