धरान । इटहरीको क्यानभास साहित्य समाजले शनिबार कवि चन्द्र गुरुङको कृति ‘जब एउटा मान्छे हराउँछ’ माथि विमर्श गरेको छ ।

वक्ता कवि बद्री भिखारीले कवि गुरुङका सङ्ग्रहमा सरल र शक्तिशाली कविताहरू रहेको बताए । सङ्गीत साधना प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा उनले भने, ‘कविजस्तै नरम कविताहरू रहेकाले यो सङ्ग्रहले न्याय पाएको छ ।’ कवि विनय सरगमले सहजीकरण गरेको कार्यक्रममा अर्की वक्ता कवि मिश्र वैजयन्तीले भनिन्, ‘गुरुङका कविता सङ्ग्रहमा सामान्य जस्ता कविता लागे पनि असामान्य कविताहरू छन् ।’

कवितामा पहिचानका मुद्दा सशक्त रूपमा उठेको उनले बताइन् । उनले भनिन्, ‘बाको अनुहार आफू जस्तै देख्नु भनेको पहिचानको कुरा हो ।’ कवि गुरुङले आफू लामो समयसम्म वैदेशिक रोजगारीमा रहेका कारण कविता आफ्नो साथीका रूपमा आएको बताए । उनले अनुवाद गर्दै जाँदा कविताको रसमा मिसिएको बताए ।

कृतिका केही कविताहरू कविद्वय मनु मञ्जिल र राजेश विद्रोहीले वाचन गरे । कवि मञ्जिलले ‘कविले शब्दको खेल खेल्ने’ बताए । उनले भने, ‘कवि पनि खेलाडीजस्तै हो, खेलाडीले पोष्टमा गोल हाने पनि नहाने पनि बल खुट्टामा पु¥याउँदा दर्शकले हुटिङ लगाउँछन्, कविता पनि यस्तै–यस्तै हो ।’

समाजका अध्यक्ष भरत दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सचिव विवेक रेग्मीले कवि गुरुङको कविता सङ्ग्रह सार्वजनिक भएपछि पहिलोपटक विमर्श कार्यक्रम गरिएको बताए ।