वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको वडा नं. २ मा एकै लक्षण भएका अस्पताल भर्ना हुने बालबालिकाले अध्ययन गर्ने वराह राइजिङ स्टार इङ्लिस स्कुलले प्रयोग गर्ने खानेपानीमा दिसामा हुने कोलिफर्म कीटाणु भेटिएको छ ।

विद्यार्थीहरूलाई वाक्वाकी लाग्ने, ज्वरो आउने, पखाला लाग्ने र बान्ता हुने समस्या देखिएपछि पाँच दिन अघिदेखि अस्पताल भर्ना भएका थिए । सोमबार चतरा अस्पताल, स्थानीय तोरीबारी खानेपानी, नगर प्रमुख र सुनसरी जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले स्कुलले प्रयोग गर्ने पाँच स्थानबाट लिएको पानीको नमुना जाँच गर्न इटहरीस्थित खानेपानी गुणस्तर जाँच प्रयोगशाला पठाएको थियो ।

प्रयोगशालाबाट प्राप्त जाँच रिपोर्टमा राइजिङ स्कुलको क्यान्टिनमा खानेपानी लान उपयोग गरिने गार्डेन पाइपमा कोलिफर्मको मात्रा ३० र पानी शुद्ध गर्ने फिल्टरमा २ पाइएको  चतरा अस्पतालका प्रवक्ता उत्सव खतिवडाले बताए ।शनिबारबाट सुरु भएको बिरामी बालबालिकाको सङ्ख्या बुधबारसम्म ९० पुगेको चतरा अस्पतालले जनाएको छ । चार जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ भने १६ जना चतरा अस्पतालमा उपचारत रहेको प्रवक्ताले  बताए ।

बिरामी १० जना बालबालिकाको दिसाको स्टुल टेष्टको नमुना जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरी पठाइएकोमा रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।  बुधबार चतरा अस्पताल र तोरीबारी खानेपानीको टिमले वडा नं. १ र २ का १० निजी तथा सामुदायिक विद्यालयको खानेपानीको नमुना लिएर जाँंचको लागि पठाएको छ ।

मङ्गलबार राति ८ वर्षका सरजल श्रेष्ठको दिसाबाट रगत जाने, बान्ता हुने र ज्वरो नरोकिएपछि धरान रेफर गरिएको अस्पतालले बताएको छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार दुई स्थानको खानेपानी पिउन अयोग्य भएको रिपोर्टमा जनाइएको छ ।

सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन परियोजना सुनसरीअन्तर्गतको पानी परीक्षण प्रयोगशालाबाट गरिएको परीक्षणअनुसार ३० मात्रा पिउने पानीमा हुनै नहुने मापदण्डभन्दा बाहिर छ । अर्को स्थानको २ मात्रा पनि पिउन अयोग्य र बाँकी भने शून्य देखिएकोले पिउनयोग्य छ ।

सीएफयू/१०० एमएल भन्ने एकाइले एक सय मिलिलिटर पानीमा पाइने जीवित ब्याक्टेरियाको भन्ने सङ्ख्या जनाउँछ । गुणस्तर मापदण्डअनुसार पिउने पानीमा कोलिफर्मको मात्रा शून्य हुनुपर्छ ।

प्रयोगशालाका रसायनशास्त्री रामेशकुमार यादवले परीक्षण राष्ट्रिय मापदण्डअनुसार गरिएको पुष्टि गरेका छन् । रिपोर्टअनुसार सबै परीक्षण अमेरिकन पब्लिक हेल्थ एसोसिएसनको २१औं संस्करण अनुसार गरिएको बताएका छन् । खानेपानी को रिपोर्ट बारेमा बुझ्दा खानेपानी गुणस्तर  जाँच प्रयोगशाला इटहरीका रसायनशास्त्री रमेशकुमार यादवले  स्कुलको फिल्टरको पानीमा  धमिलोपन राष्ट्रिय खानेपानी गुणस्तर  मापदण्ड २०७९ भन्दा बढी रहेको बताए । उनका अनुसार मापदण्ड टर्बिडिटीको भ्यालु ५ भन्दा बढी हुनुहँुदैन । जबकि फिल्टरको पानीमा ७.९ टर्बिडिटी रहेको पाइएको छ ।

यसैगरी क्यान्टिनमा प्रयोग गरिने पानीको नमुनामा दिसामा हुने इकोलाई कोलिफर्मको मात्रा अत्यधिक देखिएको छ । पानी लानको लागि प्रयोग गरिएको गार्डेन पाइपको नमुना टि–फाइव पानीमा प्रतिसय एमएल ३० कोलिफर्म पाइएको छ । जसको मात्रा शून्य हुनुपर्ने हो । कोलिफर्म कीटाणु फोहोर पानी, झिँगा, दिसा छोएको हातलगायत माध्यमबाट सर्न सक्छ । कोलिफर्मले हैजा, पखाला र आउँको समस्या हुने यादवले बताए ।

यता विद्यालयले खानेपानीमा लापरबाही गरेको विषयमा स्कुलका प्रिन्सिपल विजय राईले बुधबार नै खानेपानीको पाइप बदलिएको र फिल्टरको रड चेन्ज गरिएको दाबी गरेका छन् । बिरामी विद्यार्थीबारे निरन्तर विद्यालयले निगरानी गरिरहेको उनले बताए ।