इटहरी । सुनसरीको इटहरी–१२ खनारस्थित तिरुपति प्लाइउड फ्याक्ट्रीमा बुधबार बिहान आगलागी भएको छ । आगो साँझ ७ बजे पनि नियन्त्रणमा आउन नसकेको उद्योगले जनाएको छ ।

विराटनगरका वसन्त राठीले सञ्चालन गरेको प्लाइ उद्योगमा भीषण आगलागी भएको हो । आगो लाग्नुको मुख्य कारण अझै खुल्न नसकेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

बिहान साढे २ बजेदेखि सुरु भएको आगो नियन्त्रणबाहिर पुगेपछि दुई दर्जन बारूणयन्त्रहरू परिचालन भएका थिए । इटहरी, धरान,  इनरुवा, रामधुनी, दुहबी, सुन्दरहरैंचा, बेलबारी, उर्लाबारी र दमक देखि आएका बारूणयन्त्रहरूले उद्योगमा लागेको आगो नियन्त्रणमा लिने प्रयत्न गरे पनि यो समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा आउन सकेको थिएन । फ्याक्ट्रीभित्र आगोले भेट्ने सामग्रीहरू प्रशस्तै देखिएको कारण आगो नियन्त्रणबाहिर हुन पुगेको इटहरी प्रहरीको भनाइ छ ।

प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, केमिकल, भुस तथा काठकै झुराहरू र अन्य ज्वलनशील सामग्री भएकाले आगो तीव्र गतिमा फैलिएको प्रहरीको भनाइ छ । आगलागीबाट के कति क्षति भएको हो सो विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । फ्याक्ट्रिभित्र काम गर्ने मजदुरहरू कोही नभएको बेला आगलागी भएको बताइएको छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा पर्ने यस उद्योगमा बुधबार लागेको आगो यो तेस्रो पटक रहेको जानकारहरू बताउँछन् । विगत २०७५ वैशाख १७ गते पनि उद्योगमा यसरी नै आगलागी भएको स्थानीयले बताएका छन् । त्यस्तै २०७७ वैशाख २३ गते दोस्रो पटक आगलागी भएको स्थानीयहरू बताउँछन् । एउटै उद्योगमा यसरी पटक–पटक आगो लाग्नुले केही रहस्य लुकेको स्थानीय हर्सुद्दीन मियाले बताए ।

उनले योभन्दा अगाडि पनि यसरी नै राति उद्योगमा आगो लागेको तर ४ घण्टापछि नियन्त्रणमा आए पनि यो पटक भने भीषण आगलागी भएको उल्लेख गरे । एउटै उद्योगमा पटक–पटक आगलागी भइरहँदा आसपासका छिमेकीहरू पनि अचम्मित बनेका छन् । एउटै उद्योग त्यो पनि एउटै याममा आगलागीको घटना दोहोरिरहँदा कार्यरत कर्मचारी तथा सञ्चालकको नियतमाथि शङ्का उब्जिन थालेको छ ।

उद्योग सञ्चालक वसन्त राठीले बिमाको रकम हत्याउन उद्योगमा कर्मचारी खटाएर आफैले आगो लाउन लगाएको हुनसक्ने स्थानीयको आरोप छ । आगो नियन्त्रणमा आइसकेपछि सूक्ष्म अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले बताए ।