नयाँ दुलहीको नयाँ जितिया पर्व । यो वर्ष जितिया व्रत लिएर ‘वरदान’ माग्दैछिन् दुलही । साथीभाइ, आमाबु्बासँग भेट्ने चाहानामा दुलही उत्साहित छिन् । 

प्रत्येक वर्ष जितिया व्रतमा ‘सुइध’ लाग्दैन । अर्थात् दिन, बार, ग्रह दशा मिलेको हुँदैन । यो वर्ष ‘सुइध’ लागेको छ । दुलही खुसी छिन् । आफूलाई भाग्यामानी ठानेकी छिन् । जित महान् भगवानसँग प्रार्थना गर्दैछिन् । कसैलाई नराम्रो नहोस्, सुख, समृद्धि छाओस् । 

जितिया अर्थात् विजय हासिल गर्नु । धर्मशास्त्र र पौराणिक मान्यताअनुसार जित महान् भगवान्ले गरुडरुप धारी शक्तिशाली राक्षसलाई अलौकिक शक्तिका माध्यमद्वारा आफ्नो बसमा राख्न सफल भएका थिए । यसै दिनको सम्झनामा जितिया पर्व मनाउन थालियो । यो पर्व आसुरी शक्तिमाथिको विजयका रुपमा थारु समुदायले मनाउँदै आएका छन् । तराई क्षेत्रमा लोकप्रिय जितिया पर्व प्रत्येक असोज कृष्ण पक्ष सप्तमीदेखि नवमीसम्म मनाइन्छ । 

श्रुति परम्पराबाट आज पर्यन्त जीवित थारु जातिका गीत, संगीत युवा पुस्ताले अडियो र भिडियोमा ल्याउन थालेका छन् । पौराणिक चाचैर, विरहैनलगायत पाराति गीतहरू पर्व र अवसरका बेला आमा, भाउजु, दिदीहरुबाट सुनिंदै पुस्तान्तरण हुँदै आएका छन् । 

थारु गीत र सङ्गीत जीवन्त रहोस् र अहिलेका युवा पुस्ताले आफ्नो संस्कृति,संस्कार र परम्परालाई निरन्तरता दिन सकियोस् भन्ने उद्देश्यका साथ नवीन चौधरीको शब्द संकलनमा तयार भएको भिडियो सार्वजनिक भएको छ ।

भाषा, संस्कृति र संस्कारमा निकै धनी मानिएका थारु समुदाय चाडपर्व र रीतिरिवाजमा गीत र सङ्गीतलाई गहनाका रूपमा लिन्छन् । 

नयाँ युवा पुस्ताको प्रयासले थारु गीत–सङ्गीत सङ्ग्रह र विकासतर्फ अघि बढेको छ । 

थारु समुदायको महान् पर्व जितियाको परम्परा झल्काउने ‘हे जित महान्’ बोलको गीत शुक्रबार सार्वजनिक भएको छ । थुप्रै थारु र मैथिली गीतमा स्वर दिएका उदयीमान थारु गायक सुनिल चौधरीको स्वर र सङ्गीतमा गीत बनेको छ । गायिका अनुमा चौधरीले उनलाई साथ दिएकी छन् ।

गणेश चौधरीको एरेन्जमा थारु, नेपालीलगायत भोजपुरीका थुप्रै गीत निर्देशन गरिसकेका जनक चौधरीले निर्देशन गरेका छन् । रविन चौधरीको छायांकनमा सविता चौधरी र गोविन्द चौधरी, पाण्डप चौधरी, राम्री चौधरी, प्रदीप चौधरी, आशिश चौधरीलगायत कलाकारलाई देख्न सकिन्छ । 

भिडियोमा चर्चित तथा स्थापित कलाकार जानकी चौधरीको समेत अभिनय देख्न सकिन्छ । थारु चलचित्र सांस्कृतिक सङ्घ सुनसरीको प्रस्तुति रहेको भिडियो टिएफसिए नेपालले युट्युब च्यानलमार्फत् सार्वजनिक गरेको छ ।