विविधतामा एकता भएको देश नेपाल त्यस्तै एकतामा विविधता भएको हाम्रो देश नेपाल । विभिन्न चाडपर्वहरू मनाइने देश नेपाल । समय अनुकूल मनाइने चाडपर्वहरूमध्ये  रक्षाबन्धन, जनै पूर्णिमा तथा क्वाती पुन्हि आजै धुमधामसँग मनाइँदै छ ।

आज एकाबिहानै नुहाइ धुवाइ गरी  सप्तऋषिहरूलाई तर्पण दिने गरिन्छ । त्यसैले आजको दिनलाई ऋषि तर्पणी पनि भनिन्छ । विशेषगरी हिन्दूहरूले मनाउने पर्व हो जनै पूर्णिमा । आज बिहानै खोला–नाला वा पानीको स्रोत भएको ठाउँमा गई स्नान गरी, शुद्ध भई ब्राम्हणहरूले जनै फेर्ने गर्दछन् । जनै फेर्दा गुरु पुरोहितले  मन्त्रोच्चारण गरी जनै शुद्ध गरिएका हुन्छन् ।

आजै घर–घर घुम्दै वा मन्दिर परिसरमा बसेर मन्त्र उच्चारण गर्दै कतिपय पुरोहितहरूले आम नागरिकहरूलाई रक्षाबन्धनका रूपमा रक्षा सूत्र(डोरा) बाँधिदिन्छन् । यी डोराहरू पूजापाठ गरी मन्त्र उच्चारण गरेर शुद्ध पारिएका हुन्छन् । परम्परागत विधिसम्मत ढङ्गले बाँधिदिएका रक्षासूत्रले हामीमा भएको नकारात्मकता हटाउँछ र सकारात्मक ऊर्जा दिने गर्दछ भन्ने आम जनविश्वास रहेको पाइन्छ ।

हिन्दुहरूले धारण गरेको यो डोरा लक्ष्मीपूजाको दिन मात्र फुकाल्ने प्रचलन छ । यस  दिन गाईलाई पूजा गरी गाईको घाँटीमा माला लगाएर वा गाईको पुच्छरमा यो डोरा बाँध्नाले वैतरणी नदी पार गर्न सकिन्छ र आफूले गरेको पापबाट मुक्ति पाइन्छ  भन्ने विश्वास रहिआएको पाइन्छ तर, यो परम्परा क्रमशः लोप हुँदै गइरहेको छ ।

विभिन्न स्वादिला परिकार पकाउन खप्पिस नेवार समुदायको लागि आज विशेष दिन हो । उनीहरू आजको दिनलाई ‘क्वाती’ पुन्हिका रूपमा मनाउँछन् । चना, मटर, भटमासलगायत विभिन्न नौ किसिमका गेडागुडी मिसाएर स्वादिष्ट ढङ्गले पकाएर खाने गर्दछन् । यसैलाई ‘क्वाती’ भनिन्छ । नेवारी भाषामा ‘क्वा’ भनेको ‘तातो’ र ‘ती’ भनेको ‘झोल’ हो ।

यसरी विभिन्न नौं किसिमका गेडागुडी मिसाएर पकाइएको तात्तातो झोल खानु स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । यसले शरीरलाई ऊर्जा प्रदान गर्दछ । यसले सर्दी हटाउनुका साथै शरीरमा भएका विकारजन्य किटाणुहरूलाई मारेर शरीरलाई स्वस्थ राख्न मद्दत पुर्याउँछ ।

अहिलेको अवस्थामा तातो पदार्थ खानु र पिउनु कति आवश्यक छ भनेर भनिरहनु त्यति आवश्यक नपर्ला । क्वातीको अलावा उनीहरू आज अन्य विभिन्न मीठा–मीठा  परिकार पनि बनाएर  खाने गर्दछन् । क्वातीको प्रभाव अन्य समुदायमा पनि परेको पाइन्छ । ती समुदायका व्यक्तिहरूले पनि आज क्वाती बनाएर खाने गर्दछन् । यसलाई कसैकसैले जिस्किएर वा नजानेर ‘कोक्ती’, ‘क्वाटी’ पनि भन्ने गर्दछन् तर, यसको सही शब्द भने ‘क्वाती’ नै हो ।

आजका दिन नेवारहरू अलग बसेका वा टाढा–टाढा बसेका कतिपय दाजुभाइहरू पनि आज एकै ठाउँमा बसेर क्वाती खाने गर्दछन् । जूठो परेकाहरूबाहेक धेरैजसोले आजको दिन आफ्ना छोरीचेली, ज्वाइँ, आफन्त आदिलाई बोलाएर क्वातीका अलावा अन्य मीठा र स्वादिला परिकार पनि पकाएर खुवाउँछन् । यसरी  गेडागुडीको तातो झोल खानाले प्रशस्त प्रोटिन र भिटामिन पाई शरीरलाई ऊर्जावान बनाउँछ । अझ यी गेडागुडीहरू अङ्कुरित गरी सेवन गरेमा अझ धेरै पौष्टिकता प्राप्त हुने गर्दछ । पारिवारिक भेटघाटमा रमाइने नेपालका विभिन्न चाडपर्वहरूमध्ये यो पनि एक हो ।

आज रक्षाबन्धन पर्व पनि हो । आज  नेपालका विभिन्न क्षेत्रमा बसोबास गरेका विशेषगरी तराईमूलका मानिसहरूले रक्षाबन्धन धुमधामका साथ मनाउँछन् । आफ्ना दाजुभाइलाई दिदीबहिनीहरूले ‘राखी’ बाँधिदिने गर्दछन् । दाजुभाइले आफ्ना दिदी बहिनीलाई रुपैयाँ पैसा, उपहार दिन्छन् । दाजुभाइहरूले दिदीबहिनीहरूको जहिले पनि रक्षा गर्ने र रक्षाकवचको रूपमा अडिग भइरहने वचन दिने गर्दछन् । दिदीबहिनीहरूले पनि आफ्ना दाजुभाइहरूलाई मीठा–मीठा परिकार बनाएर खुवाउने गर्दछन् ।

दिदीबहिनी र दाजुभाइप्रतिको अटुट माया, स्नेह देखाउने यो पर्व मनाउने उनीहरूको आफ्नै परम्परा छ । यसदिन राखी बाँध्न नपाउने दाजुभाइ तथा दिदीबहिनीहरूको मन अत्यन्त पीडादायी हुन्छ । विदेशमा भएका वा अन्यत्र बसी विविध कारणले राखी बाँध्न आउन नसकेका दाजुभाइहरूलाई सम्झेर कुनै दिदीबहिनीहरू त धुरुधुरु रुने पनि गर्दछन् । कसै कसैले आफ्नो मनले खाने, घरपरिवारले रुचाएका व्यक्तिलाई दिदीबहिनी वा दाजुभाइ मानेर ‘राखी’ लगाउने, लगाइदिने पनि गर्दछन् ।

विभिन्न समयमा मनाइने विभिन्न चाडपर्वहरूको आ–आफ्नै विशेषता रहेको पाइन्छ । सभ्य भएर हामीले आफ्नो चाडपर्व मनाउनु र अरूको देखासिकी नगरी आफ्नो अवस्था अनि आस्थाअनुसार चाडपर्व मनाउनु नै आजको आवश्यकता हो ।
जनै पूर्णिमा, रक्षाबन्धन तथा क्वाती पुन्हिको अवसरमा समस्त पाठकवृन्दलाई हार्दिक शुभकामना ।