धरान । बलिउड गायिका आस्था गिलले नेपाली दर्शक तथा स्रोतालाई नचाएकी छन् ।

शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा सम्पन्न ‘आस्था गिल लाइभ’ कन्सर्टमा नेपाली दर्शकलाई भरपूर मनोरञ्जन दिइन् । उनले आफ्ना लोकप्रिय गीतबाट नेपाली दर्शकलाई मनोरञ्जन दिएकी हुन् ।

मध्यरातिसम्म नेपाली दर्शकले उनलाई कुरेर बसेका थिए । ‘म पानी पानी हो गई’ गीत गाउँदै स्टेज प्रवेश गरेकी उनले आइतबार बिहानको रातिसम्म प्रस्तुति दिइन् । करिब तीन घण्टासम्म उनले प्रस्तुति दिएकी थिइन् ।

उनले ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’, ‘अभी तो पार्टी सुरु हुई है’, ‘नागिन दिन गिन गिन’ लगायत दर्जन बढी हिट गीत प्रस्तुत गरेकी थिइन् ।

कोरोनापश्चात् नेपाली दर्शकहरूले पहिलोपटक बलिउड गायिकासँग आनन्द लिन पाएका थिए । उनले ‘आगे आगे तोपको गोला’ बोलका गीतको केही हरफ पनि गाइन् । युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।