सुनसरी । खुला सीमाका कारण हुँदै आएको मानव बेचबिखन रोकथाम गर्न सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी सक्रिय रूपमा लागेका छन् । विभिन्न प्रलोभन देखाएर नेपाली चेलीबेटीलाई भारतीय शहरमा बेचबिखनका लागि लाने क्रम बढेपछि त्यस्ता गतिविधि नियन्त्रण गर्न सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी सक्रिय भएका हुन्।

सोही क्रममा सीमा नाकाहुँदै बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लादै गरेको अवस्थामा सीमा क्षेत्रबाट १ सय १८ जना युवतीको उद्धार गरिएको छ ।  कोसी गाउँपालीकाको कार्यालय,साझा सवालका लागि साझा मञ्च कोकन र प्लान इन्टरनेसनल नेपाल तथा सीमामा तैनाथ सुरक्षाकर्मीको संयुक्त पहल र प्रयासमा कोसी गाउँपालीका ८ भण्टाबारीस्थित चारकुने नाकामा स्थापन गरिएको सूचना केन्द्रले सन २०१७ देखि २०२२ मार्च महिनाको अवधिमा उनीहरूको उद्धार गरेको जानकारी बताइएको छ ।

बेचबिखन तथा ओसारपसार विरुद्धको १० हजार ३ सय ४८ वटा सूचना पाएकोमा विभिन्न जिल्ला र विभिन्न उमेर समूहका गरी १ सय १८ जनाको उद्धार गरेको सूचना केन्द्रकी परामर्शदाता बालकुमारी विकले जानकारी दिइन् । युवतीलाई बेचबिखन गर्ने प्रयोजनका लाग्ने क्रममा पक्राउ परेकामध्ये आठ जनामाथि मानवबेचबिखन र एकजनामाथि अभद्र व्यवहार सम्बन्धि मुद्दा चलाइएको सुनसरी प्रहरीले जनाएको छ ।

यसैबीच कोसी गाउँपालीका ८ स्थित कोसी ब्यारेजमा 'मानव बेचबिखन विरुद्धको अभियान, रोकथाम नै समाधान' भन्ने नारा दिएर प्लान इन्टरनेसनलको सहकार्यमा साझा सवालका लागि साझा मंच कोकनको आयोजना तथा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जिल्ला समन्वय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलको अध्यक्षतामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्रस बोर्डर समन्वय बैठक बुधबार सम्पन्न भएको छ । 

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको क्रस बोर्डर समन्वय बैठकमा सीमापार मानव बेचबिखन तथा ओसारपसारको अवस्था (अनुभव आदानप्रदान, वर्तमान अवस्था, भारतीय अधिकारीसँगको समन्वय बैठक, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जिल्ला स्तरीय रणनीति अनुमोदन प्रक्रियालगायतका विषयमा छलफल गरिएको थियो । उक्त कार्यक्रम अधिवक्ता एवं कोकन नेपालका सल्लाहकार तथा मानवअधिकारकर्मी कोषराज न्यौपानेको सहजीकरण गरेका थिए । 

नेपाल भारतबीच रहेको खुला नाकाका,चेतनाको अभाव,गरिबी,बेरोजगारीलगायतका कारण मुख्यत मानव बेचबिखन तथा ओसारपसारका घटना हुने गरेको सोही कार्यक्रममा बोल्दै सुनसरीका सहायक प्रजिअ आनन्द पौडेलले मानव बेचबिखन तथा ओसारपसार न्यूनीकरण एवं रोकथाम गर्न सबैको सामूहिक पहल र प्रयास आवश्यक रहेको बताए ।

गरिबी, बेरोजगारी, मानसिक समस्या,वैदेशिक रोजगार,छिटै धनी हुने मोहलगायतका कारण मानवबेचबिखन जस्ता घटना हुने गरेको छ उनले भने यस्ता समस्या न्यूनीकरण वा रोकथाम गर्न निरन्तर चेतनामूलक र दबाबमूलक कार्यक्रमहरु हुनुपर्छ ।

मानवबेचबिखन रोकथाम गर्न अभिभावक अभिमुखिकरण कार्यक्रम, बेचबिखन विरुद्ध महिला र किशोरी समूह निर्माणसँगै सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरुलाई बेचबिखन तथा ओसारपसारविरुद्ध चेतनामूलक कार्यक्रम दिँदै आएकोले मानवबेचबिखन विरुद्ध सर्वसाधारण जागरुक भएको कोकन नेपालका हेमन्तराज पौडेलले दाबी गरे ।

मानव बेचबिखन तथा ओसारपसारका घटना हुनबाट रोक्न स्थानीय सरकार,प्रदेश सरकार र संघीय सरकारलगायतको पहल र प्रयास अपरिहार्य रहेको मानवअधिकारकर्मी कोषराज न्यौपानेको भनाइ छ । 

सीमामा तैनाथ सुरक्षाकर्मीले अनेकौं चुनौतीका बाबजुद मानव बेचबिखन नियन्त्रण गर्न उल्लेखनीय भूमिका निर्वाह गर्न सफल भएको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीका इन्स्पेक्टर भुवन खड्काको दाबी छ ।

मानवबेचबिखन विरुद्धको तालीम लिएपछि आफू मानव बेचबिखनजस्ता गम्भीर प्रकृति घटना रोकथाम गर्न सहयोग गर्दै आएको कोसी गाउँपालीका ८ भण्टाबारीका  विजय गुप्ताको भनाइ छ ।

तुलनात्मक रूपमा पहिला  भन्दा सर्वसाधारणमा चेतनाको स्तरमा वृद्धि भएको बताउदै साझा सवालका लागि साझा मंच कोकन इनरुवा सुनसरीका अध्यक्ष मन्जिता उपाध्यायले मानवबेचबिखन रोकथाम गर्न बालबालिका,युवा पुस्ता,अभिभावक वर्गसँगै समाजका हरेक तह र तप्काका मान्छे जागरुक बन्नु आवश्यक रहेको बताइन् ।

सीमावर्ती क्षेत्रमा बसोबास गर्ने अभिभावक वर्ग र सुरक्षाकर्मीसँगै सूचना केन्द्रमा कार्यरत कर्मचारीहरुको सक्रियताका कारण पछिल्लो समय मानवबेचबिखनका घटनामा तुलनात्मक रूपमा कमि आएको उनको दाबी छ ।