धनकुटा । विश्वमा बढ्दो तापमानलाई लिएर चिन्तित बनिरहेका बेला प्रदेश १ का तीन हिमाली जिल्लामा ‘जलवायु उत्थानशील परियोजना’ सञ्चालन गरिने भएको छ ।

हिमालका तीन जिल्लाका ५० वटा सामुदायिक वनमा यो परियोजनाको खाका तयार गरिएको छ । यसले जैविक विविधता संरक्षणमा थोरै भए पनि योगदान दिने विश्वास गरिएको छ ।

प्रदेश १ को सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङका सामुदायिक वनमा यो परियोजना सञ्चालन हुन लागेको हो । यस कार्यक्रमले जैविक विविधता संरक्षणका लागि जैविक मार्ग निर्माण गर्ने र जीविकोपार्जनमा सघाउ पुर्याउने लक्ष्य लिएको छ ।

जर्मन सरकारको सहयोगमा सामुदायिक वनमा ‘जलवायु उत्थानशील परियोजना’ सञ्चालन हुने जनाइएको छ । परियोजनाका लागि जर्मन सरकारले १ करोड १२ लाख रुपैयाँ खर्च गर्ने जनाएको छ । सन् २०२२ फेब्रुअरीदेखि २०२४ को जनवरीसम्म कार्यक्रम चल्नेछ ।

जर्मन सरकारको आइकेआइको आर्थिक सहयोगमा परियोजनाको अवधि दुई वर्ष रहेको छ । उक्त परियोजनाको प्रारम्भिक चरणका छलफल सुरु भएका छन् । तेह्रथुमको वसन्तपुरमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का डा. भाष्करसिंह कार्कीले परियोजनाको उद्देश्य र कार्यका बारेमा जानकारी गराए ।

कार्यक्रम भने सामुदायिक वन उपभोक्ता महासङ्घ १ नम्बर प्रदेश समितिले आयोजना गरेको हो । जलवायु उत्थानशील निर्माण र पद्दतिका विषयमा इसिमोडका नवीन भट्टराईले सहजीकरण गरे । जलवायु उत्थानशील वन वातावरण प्रणालीसम्बन्धी इसिमोडकै डा. विश्वास जितले जानकारी गराएका थिए ।