धरान । बजेट अभावका कारण अलपत्र परेको धरान–८ स्थित सभागृहमा निर्माणाधीन ‘धरान नाटक घर’ निर्माणमा गठबन्धन तथा एमालेका उम्मेदवारले प्रतिबद्धता–पत्रमा हस्ताक्षर गरेका छन् ।

तर, निर्वाचन आचार–संहिताअनुसार चुनावी अभियानमा यस्ता प्रतिबद्धता गर्न वर्जित छ । आचार–संहिताविपरीत गठबन्धनबाट प्रमुखमा उम्मेदवारी दिएका किशोर राई र उपप्रमुखका उम्मेदवार आइन्द्रविक्रम बेघाले नाटक घर निर्माण उपभोक्ता समितिले प्रस्तुत गरेको प्रतिज्ञा–पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस्तै एमालेबाट प्रमुखको उम्मेदवार मञ्जु भण्डारी र उपप्रमुखका उम्मेदवार पदम इस्बोले १५ बुँदे प्रतिज्ञा पत्रमा हस्ताक्षर गरेका छन् । बजेट अभावका कारण नाटक घरको ‘जग’ मात्रै निर्माण गरिएको छ ।

एमालेकी उम्मेदवार भण्डारीले धरानको नाटक घरलाई धरानको गौरवको आयोजनाअन्तर्गत राखी अगाडि बढाइने बताइन् । उनले यो योजना नगरको दायित्वभित्र पर्ने बताइन् । यस्तै उपप्रमुखका उम्मेदवार इस्बोले पनि धरान कला, संस्कृतिका लागि प्रख्यात रहेकाले त्यसको उन्नयनमा आफ्नो पार्टी लाग्ने बताए ।

गठबन्धनका प्रत्यासी किशोर राईले नाटक घर निर्माण गर्न आफूले गरेको प्रतिज्ञा–पत्रमा हस्ताक्षर गरिएअनुसार अक्षरशः पालना गर्ने बताए । त्यस्तै उपप्रमुखका उम्मेदवार आइन्द्रविक्रम बेघाले पनि कला, साहित्य, संस्कृति र विकासमा राजनीतिक पूर्वाग्रहबाट मुक्त भएर काम गर्ने बताएको सचिव तथा नाट्यकर्मी गोपाल देवानले जानकारी दिए । समितिका अध्यक्ष प्रेम सुब्बा, चलचित्र महासङ्घ प्रदेश १ का अध्यक्ष अरुणकुमार श्रेष्ठको उपस्थितिमा प्रतिज्ञा–पत्रमा हस्ताक्षर गरिएको हो ।