इटहरी /  साविक हाँसपोसाका दुई वडा अहिले लाहुरेहरूको रोजाइ बन्न पुगेको छ । साविक हाँसपोसा गाविस हालको इटहरी–१९ र २० वडामा लाहुरेहरूको बस्ती बढ्दो छ । भारतीय सेनामा भर्ती भएकाहरूले अहिले यस क्षेत्रमा धमाधम घर बनाउँदै आएका छन् ।

पूर्वी पहाडबाट भर्ती भएका लाहुरेहरूका लागि रोजाइको सहर बन्न पुगेको छ, तरहरा क्षेत्र । तरहरा क्षेत्रलाई धेरैजसो भारतीय सैनिकहरूले बसोबासको रूपमा रोजे । भारतीय सेनामा सुवेदार मेजर भएर अवकाशप्राप्त किशोरकुमार राई भन्छन्, ‘बसोबासको हिसाबले तरहरा क्षेत्र उपयुक्त छ ।’

खोटाङको बाङ्देलबाट भारतीय सेनामा भर्ती भएका राई साथीभाइकै कारण तरहरामा जग्गा किनेर घर बनाएको बताउँछन् । भर्खरै भारतीय सेनाबाट अवकाशप्राप्त सुवेदार मेजर अनररी क्याप्टेन पदमबहादुर राईले झापाको बिर्तामोडमा जग्गा किनेर घर बनाउने सोच बनाए । तर, नेपाल आएपछि चिनजानका साथीभाइहरूको जमातको कारण उनी अहिले तरहरामै तीन तले घर बनाउँदै छन् । उनी भन्छन्, ‘साथीभाइहरू यतै हुनुहुन्छ, त्यही भएर यहीँ घर बनाउँदै छु ।’

सुवेदार मेजरमा भारतीय सेनाबाट अवकास पाएर आएका खोटाङका भूमिराज राई २०६० सालदेखि तरहरामा बस्दैछन् । इटहरी–१९ मा बस्दै आएका उनले दुई वर्षअगाडि मात्र अवकाश पाए पनि त्योभन्दा अगाडि नै घर निर्माण गरेका थिए । भूमि भन्छन्, ‘नजिकै जङ्गल अनि प्रशस्त पानी भएको कारण अन्य ठाउँभन्दा तरहरा बस्नका हिसाबले उपयुक्त छ ।’

तरहरामै केही वर्ष अगाडिदेखि बसोबास गर्दै आएका भारतीय सेनाका सुवेदार मेजर अनररी क्याप्टेन दिलप्रसाद राई तरहरा सबै हिसाबले बस्नका लागि उपयुक्त भएको बताउँछन् । भोजपुरबाट बसाइँ सरेर तरहरा आएका उनी भन्छन्, ‘तरहरा बसोबासका लागि उपयुक्त ठाउँ हो । बस्नका लागि तरहरा क्षेत्र अन्य ठाउँभन्दा राम्रो छ ।’

यस क्षेत्रमा भारतीय लाहुरेहरूको बाक्लो घरहरू बनेसँगै ग्रामीण सहरको रूपमा विकास भएको तरहरामा अहिले सहरीकरण बढ्दै गएको छ । आर्थिक, सामाजिक क्षेत्रमा भूपू लाहुेरहरूको उल्लेखनीय सहभागिता बढ्दै गएको छ । आम नेपालीभन्दा औसत आम्दानी बढी भएका लाहुरेहरूको बसोबास बढेसँगै तरहरा क्षेत्रमा ठूला–ठूला घरहरू बन्ने क्रम बढ्दो रहेको बताउँछन्, भारतीय सेनाका पूर्व सैनिक जयबहादुर खड्का । पछिल्लो समयमा तरहरा क्षेत्रमा पूर्वी पहाडी जिल्लाबाट भारतीय सैनिक भएकाहरूले तरहरा बस्न रुचाएको बताउँछन् उनी । 

तरहरामा लाहुरेहरू बसेसँगै खाद्य, लत्ताकपडा, जग्गाजमिन, भौतिक निर्माणजस्ता क्षेत्रको व्यापार पनि बढेको बताउँछन् साविक हाँसपोसा गाविसका पूर्व सचिव सञ्जीव खड्का । अहिले तरहरा क्षेत्रमा लाहुरेहरूले जग्गा किनेर घर बनाउने क्रम बढेको उनको बुझाइ छ ।

लाहुरेले जग्गा खरिद गर्दा यहाँ जमिनको मूल्य आकाशिएको छ । तरहरा क्षेत्रमा जग्गाको मूल्यसमेत केही वर्षयता ह्वात्तै बढेको छ । भारतीय भूतपूर्व सैनिक विकास गुरुङ भन्छन्, ‘बस्नका लागि सबै हिसाबले तरहरा राम्रो लाग्छ ।’ खोटाङको दुबेबाट भारतीय सैनिकमा भर्ती भएका उनी अहिले तरहरामा व्यावसायिक रूपमा पनि जम्दै छन् ।

तरहरा क्षेत्रमा पूर्वी पहाडी जिल्ला खोटाङबाट बसाइँ आएकाहरूको बहुल्यता छ । खोटाङसँगै भोजपुर, सोलुलगायतका जिल्लाबाट पछिल्लो समयमा बसाइँ सरेर आउने क्रम बढ्दो छ । धनीदेखि सामान्य परिवारका बसोबास गर्ने तरहरा क्षेत्रमा भित्री सडकहरूसमेत बनेका छन् भने घर निर्माणको क्रम पनि बढ्दो छ ।