धरान । धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकको सिफारिसका आधारमा भोलि (शुक्रबार) बाट दश दिनसम्म पूर्ण लकडाउन गर्ने निर्णय सरकारले तयार गरेको पाँच वटा सूचक कहीकतै मेल खाएको पाइँदैन ।
सरकारले पाँच वटा सूचकलाई आधार मानेर ‘कोरोनाको रेड जोन’ भनी व्याख्या गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार पाँच वटा सूचक सतप्रतिशत ‘मिट’ भएमा मात्रै पूर्ण लकडाउन गर्नुपर्ने भनी जनाएको छ तर धरानको हकमा भने ती सबै सूचकहरू पूरा नभए पनि राजनीतिक दलको भित्री इन्ट्रेसमा कार्यपालिकाले पूर्ण लकडाउन गर्नका लागि सिफारिस गरेको हो ।
मङ्गलबार बसेको कार्यपालिकाको बैठकले जिल्लास्थित कोभिड १९ जोखिम व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई पूर्ण लकडाउन गर्नू भनी सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा डीसीसीएमसीका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारीले बुधबार सूचना जारी गर्दै दूधजन्य वस्तु पनि बिहानको ७ बजेसम्म मात्रै बिक्री गर्न पाउने गरी लकडाउन लगाएको अवस्था छ ।
लकडाउनलाई लिएर व्यवसायीहरू असन्तुष्ट छन् । यतिसम्म कि धरान–९ पुतलीलाइनस्थित ज्वाइँ खानाका सञ्चालक हरि श्रेष्ठको संयोजकत्वमा बुधबार धरानको भानुचौकमा लकडाउनविरुद्ध प्रदर्शन समेत गरिएको छ । अव्यवस्थित लकडाउनको विरोध अभियान धरान नाम दिई सामाजिक सञ्जालमार्फत् आह्वान गर्दै लकडाउनको चर्को विरोध गरिएको छ । यता अन्य व्यवसायीहरूले पनि सामाजिक सञ्जालमार्फत नै चर्को विरोध गर्दै आएका छन् ।
धरान उपमहानगरले धरानलाई रेड जोन भनी परिभाषित गरेको छ तर रेड जोन हुनका लागि सरकारको मापदण्ड भने स्पष्ट यस्तो भनेको छ । जसमध्ये पहिलोमा प्रत्येक १० लाख मानिसमध्ये ५ सयभन्दा बढी सङ्क्रमित केस आएमा, दोस्रोमा प्रत्येक १० लाख मानिसमध्ये ५ जनाभन्दा बढीको मृत्यु भएमा, तेस्रोमा विगत हप्ता र यस हप्तामा ९९ प्रतिशत केस आएमा भन्ने सूचक छ ।
त्यस्तै चौथोमा हरेक स्थानीय तहमा भएका कोभिड अस्पतालमा ७० प्रतिशतभन्दा बढी कोभिडका सङ्क्रमित भर्ना भएमा र पाँचौंमा पीसीआर र एन्टिजेन परीक्षण गर्दा सङ्क्रमित अनुपात १० प्रतिशतभन्दा बढी पोजेटिभ भए रेड जोन भनी व्याख्या गरेको छ ।
‘यी पाँच वटा इन्डिकेटरमा हरेकमा २०–२० अङ्कका आधारमा १०० अङ्क मानिन्छ’ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाईंले भने, ‘यही आधारमा सरकारले रेड जोन मानेको छ ।’ जिल्ला जनस्वास्थ्यका प्रमुख प्रसाईंले दुई दिनअगि ब्लाष्ट दैनिकका संवाददाताले लकडाउन गर्नुपर्ने अवस्था हो भन्ने जिज्ञासामा सूचकका आधारमा दुइटा मात्रै पूरा भएको अवस्था रहेको जनाएका थिए । सोही सूचकलाई आधार मान्दा तत्काल लकडाउन गरिहाल्नुपर्ने अवस्था नभएको उनले प्रतिक्रिया दिएका थिए ।
धरान उपमहानगरबाट काठमाडौं गएको सर्वदलीय, सर्वपक्षीय प्रतिनिधि मण्डलले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको उद्धरण भनिए पनि डेन्जर जोन भन्ने पदावली प्रयोग गरेको जस्तो देखिए पनि उक्त पदावली प्रतिनिधि मण्डल आफैले प्रयोग गरेको बुझ्न कठिनाइ पर्दैन । प्रतिनिधि मण्डलका संयोजकसमेत रहेका नगर प्रमुख तिलक राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ (स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ) ले धरान कोरोना संक्रमणको डेन्जर जोनमा परेका तर खोप पर्याप्त नपाएको गुनासोको जवाफमा कोरोनाको जोखिम खतराभन्दा माथि गएको ठाउँमा खोप बढाउने नीतिअनुसार धरानमा खोप बढाउने वचन दिएका छन् ।’
यस वाक्यमा धरानबाटै गएका प्रतिनिधिहरूले नै जबर्जस्त धरान कोरोना खतराको जोनमा रहेको उल्लेख गरेका छन् । जिल्लाले जारी गरेको लकडाउनमा औषधिपसलबाहेक सबै पसल दश दिनसम्म अर्थात् १३ गतेसम्म ठप्प पार्ने उल्लेख छ । सरकारका पाँच वटा सूचकका आधारमा कोरोनाको सङ्ख्या बढोत्तरी भए÷नभएको विषयमा धरान उपमहानगर नै अन्यौल छ । हचुवाका भरमा नै धरानलाई कोरोनाको ‘डेन्जर जोन’मा राखिएको छ । आजको दिनमा धरानमा दैनिक औसतमा ५० जना सङ्क्रमित भेटिने गरेका छन् ।
त्यही पनि धरानले पीसीआर र एन्टिजेन परीक्षणलाई तत्काल बन्द गरेको अवस्था छ । केहीअगिसम्म धरान उपमहानगरले धरान–८ सभागृहमा आइतबार, मङ्गलबार र बिहीबार निःशुल्क रूपमा ‘एन्टिजेन’ परीक्षण गर्दै आएको थियो । उक्त परीक्षण पनि खोप वितरणमा चापाचाप भएकाले बन्द गरिएको बुधबारको पत्रकार भेटघाटमा नगर प्रमुख राईले बताएका थिए । ‘पीसीआर र एन्टिजेन रोकिएको छ, अहिले आएको आँकडा पनि बिरामी आफैले जाँच गराएको आधारमा आएको हो’ उनले भने ।