धरान । धरानमा भोलि शुक्रबारदेखि हुने भनिएको कडा लकडाउन फिर्ता भएको छ । 

राजनीतिक दलहरुको अनुरोधमा धरान उपमहानगरपालिकाले कडा लकडाउन गर्ने निर्णय गरेको थियो । तर व्यापारी व्यवसायीहरुको चर्को विरोधपछि उपमहानगरपालिका कडा लकडाउन फिर्ता लिन बाध्य भएको हो । लकडाउनको विरोधमा हिजो र आज धरानमा विरोध प्रदर्शन भएको थियो । धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईको अध्यक्षतामा आज भएको सर्वपक्षिय छलफलसँगै बन्द स्थगीत गर्ने निर्णय गरेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

महाशाखा प्रमुख मेहताका अनुसार अब एकहप्ता भित्र स्वास्थ्यका मापदण्ड पालनामा कडाई गरिने र अहिले भईरहेको निषेधाज्ञालाई निरन्तरता दिईने बताए । आजको निर्णयसँगै यसअघि उपमहानगरपालिकाको कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन नहुने भएको छ । उपमहानगरपालिकाले लकडाउनको निर्णय कार्यान्वयन नगर्न जिल्ला प्रसासन कार्यालयलाई अनुरोध गर्ने भएको छ ।