अफगानिस्तानमा मिसन समाप्तिपछि अमेरिकाका राष्ट्रपति जो बाइडेनको वक्तव्य सार्वजनिक भएको छ । विगत १७ दिनदेखि अफगानिस्तानमा फँसेका नागरिकलाई उद्धार गर्ने काम जारी रहेको उनले बताए । 

हातमा बन्दुक । झुकेको शीर । एयरक्राफ्टतर्फ अघि बढिरहेका सैनिक । अफगानिस्तानमा अमेरिकाले झण्डै २० वर्षपछि आफ्नो मिसन समाप्ति गरेको छ ।

अमेरिकाको रक्षा मन्त्रालयले मंगलबार उसका सबै सैनिक फर्किएको र मिसन पूर्ण रुपमा समाप्त भएको जानकारी दिएको छ । 

अफगानिस्तानबाट आतंकवादको  समाप्तिको प्रण बोकेर अमेरिकी सेना १९ वर्ष १९ महिना र १० दिन पछि अन्ततः अफगानिस्तानलाई तालिबानको हातमा सुम्पिएर बिदा भएको छ  । फर्किएका अन्तिम सैनिकको तस्बिर अमेरिकी रक्षा मन्त्रालयले ट्वीट गरेको छ । 

अमेरिकी रक्षा मन्त्रलायले फोटो ट्वीट गर्दै लेखेको छः अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक । मेजर जनरल क्रिस डोनह्यु ३० अगस्टमा सी–१७ एयरक्राफ्टमा फर्कँदै । यसका साथै काबुलमा अमेरिकी मिसन समाप्त भएको छ । 

मिसनको समाप्तिपछि अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ पनि सार्वजनिक भएको छ। उनले विगत १७ दिनदेखि अफगानमा फँसेका नागरिकलाई निकाल्ने काम जारी रहेको जनाएका छन् । उनले भने, ‘विगत १७ दिनमा हाम्रा सैनिकले युएस इतिहासको सबैभन्दा ठूलो एयरलिफ्ट मिसन चलाए । यसमा १ लाख २० हजार व्यक्तिको उद्धार गरियो । यसमा अमेरिकी नागरिकसँगै हाम्रा सहयोगीका नागरिक र संयुक्त राज्य अमेरिकाका अफगान सहयोगी पनि समावेश थिए ।’

अफगानिस्तानमा अब अमेरिकी कुटनीतिक उपस्थिति छैन । यसलाई पनि हाल रद्द गरिएको छ । अफगानिस्तान सम्बन्धि कुटनीतिक काम दोहा वा कतारबाट गरिने छ । अमेरिकाले अब अफगानी नागरिकलाई सिधा सहयोग नगर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो काम स्वायत्त संस्थालाई दिइने छ । त्यस्ता संस्थामा युएन एजेन्सी र अन्य एनजीओ छन् । अमेरिकाले विश्वास लिएको छ– तालिबानले अबका दिनमा अमेरिका माथि कुनै थुनछेक र रोकावट गर्ने छैन ।

२४६१ अमेरिकी सेनाले गुमाए ज्यान

अभियानको समाप्तिपछि अमेरिकी रक्षा मन्त्री लइड अस्टिनले अफगानिस्तान आतंकका विरुद्ध धेरै गुमाएको र सहन गरेको अभिव्यक्ति दिएका छन् । उनले यसको बयान गर्न नसक्ने बताएका छन् । आतंकका विरुद्ध अफगानिस्तान युद्धमा २,४६१ जना अमेरिकी सैनिकले ज्यान गुमाएको अस्टिनले बताएका छन् । 

उनले भनेका छन्, ‘हामीले तालिबानको खतराका बीच आफ्ना ६ हजार नागरिकलाई अफगानिस्तानबाट सुरक्षित उद्धार गरेका छौं । कुल १ लाख २३ हजार व्यक्तिको उद्धार भयो । जसमा अफगानी र अन्य पनि समावेश छन् ।’