यासोक । पाँचथरको कुम्मायक गाउँपालिका वडा नं.२ माङ्जाबुङका टेकबहादुर शेर्मा उमेरले ६१ वर्ष पुगे । २०४३ साल चैत १२ गते उनका बुबा दलबहादुर शेर्माको मृत्यु भयो ।

बुबाको मृत्युपछि बुबाको नाममा रहेको जग्गाधनी पुर्जाको नामसारी गर्न उनलाई समस्या भयो । उमेर ढल्किँदै गयो तर, नामसारी गर्न सदरमुकामसम्म पुग्दा बढी झमेला हुने भन्दै कुनै चासो दिएनन् । तर, २०७८ साल मङ्सिर ५ गते गाउँपालिकामा मालपोतको शिविर बस्ने सूचना पाए ।

त्यसपछि उनी शिविर सञ्चालनको अघिल्लो दिन गाउँपालिका पुगे । तीन दिनपछि बुबाको नाममा रहेको ५० रोपनी जग्गा आफ्नो नाममा ल्याउन सफल भए । बुबाको मृत्यु भएको ३५ वर्षपछि नामसारी गर्न सफल भएकोमा उनी दङ्ग थिए ।

गाउँपालिकाको व्यवस्थापनमा जिल्ला मालपोत कार्यालयले सञ्चालन गरेको सात दिने शिविरमा शेर्मा मात्रै होइनन् । कुम्मायक–१ की ठगीमाया खुलाल पनि खुसी छिन् । लामो समयदेखि धनीपुर्जाको नामसारी गर्न समस्या भोग्दै आएकी खुलालले शिविरलाई मौकाको रूपमा सदुपयोग गरी नामसारी गर्न सफल भइन् । खुलाल भन्छिन्, ‘घरको खाना खाएर दिउँसो आउँदा थोरै खर्चमा नामसारी भयो, जिल्ला जाँदा आउँदा धेरै खर्च र दुःख भोग्नु पथ्र्यो । अहिले सहज भएको छ ।’

गाउँपालिकावासीले लामो समयदेखि गाउँमै मालपोतको सेवा पाएका थिएनन् । जिल्ला मालपोत कार्यालयसम्म पुगेर सेवा लिन बढी खर्चिलो र झन्झटिलो हुने भन्दै लामो समयदेखि जग्गाको कारोबार गर्नबाट बञ्चित थिए । तर, मालपोतको घुम्ती शिविर गाउँपालिकामा सञ्चालन भएपछि २ हजार बढी स्थानीयले सेवा लिएका छन् । छिटोछरितो र कम खर्चमा नामसारी र अंशबण्डालगायतका सम्पूर्ण सेवा गाउँमै पाउँदा गाउँपालिकावासी हर्षित भएका छन् ।

malpot

२०३२ सालयता जग्गाको कारोबार गर्न नपाएका नागरिकले सदरमुकाम धाउँदै आएका थिए । त्यसमाथि पनि गाउँका अशक्त र अपाङ्ग नागरिकलाई मालपोतको सेवा लिन कठिन थियो । नागरिकलाई प्रभावकारी ढङ्गबाट सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाका सातवटै स्थानीय तहमा मालपोत कार्यालयले प्रविधिसहितको घुम्ती शिविर सञ्चालन गर्दै आएको छ ।

यसअघि जिल्लाको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकामा शिविर सम्पन्न गरेको कार्यालयले कुम्मायक गाउँपालिकामा शिविर सञ्चालन गरेको छ । शिविरमा ३ सय ८० नागरिकले प्रत्यक्ष लाभ लिएका थिए भने १६ सय ७५ नागरिकले परामर्श सेवा लिएको जिल्ला मालपोत कार्यालयका प्रमुख बाबुराम पोख्रेलले बताए ।

शिविरमा अंशबण्डा २०, राजीनामा १ सय ३, नामसारी १ सय ४६, संशोधन ३६, फुकुवा १५ र प्रतिलिपि ६६ गरी २ हजारले सेवा लिएका थिए । मालपोत कार्यालयप्रति नागरिकले हेर्ने नजर फरक पार्न कार्यालयले सबै स्थानीय तहमा शिविर सञ्चालन गर्दै आएको पोख्रेलको भनाइ छ ।

सात दिनसम्म सञ्चालन भएको शिविरमा सेवाग्राहीको चाप बढेपछि कार्यालयले बिहान ७ देखि बेलुका ११ बजेसम्म सेवा प्रवाह गरेको थियो । शिविरबाट गाउँपालिकाले ४ लाख ५० हजारसम्म राजश्व सङ्कलन गर्न सफल भएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । मालपोत कार्यालयसँग समन्वय गरी चाँडै जग्गाको कारोबारसम्बन्धी सामान्य सेवा गाउँपालिकाबाटै सञ्चालन गर्ने लक्ष्य लिएको चेम्जोङको भनाइ छ ।