सुनसरी। कोसीटप्पु वन्यजन्तु आरक्षलाई निकुञ्ज बनाउनेदेखि कोसी गाउँपालिकालाई नगरपालिका बनाउन माग गर्दै कोसीका जनप्रतिनिधि मन्त्रालय धाइरहेका छन् ।

सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद् ज्ञानेन्द्रबहादुर कार्की शेरबहादुर देउवा सरकारमा मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कोसीका जनप्रतिनिधि आरक्षलाई निकुञ्ज बनाउनेदेखि कोसी गाउँपालिकालाई नगरपालिका बनाउनेलगायत विभिन्न ३२ वटा योजनासहित मन्त्रालय धाइरहेका हुन् ।

चुनावका बेला गरेका कतिपय योजना कार्यान्वयन गराउने उद्देश्यले कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीसहितको टोली काठमाडौं दौडाहामा छन् । कोसी गाउँपालिकाले विभिन्न शीर्षकमा विभिन्न मन्त्रालयअन्तर्गत ३२ वटा योजना कार्यान्वयन गराउने उद्देश्यले अध्यक्ष अन्सारी राजधानी काठमाडौं दौडाहामा रहेको कोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरीले बताए ।

कोसीको दिगो विकास र समृद्धिका लागि सङ्कल्प लिएका अन्सारीले भौतिक पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र कोसीको मात्रै नभई सुनसरी र सप्तरी जिल्लामा रहेकोे हात्ती आतङ्क रोक्ने योजनासहित अध्यक्ष अन्सारीनेतृत्वको टोली काठमाडौंमा रहेको उनले जानकारी दिए ।

यस्ता छन् जनप्रतिनिधिको योजना
साविकको चारवटा हरिपुर, श्रीपुर, पश्चिम कुसाहा र लौकही गाविस गाभिएर बनेको कोसी गाउँपालिकालाई नगरपालिका बनाउने सिफारिस र वर्षौंदेखिको हात्ती आतङ्क रोक्ने योजनासहितका योजना कार्यान्वयन गराउन लागिपरेको अध्यक्ष अन्सारी बताउँछन् ।

कोसीटप्पु वन्यजन्तु आरक्षबाट गाउँ पस्ने हात्तीको समूहबाट हुँदै आएको मानवीय तथा भौतिक क्षति रोक्न कोसीटप्पु क्षेत्रमा सिंचाइ कुलो निर्माण गर्दै आरक्षलाई निकुञ्जमा परिणत गर्न आवश्यक रहेकोे उनको भनाइ छ । ‘सोलार तारबारले हात्तीलाई रोक्न सकिँदैन, हात्ती गाउँ पस्नबाट रोक्न सिंचाइ कुलोबाहेक अन्य विकल्प छैन, मैले यो कुरा बारम्बार भन्दै आएको छु’ उनले भने, ‘हामी त्यही योजना लिएर मन्त्रालय धाइरहेका छौं ता कि अब पनि अकालमा सर्वसाधारणले ज्यान गुमाउनु नपरोस् ।’

कोसी गाउँपालिका क्षेत्रमा रहेको सिंचाइ समस्या अन्त्य गर्न गलफरिया सिंचाइ आयोजना निर्माण कार्य गर्न सम्बन्धित मन्त्रालयमार्फत् सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष अन्सारीले जानकारी दिए । यसैगरी कोसी गाउँपालिकाको प्रशासकीय भवन, प्रत्येक वडाको कार्यालय भवन, विभिन्न वडामा मूलबाटो कालोपत्रेदेखि कोसी पर्यटकीय वाटर पार्क र भ्यूटावरसहित विभिन्न ३२ वटा योजना कोसीका जनप्रतिनिधिले माग गरेका छन् ।

त्यसैगरी वडा–वडामा सञ्चालनमा ल्याइएको प्रसूति गृह र स्वास्थ्य चौकीमा स्वास्थ्य दरबन्दी, शिक्षा क्षेत्र सुधार गर्दै सरकारी विद्यालयको शैक्षिकस्तर उकास्ने योजना माग गरिएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष अन्सारीले चुनावको बेला जनतासँग वाचा गरेकामध्ये बाँकी रहेका केही जनहितका योजना लिएर आफू उक्त योजनाहरू पूरा गराउन मन्त्रालय धाएको बताउँछन् । ‘कोसी गाउँपालिकाको धेरैजसो योजना हामीले कार्यान्वयन गराउन सफल भएका छौँ’ उनले भने, ‘सीमित स्रोत र साधनको अभावका कारण आफूले जनतासँग गरेका वाचा पूरा गर्नका लागि लक्षित उद्देश्यका साथ एकमुष्ठ योजनाहरू माग गरेका हौं ।

हाम्रो मुख्य योजना भनेको गरिबी निवारण गरिनुदेखि रोजगारी सिर्जना, सामाजिक–सांस्कृतिक रूपान्तरणलगायत छन् ।’ आफूहरूले माग गरेको योजना कार्यान्वयनमा आएपछि कोसी बाढी पीडितसँगै हात्ती आतङ्क रोकिनुका साथै जनताको जीवनस्तरमा परिवर्तन आउने उनले दाबी गरे ।