जोगिरा सरररररररर,
कुन तालमे ढोलक नाचे कुन ताल मजीरा
कुन तालमे नटुवा नाचे कुन ताल नजारा
के वोलो सारारारारारारारारारारा
के वोलो सारारारारारारारारारारारा


जोगिरा सारारारारााराररारारा, यो गीत अनि वाक्यांशले तराईको जीवनशैलीलाई टपक्कै टिपेको छ । ढोलक अर्थात् चेप्टो खाले विशेष मादल, तराईको विशेष अनि मौलिक ढोलकको तालमा तराईवासीले कुनै पनि शुभ कार्य या चाडबाड या समारोहको जनाउ गर्दछन् । अनि यो होली या फागुमा जोगीराको चर्चा चल्दछ ।

ठ्याक्कै यकिन गरेर जोगीराको अर्थ निकाल्न गाह्रो छ तथापि जोगीरा त्यो हो जो रङ्ग र भाँगको तालमा हूल बनाएर एक टोलबाट अर्को टोल, एक आफन्तकोबाट अर्कोमा अनि एउटा साथीकोबाट अर्को साथीको घरमा पुगी मालपुवा, नरिवल तथा अन्य सुख्खा बदाम, छोकडा खाएर एक आपसमा रङ्ग दलेर खुसीयाली साटासाट गरिन्छ ।

जोगी अर्थात् केही लिन र केही दिनसँग वास्ता नभएको, सुख्ख र दुख्नको झेलमा नअल्झिएको अनि समपूर्ण रूपमा साधुजस्तो सांसारिक बन्धनबाट टाढिएको मान्छे, जोगीरा, विन्दास अनि फिक्री नभएको मान्छे । मजीरा अर्थात् आफूलाई जनाएको हो, फरक तालको नचाई तथापि एउटै समानता सरररररररररर भन्नाले मिठो नशाको रिँगटालाई व्यक्त गरिएको छ ।

जोगीरा हुन कालागि आज केही मात्रामा भाँगको घोटा पिइन्छ । भाँगको नशाले सबैलाई जोगीरा बनाउँछ कि बनाउँदैन त्यो त दैव जानोस् तर भाँग लगायत अन्य नशालु पदार्थको प्रयोग र चाडबाडको सन्दर्भलाई फरक रूपमा देख्न जरुरी छ ।

झन्डै कुरा अन्तै मोडेको, आउनुहोस् तराईकै ढोलकको तालमा गफिऔँ न... पूर्वी तराईका राजवंशी, सन्थाल, मुसहर, थारु, तथा अन्य विविध जातजातिहरू लगायत पश्चिमी भेगका नेपाली तराईवासीहरूसम्म आज यो रङ्गिन चाड मनाउँदै छन् । अब हामी यस विशेष दिन तराई मा पारम्परिक नृत्यको जग सम्हाल्दै आएका नटुवा समुदायको प्रसङ्ग उल्लेख गर्न चाहन्छौँ ।

डोरीको खाटमा बसेका धोती कुर्ता लगाउनुभएको हजुर बुबाले सुनाउनुहुन्थ्यो र म आज याद गर्दै लेख्दै छु । उहिले तराईमा अहिलेजस्तो मनोरञ्जनका साधन थिएनन्, रमाइलो गर्न कालागि सीमापारिबाट अर्केष्ट्रा ल्याइन्थ्यो अनि विभिन्न गीतहरूमा नाच्दै अर्केष्ट्राका सदस्यले मनोरञ्जन गराउँदथे । वारिपारि गाउँ थर्किने गरी तेर्सो पारिएको बडेमानको एम्पलीफायरमा आवाज अनि गीतहरू बजिरहन्थ्यो ।

यस्ता कार्यक्रमहरू नवरात्री या अन्य चाडहरू जस्तै होलीताका ल्याइने चलन अझै छ र यसरी आएका अर्केष्ट्राका सदस्यहरूमा नाच्ने सदस्यहरूलाई नटुवा भनिन्छ, गाउँ(गाउँमा यस्ता नटुवाहरु हुन्छन् जसले पुरुष भएता पनि महिलाको झैँ देखिने पैताला सम्मको फराक जस्तो पहिरन लगाएर घुमी घुमी नाच्दै नृत्य प्रस्तुत गर्ने गर्दछन् ।

होलीमा पनि तराईका धेरै ठाउँहरूमा पारम्परिक नटुवा नृत्यका साथ नटुवाहरु नाच्दछन् । तराईका पारम्परिक यी कलाकार समुदायले फागुको रङ्गमा नृत्य प्रस्तुत गर्दै एउटा गाउँबाट अर्को गाउँमा पुग्ने गर्दछ । साइकलका घन्टीहरु अनि पाईडलका कुँई कुँई आवाज, खेतका आली आली कुदेका होलीका खेलाडी, घर पछाडिको परालको टाली अनि आँगन छेउको धानको भकारी । थालमा पस्किएको मालपुवा लगायत तरुवा, बगरुवा, माछा मासु अचार अनि तिल या आलसको अदुवा हालेर वनाएको छोपको अचार अनि विभिन्न मिठाईहरू आज विशेष महत्त्वसहित खाइन्छ । अब हाम्रो पात्रो मोबाइल एप्स, सम्पूर्ण नेपाली जनलाई प्रविधिको एउटै सूत्रमा बाँध्ने सूत्रधार हो र यो सूत्रधारले के पहाड, के तराई , के हिमाल ?

वास्तवमा अहिलेको जस्तो कृत्रिम रङ्गहरू नभईकन होलीको वास्तविक खेलिने रङ्गहरूमा, पँहेलोका लागि, केशर रातोको लागी अबिर या लालगुलाल पनि भनिन्छ र चामलको पिठोको सेतो पिठो, चन्दन लगायत अन्य प्राकृतिक रङ्गहरूको चलन थियो । सुस्तरी यी कुराहरूलाई बजारमा सहज उपलब्ध रङ्गहरूले विस्थापन गर्दै गएको हो । ल है लगाएको रङ्ग त भोली सम्ममा उत्रेला तर होलीको यो भाइचारा र उत्साहका साथै सकारात्मक सोच कहिल्यै नघटोस् । तराई, पहाड र हिमाल यसले जोडी रहोस् ।

अझ होलीमा भक्त प्रह्लादलाई आगोमा जलाउन खोज्ने राक्षसनी होलिकालाई दहन गर्ने चलन छ । तराईमा गाई गोरुको गोबरलाई सुकाएर आगोको दाउराका रुपमा प्रयोग गर्न गुइँठा बनाउने चलन छ, यस्ता गुइँठाहरूलाई खुल्ला ठाउँमा जम्मा गरेर अनि त्यसमा होलीकाको पुत्ला राखेर आगो बाली होलिका दहन गर्दै अन्यायमाथि न्यायको विजयको रूपमा विजय उत्सव मनाउने चलन पनि छ । सुस्तरी यस्ता चलनहरू घट्दो क्रममा भने रहेकै हुन् ।

मिथिला भूमिमा भने धनुषा धामको कचुरीबाट डोला उठाएर जटही लगायत महोत्तरीको मठियानी, जलेश्वर, डाम्ही, धनौरा हुँदै कन्चनवन आएर होली मनाउने धेरै पुरानो चलन छ । यस्तो डोलीको तिर्थालु पदयात्रालाई परिक्रमा भनिन्छ । कन्चनवनमा सकिएको परिक्रमा यात्रीहरू जनकपुरमा आएर अन्तगृह घुमेपछि होलीको समापन गरिन्छ । यस्ता पदयात्रामा राम अनि सीताका कथाहरू अनि भजनहरू गाइन्छ ।

साभारः हाम्राेपात्राे