विराटनगर । विराटनगर महानगरपालिका–११ पिचरामा अवस्थित सुम्निमा बोर्डिङ स्कुलले तेस्रो दीक्षान्त समारोह गरेको छ । विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरेर प्रि–प्राइमरी तह उत्तीर्ण गरी प्राइमरी तहमा प्रवेश गर्ने ३१ जना विद्यार्थीहरूलाई दीक्षित गरिएको हो ।
कार्यक्रमको मुख्य अतिथिको रूपमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै नैतिक शिक्षा पनि प्रदान गर्नुपर्ने बताइन् । ‘शिक्षाले मात्र व्यक्तित्व निर्माण गर्दैन, नैतिक मूल्य मान्यताले पनि चरित्र निर्माणमा महŒवपूर्ण भूमिका खेल्छ’ –उनले भनिन् ।
विद्यालयकी प्रिन्सिपल शीतला सुब्बाले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय राखेको जानकारी दिइन् । उनले व्यावहारिक शिक्षालाई प्राथमिकता दिएर विद्यार्थीहरूको समग्र विकासमा ध्यान दिएको बताइन् । ‘हामी केवल पुस्तकीय ज्ञानमात्र नभएर जीवनोपयोगी सीप विकासमा केन्द्रित छौँ’–उनले भनिन् ।
भाइस प्रिन्सिपल जयन्ती प्रधानले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदानमा कुनै कसर बाँकी नराखेको बताइन् । उनले शिक्षकहरूको समर्पण र अभिभावकहरूको सहयोगले यस्तो सफलता हासिल गर्न सकिएको उल्लेख गरिन् ।
कार्यक्रममा प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष मीनकुमार नवोदित, अभिभावक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मोरङका अध्यक्ष अनिल श्रेष्ठ र अभिभावक सङ्घ कोशी प्रदेशका अध्यक्ष देवी पन्थीले सम्बोधन गरे । उनीहरूले दीक्षित भएका विद्यार्थीहरूलाई शुभकामना दिँदै व्यावहारिक शिक्षाको महŒवलाई जोड दिए ।
कार्यक्रमको मुख्य आकर्षण विद्यार्थीहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम रह्यो । उनीहरूले सांस्कृतिक नृत्य, फेसन शो र गीत प्रस्तुत गरी उपस्थित अतिथि, अभिभावक र दर्शकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरे । साथै विद्यार्थीहरूले बनाएका चित्रकलाहरूको प्रदर्शनी पनि राखिएको थियो । जसले उनीहरूको कलात्मक प्रतिभालाई झल्काएको थियो ।