विद्वान् महेशराज पन्तले एक पत्रिकामा स्वस्थानी ब्रतकथाको इतिहास विषयमा लेखेको एउटा लेख मैले पढेकी थिएँ । त्यस लेखमा स्वस्थानी नेपाल संवत् ६९३ मा पहिलो पटक प्रकाशमा कथा देखापरेको बताइएको छ । अनि  नेपाल संवत्  ७२३ मा भने स्वस्थानी ब्रतकथा ठूलो आकारमा प्रकाशित भएको उहाँले उल्लेख गर्नुभएको छ । अहिले त नेपाली मैथिली, भोजपुरी र हिन्दीमा समेत यो कथा प्रकाशित छ, भनिन्छ । स्वस्थानीको पूजा गर्ने परम्परासँगै स्वस्थानी देवीका रूपमा पूजा गर्न थालेको पाइन्छ । मातृसत्तात्मक समाजमा माताको पूजा गर्ने चलनसँगै यसमा पितृसत्तात्मक सोच प्रवेश गरेपछि यस ब्रतकथामा महिलाप्रति चरम उपेक्षा र अपमान तथा हेलाहोचो जस्ता विषयहरूले राम्रै प्रवेश पाएको स्पष्ट हुन्छ । निम्न लिखित श्लोकले स्वस्थानीको पुरानो स्वरूप बुझाउँछ,  
स्वस्थानी परमेश्वर्या विधिवत् ब्रतमाचरेत
तेन स्वस्थान लाभन्ते भविष्यन्ती नसंशय 

अर्थात् स्वस्थानी परमेश्वरीको विधिपूर्वक ब्रत गर, त्यसबाट स्वस्थानको लाभ हुन्छ । आफू जन्मेको ठाउँलाई परमेश्वरी मानेर पूजा गर्दा गर्दै यसमा अनेक विकृति भित्रिएको हुनसक्छ । अहिले पनि कति कविले कविता लेख्दा महिलालाई आफ्नो मतिअनुसार लेख्छन् । कसैले महिला समानताको कुरा लेख्छन् भने कतिले महिलालाई अपमान गरेर पनि लेख्छन् । अझ सामन्ती समाजको राज्य सरकार र सत्ताले महिलालाई चरम अपमान गरेर लेख्ने, बोल्ने र व्यवहार गर्ने गरेपछि त्यसैको सिको गरेर स्वस्थानी ब्रतकथाका लेखकहरूले कथा थप गरेको स्पष्टै छ । यस्ता कुरामा अनेम सङ्घ बेखबर भएर हुन्छ ? सुरुमा आड पानामा प्रकाशित स्वस्थानी ब्रतकथा अहिले बढेर पाँचसय  पानाको भएको छ भने अनेम सङ्घ र यसका नेतृहरू र पार्टीका केन्द्रीय सदस्य वा अन्य पदीय उच्च हैसियतका महिलाहरू किन मौन ?

अनेमसङ्घको विधानको उद्देश्यको (घ) नं.मा सामन्तवादी पुँजीवादी नवउदारवादी अवशेषका रूपमा विद्यमान पितृसत्तात्मक सोच, विचार, कुरीति र कुपरम्पराका विरुद्ध निरन्तर सङ्घर्ष गर्ने उल्लेख गरिएको छ । तर, सङ्घर्षका नाममा जिन्दावाद र मूर्दावाद मात्र गरेर अब हुँदैन । विरोध मात्र गरेर तर्कसङ्गत रूपमा उचित विकल्प समेत सङ्घ र यसको उपल्लो नेतृत्वले दिन सक्नु पर्छ । यसका लागि  महिला नेतृहरू  अध्ययनशील, बौद्धिक, वैचारिक तथा लेखन कर्ममा लाग्नु जरुरी हुन्छ ।

यो कुरा विधानको उद्देश्यमा स्पष्ट रूपमा उल्लेख गर्नु पर्छ । विधानमा समसामयिक सवालमा गोष्ठी, सेमिनार, विचार विमर्श गर्नेजस्ता कामहरू गर्ने कुरा कतै उल्लेख छैन । विधानले नबोलेपछि काम नगर्नेलाई सजिलो हुने नै भयो । जब पढ्ने लेख्ने बौद्धिक क्षमता आर्जन गर्ने कुरा विधानमा नै नभएपछि गर्नु पनि भएन । विधानमा महिलाहरूका विभिन्न खाले सिर्जनात्मक रचनात्मक प्रतिभा उजार गर्ने तिनलाई समृद्ध पार्ने कुनै दिशा निर्देश विधानले गरेको देखिन्न ।

सदस्यता वितरण, नवीकरण,  समिति  गठन, पुनर्गठन, सम्मेलन मात्र गर्ने अनि विभिन्न विषयमा विरोध वक्तव्य मात्र जारी गर्नु काम त हो तर, यतिमै सीमित पारियो भने बौद्धिक क्षमता विकास हुँदैन । आफूले कुनै न कुनै तरिकाले  महत्वपूर्ण अवसर पाए सबैले पाए खाए भन्ने चिन्तन व्याप्त देखिन्छ । प्रतिभाशाली, योग्य र इमान्दार महिलालाई अगाडि आउनै नदिने, आए कुनै न कुनै तरिकाले अवरोध सिर्जना गर्ने, महिलाका नामबाट पाउने सबै अवसर आफै मात्र हत्याउने, भए जति पदको माला आफै भिर्ने, आफै मात्र ठालु पल्टिने संस्कार इटहरी उपमहानगर पालिकाकी उपप्रमुखको रहेको छ ।          

सदा झैँ यस वर्षको माघ १५ गतेदेखि स्वस्थानी ब्रतकथा प्रारम्भ हुँदैछ । बेलाको बोली बोल्ने हो र समाजलाई समयअनुसार परिवर्तन गर्न अग्रसर हुने महिला क्षेत्रले यस्ता विषयमा विमर्श गरिरहनु पर्ने हो तर, आफूलाई अग्रगामी भन्ने महिलापक्षीय संस्था र नेतृहरूले यस्ता विषयमा विचार विश्लेषण गरिरहेको पाइन्न । बरु परम्परावादी महिला नेतृ र संस्थाहरु सदा झैँ सक्रिय देखिन्छन् । मिडियामा तिनकै विचार बारबार सुनिन्छ, अग्रगामी सोचहरू हात बाँधेर बसेको स्थिति छ । विचारलाई विचारले नै परास्त गर्नु पर्छ ।

अझ यस्ता विषयमा अनेम सङ्घले यस्ता विषयहरूका बारेमा सघन बौद्धिक विचार विमर्श गर्न जरुरी देखिन्छ । स्वस्थानीका सकारात्मक पक्ष र नकारात्मक पक्षका बारेमा आफै स्पष्ट हुन जरुरी हुन्छ । पुर्खाहरूले सुरु गरेका परम्पराहरूलाई समय अनुकूल बनाउनु पर्छ । तर्क र तथ्यसहित  विरोध गर्ने हो र विकल्पसहित विरोध गर्ने हो । मैले बुझेसम्म इटहरी वडा नं.२ निवासी कम्युनिष्ट पार्टीका पुराना नेता स्व. ओम कोइरालाका बुबा स्व.देवनारायणका घरमा कठोर भूमिगतकालमा जननेता मदन भण्डारी आउँदा स्वस्थानी ब्रतकथाको अवसर परेछ ।

यस अवसरमा आफ्नो छोराको साथी भनेर चिनिएका भण्डारीको सुरिलो स्वरबाट प्रभावित आमाहरूले भण्डारीबाट स्वस्थानी ब्रतकथा सुन्न आग्रह गरेछन् । मदनले पनि ब्रतकथा पढेर सुनाउँदै बीच–बीचमा विश्राम लिएर कथामा रहेका कतिपय चरम रुढीग्रस्त विचार चाहिँ तपाईं हामीले मान्नु उपयुक्त हुँदैन भनेर चित्त बुझ्नेगरी बताएको रुक्मणि कोइराला बताउनुहुन्छ । आँ गर्दा अलङ्कार बुझिन्छ भने झैँ मदन भण्डारीको उपयुक्त कुराबाट स्वस्थानी ब्रतकथा वा अन्य कुनै पनि परम्परागत पूजाआजा, पुराण आदिका सकार स्वीकार गर्ने र नकार चाहिँ अस्वीकार गर्ने भन्ने बुझिन्छ ।

तर, त्यही घरमा केही समयअघि स्व. पिता–माताका स्मृतिका आयोजित सप्ताह पुराणमा आचार्य पण्डित कुमार निरौला, कमल खतिवडाले पुराण वाचनका क्रममा उखूमा रस भगवानले हालिदिएका भन्नेजस्ता चरम अन्धविश्वासी व्याख्यान गरेको हामीले सुन्यौँ । परिवार नै अग्रगामी, प्रगतिशील वा कम्युनिष्ट भए पनि हाम्रा घरघरमा अनेक खालका अन्धविश्वासी क्रियाकर्म अहिले पनि हुने गरेको यो एउटा उदाहरण हो ।

अहिले नै पनि कतिपय नेता र नेतृका घरमा पुर्पुरोवाद भट्याउने पूजाकोठा देखिन्छ । घरमा ध्यान कक्ष वा कोठा राख्नु सही होला तर, आफूलाई कम्युनिष्ट वा एमाले नेता रुढीवाद र माक्र्सवादमा फरक नदेखेपछि  के हुन्छ ? त्यसैले यस खालका  रुढीवादी गतिविधिका बारेमा घरघरमा नै चर्चा परिचर्चा गर्नुपर्छ र यस्ता विषयमा अनेम सङ्घले जिल्ला–जिल्लामा  सभा, समारोह र कार्यक्रम चलाउनु पर्छ । अझ सामूहिक रूपमा अलि परिष्कृत आलोचनात्मक खालको स्वस्थानी ब्रत र कथा वाचन अभियान सुरु गर्नुपर्छ । हामीले हाम्री सासू आमा हरिमाया पोखरेलको क्रियाकर्म  गर्दा आलोचनात्मक गरुडपुराण आयोजना गरेका थियौँ ।

गरुड पुराण वाचन गर्दा बीचमा सतीप्रथाको प्रसङ्ग आयो अनि हामीले पण्डितलाई वाचन गर्न रोकेर यस विषयमा महिलाहरूका बीच छलफल चलायौँ । डा. पोखरेलले पुराण सुन्न भेला भएका महिला समूहलाई लक्षित गर्दै प्रश्न गर्नुभयो, लौ अब को को माताहरू सती जान तयार हुनुहुन्छ भन्ने बित्तिकै हल्लीखल्ली सुरु भयो । त्यहाँ उपस्थित कोही पनि महिला सती जान तयार भएनन् । पुरुष पनि महिला मरेपछि सती वा सतो जान्छन् भने मात्र हामी जान्छौँ नत्र हामी मात्र सती जाँदैनौं भनेर ठट्यौली पारामा उत्तर दिए ।

तर डा. पोखरेलले हामी पुरुष चाहिँ किमार्थ सती जान्नौं भनेपछि सबै चुपचाप भएका थिए । यसरी नै स्वस्थानी ब्रतकथामा उल्लिखित महिला विरोधी विषयमा कार्यशाला वा छलफल चलाउने हो भने कोही मान्नेवाल छैनन् । अनि यस्तै नहुने नहुने कथा र कुरा कसैले पनि स्वीकार नगर्ने स्थिति हुन्छ ।

यस खालका चरम रुढीवादी कथा, ब्रत, पूजाआजाका बारेमा सरोकारवालाकै रायअनुसार स्वस्थानी ब्रतकथा कम्तीमा ब्रतकथालाई आलोचनात्मक रूपमा वाचन  गर्ने परिपाटी सुरु हुनुपर्छ । यसरी क्रमशः यस्ता ब्रतकथामा परिमार्जन गर्न सकिन्छ तर, यस्तो सोच नेतृमा आउनु पर्यो, आफू नजान्ने, भनेको नमान्ने भएपछि केही हुँदैन । पदको नेता, माननीय र मन्त्री नै पनि भएर पो के हुन्छ र कामले नै काम जानिन्छ । भूइँ तहदेखि नै काम जानेका महिलाको कुरै बेग्लै हुन्छ ।

अहिले त सही सल्लाह दिने र लिने पनि छैनन्, सही सल्लाह सुन्नेवाला पनि छैनन् । अन्धविश्वास र असमानताका विरुद्ध वर्षमा एकाध भाषण, मन्तव्य र कार्यक्रम गरेर के हुन्छ ? बिहानदेखि बेलुका अबेरसम्म घरघरमा र हरेक मिडियामा भाग्यवादकै फलाको सुनिन्छ । यसमा आलोचनात्मक विचार राख्ने महिला नेतृ खासै देखिएका छैनन् ।

लामो समयदेखि दिमागमा बासी परेर जमेको मयल कहिलेकाहीँ सुमसुम्याएर सफा हुँदैन ।  त्यसैले कुनै न कुनै खाले अन्धविश्वास बोकेर हिड्ने महिला नेतृ छँदै छैनन् भन्न सकिँदैन । किनभने शदियौँदेखि चरम रुढीग्रस्त स्वस्थानी ब्रतकथा सुनेर त्यसअनुसार आफ्नो चिन्तन र चरित्र निर्माण गरेका महिला जगत् रातारात सच्चिने कुरा हुँदैन । तर, स्वस्थानी ब्रतकथा भने लामो समयको परिष्कारपछि चरम रुढीग्रस्त हुँदै आएको स्पष्ट हुन्छ ।

स्वास्थानी ब्रतकथामा छोरीलाई असाध्यै हेलाहोचो र अपमानमा गरिरहेको देखिन्छ । यस कथाको समापनमा र आठ रोटीलगायत अन्य ८–८ प्रसाद र फलफूल पतिलाई, पति नभए छोरालाई, छोरा नभए मितको छोरालाई दिनू र मितको छोरा नभए नदीमा बगाइदिनू भनेर कथामा छोरीलाई सन्तान नै मानिएको छैन । वैदिक सनातन धर्म र धार्मिक ग्रन्थहरूमा महिलाका बारेमा मान र अपमान दुवै थरि विचार व्यवहार पाइन्छ ।

कहिले महिलालाई पूजनीय मानिएको छ भने कहिले अत्यन्त तिरस्कृत गरिएको पाइन्छ । पछिल्लो समयमा भने प्रायः छोरीलाई भोग्या, भाग्यवादी, नोकर्नी र सुसारेका रूपमा मात्र हेरिएको देखिन्छ । नेपालको संविधानले समाजमा विद्यमान उपर्युक्त खालका परिपाटीको विरोध गरिएको छ ।

स्वस्थानी ब्रतकथामा बेला–बेलामा कथालाई थपथाप गरिएको छ । अनि  संशोधन र परिमार्जन हुँदो रहेछ भन्ने त देखियो नि । अनि गणतान्त्रिक नेपालमा स्वस्थानी ब्रतकथामा समयअनुसारको संशोधन गर्न किन अघि नसर्ने ? त्यसो हुँदा अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रकालमा पनि उही सामन्तकालीन चरम अन्धविश्वास र परम्पराका पछि लाग्न सचेत महिला नेतृलाई सुहाउँदैन ।  स्वस्थानी ब्रतकथामा गोमाले स्वीकार्न बाध्य पति शिव शर्मालाई कुप्रा, कान नसुन्ने, अधबेस्रा, डेब्रो, कैला आँखा भएका, आँखीभौँ  जोडिएका, केश पाकेका, मुखदेखि र्याल चुहाएका, अत्यन्त कुरूप र धरमर भएका बूढाका रूपमा चित्रण गरिएको छ ।

बाध्य बनाएर बिहे गरिदिने अनि कथामा यस्ता पति पाउनु भाग्यको लेखा हो, दैवको लीला हो र पूर्वजन्मको फल हो भनिएको छ । पूर्वजन्मको फल हो भन्ने देखाउन रामचन्द्रको वनबास, द्रौपदीको चिरहरण, शिवको कालकुट विषपान, यदुवशको सर्वनाश उदाहरणका रूपमा उल्लेख गरिएको छ ।

यसरी महिलालाई कल, बल,  छल प्रयोग गरेर भाग्यवादी, परम्परावादी शिक्षाद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चरम असमानता र शोषण  गरिएको देखिन्छ । यस्ता कथा, उपकथा हजारबार सुनाएपछि महिलाको मन र मस्तिष्क त्यहीअनुसार बन्छ । अनि समाज कसरी अघि बढ्छ र ? राम्रा राम्रा कथा कहानी र विचार सुने, देखे र पढे पो चरित्र पनि त्यसअनुसारको हुन्छ । यस्ता कुरामा अनेम सङ्घको ध्यान कहिले जाला ? स्वस्थानी ब्रतकथामा यो जीवन जगत्को सृष्टि कसरी भयो भन्ने सन्दर्भमा पनि चरम अन्धविश्वास पटकपटक बखान गरिएको । यी कुराहरू विज्ञानसम्मत छैनन् ।

एकातिर स्वस्थानी ब्रतकथामा नारीहरू आदिशक्ति, महाशक्ति र परब्रह्म शक्तिका रूपमा उल्लेख गरिएको देखिन्छ भने तिनै शक्तिशाली नारी शक्तिलाई अत्यन्त कमजोर, निम्छरो र दासीका रूपमा उल्लेख गरिएको देखिन्छ । यस्तो खालको सोच र व्यवहार पितृसत्तात्मक समाजबाट सुरु हुँदै विकसित भएको हुनुपर्छ । स्वस्थानी भनेर एकातिर मातृशक्तिको पूजा गर्नु अर्कातिर तिनै मातृशक्तिलाई घनघोर तिरस्कार गर्नु कथा होइन, व्यथा र वेदना हो । यस्ता ब्रतकथा र पुराणहरू अब संशोधन गर्नुपर्छ । संशोधित कृति लेखन र प्रकाशन गर्नुपर्छ । अनेम सङ्घले यस्ता कुराको अगुवाइ गर्नुपर्छ ।