भद्रपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी खण्ड झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्मको १ सय २० किलोमिटर सडक आगामी साउन महिनादेखि निर्माण थालिने भएको छ ।
बजार क्षेत्रबाहेक ४ लेनको हुने सडकमा सहरी क्षेत्र र बजार क्षेत्रमा ६ लेनको सडक निर्माण गरिने भएको हो । सडकको नक्साङ्कन गर्ने प्राविधिक टोलीका उपप्रमुख प्रकाश उपाध्यायका अनुसार ठेक्का खोल्ने प्रक्रियामा नै भएकाले निर्माण कार्य सुरु हुन अझै तीनदेखि चार महिना लाग्ने जनाए । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) प्रतिवेदनको अन्तिम चरणको काम भइरहेकाले ठेक्का खोल्न ढिलाइ भएको जानकारी दिए । आगामी साउनदेखि निर्माण कार्य नै सुरु हुने उनको भनाइ छ । ठेक्का खोलेपछि मात्रै निर्माणमा लाग्ने रकमको बारेमा यकिन गर्न सकिने उनले जनाए । ‘अहिले नै भन्दा हतार हुन्छ तर, पनि करिब ४० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गर्न सकिन्छ’–उनले भने ।
निर्माण सुरु भएको तीन वर्षमा सडकको निर्माण कार्य सम्पन्न हुने अवधि तोकिएको सडक–खण्डको पहिलो चरणमा काँकरभिट्टादेखि ९६ दशमलव ५ किलोमिटर निर्माण सम्पन्न गरिनेछ । त्यो भनेको इटहरी पश्चिममा रहेको भाटभटेनी सुपर मार्केटसम्म पहिलो चरणमा निर्माण हुने उनले जानकारी दिए ।
सडक मूलतः चार लेनको बन्नेछ । तर, मुख्य बजार क्षेत्र र सहरी क्षेत्रमा दुवैतर्फ ६ दशमलव ५ मिटरको स्पेस लेनका रूपमा अतिरिक्त सडक निर्माण हुनेछ भने घर बस्ती भएको क्षेत्रमा पछि ६ दशमलव ५ मिटर नै पुग्ने गरी अहिलेलाई दुवैतर्फ ३ दशमलव ५ मिटर स्पेस लेन निर्माण हुनेछ ।
अहिले भएका पुलको दक्षिणतर्फबाट थप दुई लेनको पुल बन्नेछ । त्यसमध्ये तीन सय मिटरभन्दा लामो पुलहरू निन्दा, बिरिङ, कन्काई, रतुवा, बक्राहा र लोहन्द्रा खोलामा नयाँ डिजाइनको ‘सिग्नेचर ब्रिज’ बन्नेछ । अहिले भइरहेकामध्ये अवधि पुगिसकेका १५ देखि २० वटा पुलहरू चार लेनकै हुनेगरी नयाँ निर्माण गरिनेछ । झापाको चारआली चोक र सुनसरीको इटहरी चोकमा अन्डर पास हुनेछ । जसमा पूर्व–पश्चिम राजमार्ग माथिबाट र उत्तर–दक्षिण राजमार्ग तलबाट हुनेछ ।
त्यस्तै झापाको बिर्तामोडमा मुख्य चोकमा जक्सन सुधार गरिएको हुनेछ भने बिर्तामोडको सुरुवात र अन्तिम बिन्दुमा गरी दुईवटा अन्डर पास निर्माण हुनेछ । त्यस्तै अन्य मुख्य चोकहरू धुलाबारी, दमकलगायतका स्थानहरूमा जक्सन सुधार गरिनेछ । सबै सहरी क्षेत्रमा फुटपाथ, साइकल लेन र आकाशे पुल निर्माण हुनेछ । केही स्थानहरूमा पैदल यात्रीका लागि मात्रै हुने गरी अन्डर पास निर्माण गरिनेछ । सडकका मुख्य क्षेत्रहरूका ट्राफिक लाइटको व्यवस्था हुनेछ भने केही स्थानहरूमा विना ट्राफिक लाइटको सडक सुरक्षाको व्यवस्था गरिनेछ ।
चारआली, पथरी, कानेपोखरीको जङ्गल क्षेत्रमा बाँदरबाहेकका वन्यजन्तुहरूका लागि सडक वारपार गर्न अन्डर पासको व्यवस्था गरिनेछ भने बाँदरका लागि मात्रै हुनेगरी सडक वारपार गर्न सजिलोका लागि सडकको माथिबाट विशेष प्रकारको टनेल बनाइनेछ । त्यस्तै मोरङको बेतना सिमसार क्षेत्रमा कछुवालाई सडक वारपार गर्न विशेष प्रकारको टनेल निर्माण गरिनेछ । सडक निर्माण गर्दा भत्किने पूर्व–पश्चिम राजमार्गसँग जोडिएका उत्तर–दक्षिणका शाखा सडकका कल्भर्टहरू समेत निर्माण गरिनेछ भने मुख्य सडकलाई सहज बनाउन केही नयाँ कल्र्भटहरू समेत निर्माण गरिनेछ ।
सडकको माथिल्लो भाग उच्च गुणस्तरीय अस्फल्ट कङ्क्रिटको बन्नेछ भने तल्लो भाग डिभिएम प्रविधिको उच्च गुणस्तरको हुनेछ । सडकको दुई लेनको बीच भागमा विभिन्न जातका बिरुवा रोप्नका लागि खाली ठाउँ छोडिएको हुनेछ । जसमा विभिन्न प्रजातिका बिरुवा रोपिनेछ र सडकको दुवैतर्फको किनारामा पनि रैथाने जातका फूलहरू रोपिनेछ । जसबाट सडक आकर्षक देखिनुका साथै वातावरणमैत्री हुनेछ ।
सडक निर्माण गर्दा आवश्यक केही स्थानहरूमा नदी नियन्त्रणको कामसमेत गरिनेछ । सडकलाई जोखिम हुने क्षेत्रका नदीहरूमा बहाव नियन्त्रणका कामसमेत गरिनेछ । सडकको डिजाइन २० वर्षका लागि गरिएको छ । त्यसभन्दा पछि त्यसलाई परिमार्जन गर्दासमेत धेरै समस्या नहुने गरी व्यवस्थापन गरिएको छ भने ठेकेदार कम्पनीले तीन वर्षमा निर्माण कार्य सम्पन्न गर्नु पर्नेछ र थप एक वर्ष भएको निर्माणको मर्मत गर्ने समय हुनेछ । त्यसपछि पनि लगातार ५ वर्षको समयभित्र पनि कहीँ कतै सडक भत्किए निर्माण कम्पनीले नै मर्मत सम्भार गर्नुपर्ने व्यवस्था बोलपत्र आह्वान गर्दा नै उल्लेखित सर्तहरू पत्रमा समावेश गरिएको जनाइएको छ ।