धरान र हिमालयन महायन देक्षेन छोलिङ गुम्बा धरानको ४६ औ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर १८ स्थित आफ्नै धार्मिक सभा हलमा वडा अध्यक्ष प्रबिन (नरेन्द्र) राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

चार वर्षे समितिको कार्यकाल अन्तर्गत अहिले तेस्रो वर्ष पूरा भएको कुरा गुम्बा व्यवस्थापन समिति अध्यक्ष ङावालप्टु लामा शेर्पाले जानकारी दिए । सभामा प्रमुख अतिथिबाट आर्थिक सहयोग २५ हजार रुपैयाँ पनि प्रदान गरेको कुरा अध्यक्ष शेर्पाले जानकारी दिए ।

वडा कार्यालयबाट गत साल दुई लाख र चालू आर्थिक वर्षमा २ लाख पचास हजार विनियोजन भएको जानकारी दिए । सभाको खुल्ला सत्रमा गुम्बाका प्रमुख लामा दोर्जी लोपेन निमा वाङ्दी सहित विभिन्न व्यक्तिले आर्थिक जिन्सी सहयोग गरेको भन्दै सम्मान गरिएको छ ।

त्यसै गरी गुम्बामा आजीवन सदस्य थपिने क्रम जारी भएसंगै सदस्यता वितरण गरिएको छ । गुम्बाको आजीवन सदस्यताज्व शुल्क १० हजार ५५५ रुपैयाँ रहेको भन्दै यति शुल्क बुझाएपछि तीन पुस्ताको लागि आजीवन सदस्य प्राप्त हुने कुरा अध्यक्षले बताए । हाल यस गुम्बाको २४६ जना आजीवन सदस्य रहेका छन्।

बन्द सत्रमा गुम्बाका सचिव दातेन्जी शेर्पाले वार्षिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनलाई सभाले पारित गर्दै आगामी वर्षको कार्य योजनाको प्रस्तावमा छलफल भएको छ।

२०३० सालमा बुद्धिष्ट एसोसिएसन नामक संस्था दर्ता गरी सोलु केरुङका पासङ शेर्पाले नगद एक हजार सहित डेढ कठ्ठा जग्गा प्रदान गरेपछि त्यहाँ गुम्बाको स्थापना भएको हो । २०४७ सालमा गुम्बालाई सुनसरी जिल्ला प्रशासन कार्यालयमा बिधिवत रूपमा दर्ता गरी २०५८ सालमा पुन निर्माण गरिएको हो ।