झापा। पुर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार सो अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको छ । गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्ट फलका रूपमा खरबुजा बजारमा लोकप्रिय छ ।

स्थानीयले व्यावसायिक रूपमा खरबुजा खेती गर्दै आए पनि भारतबाट आयातित खरबुजाको ठूलो मात्राले स्वदेशी उत्पादनलाई ओझेलमा पार्दै आएको छ।

विगत १० महिनामा सबैभन्दा बढी चैतमा एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २ सय ३० केजी खरबुजा भारतबाट आयात भएको छ।

भन्सारले जनाएअनुसार चालु आ.व.को पहिलो महिना साउनमा ६० लाख ५० हजार मूल्य बराबरको दुई लाख ३० हजार ८ सय ५० केजी, भदौमा  ४८ लाख ९८ हजार मूल्य बराबरको एक लाख ८६ हजार १ सय ४० केजी, असोजमा ३७ लाख २९ हजार मूल्य बराबरको एक लाख ४१ हजार ४ सय ५० केजी, कात्तिकमा २१ लाख ३७ हजार मूल्य बराबरको ८१ हजार २ सय ४० केजी, मङ्सिरमा १४ लाख ६६ हजार मूल्य बराबरको ५५ हजार ७ सय ८० केजी र पुसमा १२ लाख ४२ हजार मूल्य बराबरको ४७ हजार २ सय ६० केजी खरबुजा भारतबाट काँकडभिट्टा हुँदै नेपाली बजारमा भित्रिएको छ।

त्यसैगरी माघमा २२ लाख ३२ हजार मूल्य बराबरको ८५ हजार ७ सय १० केजी, फागुनमा ४४ लाख ८८ हजार मूल्य बराबरको एक लाख ७३ हजार ७ सय ८९ केजी, चैतमा एक करोड ३३ लाख सात हजार मूल्य बराबरको पाँच लाख १० हजार २ सय ३० केजी र वैशाखमा ६५ लाख ८६ हजार मूल्य बराबरको दुई लाख ५२ हजार ६ सय ५० केजी खरबुजा आयात भएको जनाइएको छ।

विगत केही वर्षदेखि झापामा व्यावसायिक खरबुजा खेती हुने गरेको छ । तर, नेपाली उत्पादनले भारतबाट आयातित खरबुजासँग मूल्यमा प्रतिस्पर्धा गर्न नसक्दा बिक्रीमा समस्या भइरहेको मेचीनगर–१५ स्थित नेपाली बाबु स्मार्ट कृषि फार्मका सञ्चालक लीला खनालले बताए।

खनालले साझेदारहरूसँग मिलेर भाडामा लिएको १३ बिघा जग्गामा खरबुजा खेती गर्दै आएका छन् । गतवर्ष उक्त फार्ममा ३ सय ५० मेट्रिक टन खरबुजा उत्पादन भएको उनले बताए।