धरान । छायांकनको क्रममा झैझगडा र दुर्व्यवहार गरेको आरोप लागेपछि चलचित्र क्षेत्रमा आवद्ध दुई जनालाई एक वर्षसम्म फिल्मका गतिविधिमा संलग्न नहुने गरी कारबाही गरिएको छ । 

निर्माता तथा कलाकार बोधराज पुरुष र अर्का निर्माता साथै निर्देशक भीम लामालाई नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ ले कारबाही गरेको हो । बोधराजलाई एक वर्षसम्म फिल्मका कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो भने भीमलाई ६ महिनासम्मका लागि प्रतिबन्ध लगाएको हो । उनीहरूले सिरियल छायांकनको क्रममा झैझगडा र दुव्र्यवहार गरेको आरोप लागेको छ ।

उक्त आरोपको विषयमा छानबिन गर्ने क्रममा महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधानले गलत गरेको भेटिएपछि प्रतिबन्ध लगाइएको बताए । एक वर्षसम्म चलचित्रसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने र यदि संलग्न भएको प्रमाणित भएमा महासंघले थप निर्णय गरेर अगाडि बढ्ने जनाएको छ । 

पीडितले निवेदन दिएको आधारमा बुधबार छलफलमा सहभागी गराई घटनाको विषयमा बुझ्दा बोधराज र भीम दुवैले गल्ती भएको स्वीकार गरेपछि एक वर्ष र ६ महिनासम्मका लागि प्रतिबन्ध लगाइएको हो । प्रदेश १ मा चलचित्रकर्मीलाई कारबाही गरिएको यो पहिलो घटना हो । यसअघि अध्यक्ष प्रधानसँग अभिनेता पल साहसँग विवाद उत्पन्न भएको थियो । उक्त विवाद इलाका प्रहरी कार्यालय धरानसम्म पुगेको थियो । त्यसक्रममा दुवै पक्षबीच बसेर अभिनेता पल साहले घटनामा माफी मागेपछि घटना मिलापत्रमा टुंगिएको थियो । 

अभिनेता साह एक म्यूजिक भिडियो छायांकनको क्रममा धरान आएका बेला ज्वाइँ खानामा स्वागत गर्ने क्रममा उनले अध्यक्ष प्रधानमाथि दुर्व्यवहार गरेका थिए ।