सुनसरीको वराहक्षेत्र नगरपालिका ६, र ९ मा पर्ने श्रीलंका टप्पुस्थित चिलैया, गरैया क्षेत्रमा भइरहेको कटानको अवस्था बुझ्न अध्ययन समिति गठन भएको छ ।
सुनसरी मोरङ सिचाइ आयोजनाका प्रमुखको अध्यक्षतामा ४ सदस्य टोली गठन भएको छ । टोलीले सम्बन्धित नगरपालिका र स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्ने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकृत महेशकुमार पोख्रेलले जानकारी दिए ।
‘वराहक्षेत्रको वडा नं. ६ र ९ मा के कति कटान भएको छ ? नागरिकको सम्पत्तिको क्षति कस्तो रहेको छ त्यसको अध्ययन गर्न समिति गठन भएको छ, सहायक प्रजिअ पोख्रेलले भने, ‘नगरपालिकाको समन्वयमा समितिले अध्ययन गरी क्षतिपूर्ति र नियन्त्रणका लागि प्रक्रिया अघि बढाउने छ ।’
सप्तकोशी नदीमा आएको बाढीले सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ र ९ को श्रीलंका टापुमा तीव्र कटान गरिरहेको छ ।
भारतले पश्चिमतर्फ तटबन्ध निर्माण नगर्दा यस क्षेत्रमा बाढीले बर्षेनी हजारौं बिघा जमिन कटान गरेको छ । सप्तकोशीको बाढी जमिन कटान गर्दै सप्तकोशीको बीचमा पर्ने श्रीलंका टापुको बस्ती नजिक आएपछि त्रसित बनेको स्थानीय सन्तोषकुमार चन्द्रवंशीले बताए ।
सप्तकोशीको बाढीले पश्चिमतर्फको भू–भाग कटान गर्दा श्रीलंका टापुका ५ सय घरपरिवार बाढीको उच्च जोखिममा परेको बराहक्षेत्र नगरपालिकाका वडा नम्बर ६ का वडा सदस्य श्यामबहादुर लिम्बूले बताए ।
सप्तकोशीले पश्चिमतर्फको श्रीलंका टापु आसपासका क्षेत्रमा नौ किलोमिटर लम्बाई र एक किलोमिटर चौडाई कटान गर्दा २ हजार ५ सय बिघा खेतियोग्य जमिन गुमाउनु परेको वडासदस्य लिम्बूको भनाइ छ ।
सप्तकोशी नदीको बाढी बस्ती नजिक आएपछि सप्तकोशीको बीचमा रहेको श्रीलंका टापुका ५ हजारभन्दा बढी सर्वसाधारण विस्थापित हुने अवस्था रहेकाले तत्काल कोशी कटान नियन्त्रणको काम थाल्नुपर्ने स्थानीयको माग छ ।
स्थानीय, प्रदेश र संघीय सरकारले बाढी नियन्त्रणमा चासो नदिएको कोशी कटान संघर्ष समितिका अध्यक्ष मिश्रिलाल महतो बताउँछन् । पीडित परिवारले गुनासो गरिरहँदा सुनसरी प्रशासनले अध्ययनको काम थालेको छ ।
कोशी बाढी पीडितले क्षतिपूर्ति र उचित राहत उपलब्ध नगराएको गुनासो गर्दै आइरहेका छन् ।