विजयपुर । एक वर्षदेखि आंशिकरूपमा सञ्चालनमा रहेको पुल अब भने पूर्णरूपमा सञ्चालनमा आएको छ ।
शुक्रबार भारतको कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीप कुमारले सूचना जारी गर्दै मीरगञ्ज पुलबाट मालवाहक सवारीसाधन आवत–जावत गर्न मिल्ने जानकारी दिएका हुन् । मीरगञ्जको परमान नदीको मोटरेबल पुल बनेसँगै एक वर्षपछि भारतीय पक्षले मालवाहक गाडीलाई आवत–जावतमा अनुमति दिएको हो ।
पुल २ महिनादेखि सञ्चालनमा आए पनि आधिकारिक सूचना प्रकाशित भने शुक्रबार गरेको मोरङ व्यापार सङ्घले जनाएको छ । मोरङ व्यापार सङ्घका अनुसार अब भारतलगायत तेस्रो मुलुकबाट आउने मालवाहक गाडी १ सय १६ किलोमिटर घुम्नु नपर्ने भएको छ । अब ४ किलोमिटरको दूरीमा नेपालको आइसीपी आइपुग्छन् ।
यसअघि भारतको जोगवनीस्थित ल्याण्ड कष्टम र आइसीपीबीच समन्वय नहुँदा आंशिकरूपमा मात्रै मालसामानको कार्गाे आयात–निर्यात भइरहेको थियो । मोरङ व्यापार सङ्घका अध्यक्ष नवीन रिजालको अगुवाइमा पटक–पटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालन गर्न अनुरोध गर्दै आएको थियो । यसअघि २०२२ जनवरी ११ मा सूचना जारी गरी मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गाेको आवत–जावत नहुने जनाएको थियो ।
पुल पूर्णरूपमा सञ्चालनमा आएसँगै दैनिक दुई सयसम्म मालवाहक सवारी साधन भारतीय कष्टम हँुदै विराटनगर आइसीपीमा आइरहेको विराटनगर भन्सार कार्यालयलाई उद्धृत गर्दै सङ्घले जनाएको छ । एउटा मालवाहक सवारी भीमनगर हँुदै १ सय १६ किलोमिटर घुमेर आउँदा १६ हजार रुपैयाँ अतिरिक्त भाडा तिर्नु परिरहेको थियो । मीरगञ्ज पुल भासिँदा एक वर्षमा २२ अर्ब ५० करोडले विराटनगर भन्सारबाट हुने कारोबारमा गिरावट आएको थियो ।
जोगवनी नाकाबाट मालवाहक सवारी जान नसकेपछि सुनसरीको भण्टाबारी नाकाबाट रिरुट भएर आउँदा एउटा कण्टेनरको १६ हजार अतिरिक्त ढुवानी भाडा व्यवसायीले बुझाउँदै आएका थिए । एक वर्षमा व्यवसायीहरूले ११ करोड ५२ लाखको बराबरको अतिरिक्त ढुवानी भाडा तिरेको व्यापार सङ्घले जनाएको छ ।