देउराली । सुनसरी उद्योग वाणिज्य सङ्घको चुनावमा गठबन्धन प्यानलका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । 

सङ्घको असार २० गते हुन गइरहेको चुनावका लागि अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठको गठबन्धन प्यानलले आइतबार धरान १८ स्थित होटल ड्रिम ल्याण्डमा पत्रकार सम्मेलन गर्दे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।

‘सक्षम, सुदृण्ढ र समृद्ध सुनसरी उद्योग वाणिज्य सङ्घ व्यावसायिक सुरक्षालागि गठबन्धन प्यानलमा मतदान’ भन्ने नाराका साथ चुनाव प्रचार प्रसार गरिरहेको प्यानलले सार्वजनिक गरेको प्रतिविद्धता पत्रमा सुनसरी क्षेत्रको उद्योग तथा व्यवसायको विकास र प्रवर्धनका लागि दीर्घकालीन, अल्पकालीन र तत्कालीन गरी तीन कार्यभारमा विभाजन गरी काम गर्ने उल्लेख गरेको छ । 

जसका लागि दीर्घकालीन कार्यभारका रूपमा विभिन्न क्षेत्रगत व्यावसायिक देखिएको विभिन्न समस्याहरूका साथै भइरहेको व्यावसायिक गतिविधिलाई व्यवस्थित, झन्झटमुक्त र सहज बनाउन तथा व्यवसायको सुरक्षा, हित र सम्बद्र्धनका लागी अघि बढ्ने उल्लेख गरिएको छ ।

 सुनसरी क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रहरूमा पर्यटकीय गतिविधि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने, लेखा परीक्षण, व्यावसायिक परामर्श, कानुन परामर्श,  कर सहयोग सेवा लगायतका विभिन्न १४ वटा सेवा केन्द्रको सङ्घमा दैनिक सेवा सुरु गर्ने अध्यक्षका उमेदवार श्रेष्ठले बताएका छन् ।

चालु आर्थिक वर्षबाट सङ्घ प्रदेश र स्थानिय सरकार बिच सहकार्य गरी पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणका काम सुरु गर्ने, सचिवालयको सुदृढीकरण, सुरक्षकालागी सिसिटिभी क्यामेरा जडान, सेक्युरिटी गार्डको व्यवस्था, व्यवस्थित प्रदर्शनी स्थल र पार्टी प्यालेसको विकास गर्ने लगायतका योजनाहरू प्यानलले अघि सारेको छ । 

दीर्घकालीन योजनाहरूमा पालिका र जिल्लाको राष्ट्रिय सञ्जाल बनाउने, ठुला योजना र लगानी भित्र्याउने, व्यावसायको लगानी उपहार, धरानको खानेपानी व्यवस्थापनमा निर्णय भूमिका स्थापित गर्ने देखी लिएर धरान ६ पानबारीमा निमार्णधिन औद्योगिक ग्रामको निमार्ण सम्पन्न  गरी नयाँ उद्योग विकासका लागि विभिन्न निकायहरूसँग संयोजन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । 

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा जनाता समाजवादी पार्टी सम्बद्ध उद्योगी व्यावसायिहरुको सङ्गठनको गठबन्धन प्यानलमा सदस्यहरूमा उद्योग तर्फ चन्द्रप्रसाद बजगाईँ भोला श्रेष्ठ, वाणिज्य तर्फ अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नवीन राज भण्डारी, नवीन लिम्बू, राजेश अग्रवाल र सिताराम आचार्य रहेका छन् । त्यस्तै वाणिज्य तफको महिला सदस्यमा ममता शाक्य रहेकी छन् भने वस्तुगततर्फ अनिल ताम्राकार र नारायण लिम्बू रहेका छन् । 

पत्रकार सम्मेलनमा अध्यक्षका उमेदवार श्रेष्ठले प्यानलले अघि सारेका याेजनाहरूमा सुनसरीका उद्यागी व्यावसायिहरूकाे समथर्न रहेकाे र उनिहरूले दिएका सुझावहरू पनि समेटिएकाेले अझबढी उत्सािहत भएकाे भन्दै आफ्नाे प्ययानलकाे जित्ने आधार बलिया रहेकाे बताएका छन् ।