धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाको एउटा उत्कृष्ट अस्पताल मात्रै होइन; अनुसन्धानको क्षेत्रमा पनि अब्बल मानिन्छ । तर पछिल्ला वर्षहरुमा यसको शाख र गरिमा धूलिसात हुँदै गइरहेको छ । यसको पछाडि राजनीतिक भागबण्डा, पैसाको चलखेल र योग्य व्यक्ति छनौट नहुँदाको परिणाम हो । यो ‘ओपन सेक्रेट’ लाई सबैले बुझेका छन् तर त्यो प्रक्रिया र प्रवृत्तिको अन्त्य भने हुन सकेको छैन । यो चाहिँ सबैभन्दा खराब पाटो हो । यहाँ आउने अधिकांश उपकुलपतिहरु राजनीतिक भागबण्डाबाट आउँछन् । सरकारमा जो बसेको छ, उसैको दलबाट प्रतिनिधित्व हुने गरी आउने गरेका छन् । त्यसमा पनि कसले पैसा खर्च गर्न सक्छ । ती व्यक्तिहरुलाई नै उपकुलपति बनाइदिने टीके प्रथाले पनि धरानको बीपीको गरिमा धूलिसात हुन पुगेको हो । यो सत्यलाई स्वीकार नगर्दा नै धरानले प्राप्त गरेको एउटा अथाह सम्पत्तिको अस्तित्व समाप्त हुने हो कि भन्ने धरानवासीको चिन्ता जगगाहेर छ । विगतदेखि आगतसम्म हेर्दा बीपीमा आउने उपकुलपतिहरुले बीपीको चिन्ताभन्दा पनि आफ्नो पार्टी र आत्मश्लाघामा रमाउने परम्परा जगजाहेर छ । भागबण्डा र रकमको चलखेलले योग्य र सक्षम व्यक्तिहरु आउन सकेका छैनन् । यस पटक पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता सर्वत्र छाएको छ । यसैकारण नै धरानका ‘सरोकारवाला पक्ष’ ले चिन्ता जताउन थालेका छन् । सुनसरी उद्योग वाणिज्य सङ्घमा मङ्गलबार भएको छलफल त्यसैको परिणाम हो ।
बीपीमा मूलतः तीनवटा कर्महरु हुन्छन् । पहिलो अध्ययन÷अध्यापन, दोस्रो अनुसन्धान र तेस्रो बिरामीहरुको सेवा । यी तीन कर्महरुलाई आधार मानेर नै बीपी स्थापित भएको हो । तर, आजको दिनमा आइपुग्दा यो कर्मभन्दा बढी राजनीति हाबी छ । राजनीतिका कारण सङ्क्रमित भएको छ । उपकुलपतिहरु राजनीतिक दलको कुनै न कुनै मुखुण्डो धारण गरेर आउने गरेका छन् । पूर्व उपकुलपति पूर्णचन्द्र कर्माचार्यपश्चात्का उपकुलपतिहरुको छवि बीपीलाई सुधार्नेभन्दा पनि बिगार्नेतर्फ बढी लक्षित देखिन्छ । उनकै पालाबाट नै भ्रष्टाचार, अख्तियारको छापा, राजनीतिक भागबण्डा र पैसाको चलखेलको व्यापक चर्चा हुन थालेको हो । यो कहीँकतै पनि लुक्न सकेको छैन । त्यसपछिका जे जति उपकुलपति भए । ती उपकुलपतिको हैसियत मात्रै उपकुलपति रह्यो भने काम चाहिँ बिचौलियाको झैँ रह्यो । बीपी आज जुन अवस्थामा पुग्नुपर्ने थियो त्यो हुन सकेन । फलतः अहिले बीपी चौतर्फी रुपमा रूग्ण छ । यति रूग्ण छ कि यहाँको स्वास्थ्य सेवामा पनि अनेकन प्रश्नहरु उठ्न थालेका छन् । पठन–पाठनमा पनि थुप्रै समस्याहरु देखिन थालेका छन् । विभिन्न सेवाहरु कटौती हुँदै गइरहेको छ । त्यो हुनुको पछाडि यहाँ नियुक्त भएर आउने पदाधिकारीहरुको काम गराई र राजनीतिप्रतिको आशक्तिको परिणाम नै हो । यो परिणामले बीपीलाई मात्रै हानि गरिरहेको छैन । यसले धरानको गरिमा र साखलाई पनि गिराइरहेको छ । बीपीबाट राम्रा र उत्कृष्ट डाक्टरहरु पलायन हुँदै गइरहेका छन् । यसका पछाडि पदाधिकारीहरुको काम गराइ र अकर्मण्यताको परिमाण नै हो । यस्तो अवस्थामा धरानवासीहरुले वा सरोकारवालाहरुले आवाज उठाउनु नौलो र अनौठो विषय होइन । यसप्रति आवाजहरु उठ्न आवश्यक थियो र छ ।
मूलतः अहिले धरानवासीको आमचासोको विषय भनेको बीपीमा आउने उपकुलपतिको विषय नै हो । यो चासो र चिन्ता सकारात्मक नै मान्नुपर्छ । यहाँ धरानबाटै उपकुलपति भएमा त्यसले एउटा मोड लिन्थ्यो कि भन्ने अनुकल्पना भएको देखिन्छ । यसलाई एकपटक परीक्षण गरी हेरौँ न त भन्ने पनि होला । धरानबाटै प्रतिनिधित्व हुन सकेमा धरानको राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक सबै सबै कुरा बुझेको हुन्थ्यो भन्ने आधार पनि हो । यहाँको धरातल बुझ्ने उपकुलपति आएमा बीपीको विकास द्रुततर गतिमा अगाडि बढ्थ्यो कि भन्ने हो । यसकारण पनि धरानवासीहरुको चिन्तामा केन्द्रीय सरकारमा बसेकाहरुले पनि सम्बोधन गरिदिने हो कि त ? यसो भयो भने बीपीले नयाँ श्वास फेर्न पाउँथ्यो कि ? धरानवासीको अहिलेको चिन्ता धराने उपकुलपति मात्रै हैन । अर्को चिन्ता भनेको अब आउने उपकुलपति कम्तीमा पनि योग्य र सक्षम आइदिओस् भन्ने हो । राजनीतिक नियुक्त भए पनि योग्य र सक्षम व्यक्तिलाई गरियोस् । ताकि बीपीको आम समस्या, विकृति, विसङ्गतिलाई सम्बोधन गर्न सकोस् । चाहे त्यो काङ्ग्रेसबाट आओस् कि एमालेबाट आओस् । समस्या यो वा त्यो होइन । समस्या चाहिँ बीपीलाई सुधार्ने विषय हो । बीपीको आम समस्यालाई समूल नष्ट गर्ने उपकुलपति आइदिओस् भन्ने कामना हो । यसप्रति सरकार र सरकारमा बसेका मन्त्री तथा नेताहरुले गम्भीर भएर सोचून् र सोहीअनुसारको निर्णय गरुन् ।