धरान । धरानमा हाईकिङसम्बन्धी गीत सार्वजनिक भएको छ ।

सोमबार धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, उपप्रमुख अइन्द्रविक्रम बेघा र हाईकिङ अभियन्ता तथा गीतका रचनाकार राजीव हलुवाईले हाईकिङ गीतको लिरिकल भिडियो सार्वजनिक गरे । भिडियो सिल्भर इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट समेत सार्वजनिक भएको छ ।

भिडियोमा हलुवाईकै अगुवाइमा धरान र आसपासका क्षेत्रमा भइरहेको हाईकिङ अभियानका फोटो तथा भिडियो समावेश गरिएको छ । राजीव हलुवाईको शब्द र मनोज मोतेको सङ्गीत रहेको गीतमा राजेशपायल राई, रमना श्रेष्ठ, हर्क साम्पाङ राई, शिव लामिछाने, डिल्ली फोम्बो, प्राश्ना शाक्य, पम्फा चाहार र मेलिना राईको स्वर रहेको छ ।

सेवक अभियानको प्रस्तुति र सिल्भर इन्टरटेन्मेन्टको सहकार्यमा तयार भएको गीत भावना रेकर्डिङ स्टुडियो धरान–१२ मा रेकर्ड गरिएको हो ।

गीत सार्वजनिक गर्दै नगर प्रमुख राईले धरानको पर्यटन विकासका लागि यो हाईकिङ गीतले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले धरानलाई हाईकिङको सहर बनाउन सेवक अभियानले भूमिका खेलेको बताए । हाल लिरिकल भिडियो सार्वजनिक भए पनि चाँडै यो गीतको अर्को भिडियोसमेत निर्माण हुने गीतकार तथा हाईकिङ अभियन्ता हलुवाईले बताए ।