धरान । द हिडन ट्रेजरले मिस नेपाल पेजेन्ट २०२२ को प्रदेश १ अडिसन धरानमा वैशाख २७ गते गर्ने भएको छ ।

शनिबार धरानमा पत्रकार सम्मेलन गरी मङ्गलबार अडिसन गरिने आयोजक हिडन ट्रेजरका अफिसियल फोटोग्राफर राजभाइ सुवालले बताए । यस पटकको प्रतियोगितामा युवतीका लागि केही नयाँ प्रावधानहरू राखिएको उनले बताए ।

उनले भने, ‘आयोजकले यस पटक ५ फिट ३ इञ्च उचाइ र १८ देखि २७ वर्षसम्मको युवतीलाई अवसर दिँदै छ । यसअघि २६ वर्ष र ५ फिट ४ इञ्च उचाइ हुनुपर्ने अनिवार्य बाध्यता थियो ।’ आयोजकमाथि थुप्रै खालका सुझावहरू आएकाले पन यसपटक नेपालीहरूको स्ट्यान्डर्ड उचाइलाई मान्यता दिन लागिएको उनले बताए ।

यस पटकदेखि सबै प्रदेशमा अडिसन गरिएको छ । यसअघि भने चितवन, पोखरा, बुटवल र काठमाडौंमा मात्रै अडिसन गरिँदै आएको थियो । बाहिर रहेका प्रतिभाहरूलाई पनि अवसर प्रदान गर्नकै लागि अडिसन प्रादेशिक तहमा लगिएको उनले बताए । अडिसनमा मिस नेपाल अर्थ २०२० की सुप्रिया श्रेष्ठ पनि सहभागी रहने छिन् ।

उनले भनिन्, ‘यो प्रतियोगितामा महिलाहरूको इनर क्षमतालाई पनि बाहिर ल्याउन सहयोग पु¥याउँछ । महिलालाई ग्रुमिङ हुने अवसर पनि प्राप्त हुन्छ ।’ उनले पैसा लाग्छ भन्ने भ्रममा नपर्नका लागि पनि सहभागीलाई आग्रह गरिन् । मिस नेपालले तीनवटा मुख्य टाइटलहरूबीच प्रतिस्पर्धा गराउँदै आएको छ ।

मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेशलन रहेका छन् । गतवर्ष भने कोरोना महामारीका कारण प्रतियोगिता गर्न सकेको थिएन । आयोजकले सन् १९९७ देखि प्रतियोगिता गराउँदै आएको छ । स्थानीय संयोजकका रुपमा धरानका व्यवसायी योगेश अग्रवाल रहेका छन् ।