सुनसरी । बिहानैदेखि लाग्ने चर्को घामले सर्वसाधारण घरबाहिर निस्केका छैनन् । अत्यधिक गर्मीका कारण दैनिकी कष्टकर बनेको छ । कोरोनाको त्राससँगै अत्यधिक गर्मीका कारण बजारमा मानिसको चहल–पहल घटेको छ । मजदुरवर्ग जीविका चलाउन अत्यधिक गर्मीका बावजुद काम गर्ने गरेका छन् भने धेरैजसो सर्वसाधारण जरुरी कामबाहेक घरमै बस्ने गरेका छन् ।
तर, विना जानकारी जुनसुकै समयमा नेपाल विद्युत् प्राधिकरणले दैनिक लाइन काट्ने गरेको हुँदा सर्वसाधारण हैरान बनेका छन् । विद्युत् प्राधिकरणले अनावश्यक रूपमा पटक–पटक लाइन काट्ने गरेपछि सर्वसाधारण आक्रोसित बन्ने गरेका छन् । नियमित रूपमा विद्युत् आपूर्ति भए पनि लो भोल्टेजका कारण सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।विना कुनै जानकारी लाइन काट्ने र विद्युत् आपूर्ति हुँदासमेत लो भोल्टेजका कारण विद्युत्सँग सम्बन्धित काम गर्नेहरू बढी मारमा परेका छन् ।
नियमित रूपमा काम गर्न नपाउँदा रोजीरोटी गुम्ने अवस्था भएको उनीहरू बताउँछन् । विना कुनै जानकारी अनावश्यक तवरले लाइन काट्दा दिनहुुँ हैरानी खेप्नुपरेको इनरुवाका सन्तोष गुप्ताले गुनासो गरे । ‘केही समययता कतिबेला लाइन आउँछ, कतिबेला जान्छ भन्ने कुनै पत्तो हुँदैन’ उनले भने, ‘जतिबेला पनि झ्याप्प झ्याप्प आउने जाने गरिरहन्छ, लाइन आए पनि भोल्टेज कम हुन्छ ।’
विद्युत् प्राधिकरण वितरण केन्द्र इनरुवाको लापरबाहीका कारण गर्मी मौसममा उपभोक्ताहरू लो भोल्टेज र अनियमित रूपमा विद्युत् कटौती हुने समस्याले हैरान बनेको कोशी गाउँपालिकाका मुकेश मेहताले गुनासो गरे । गर्मीका बेला दिनमा मात्रै होइन, रातभर पनि विद्युत् आउने र जाने समस्याले भण्टाबारी, हरिपुर, लौकही, इनरुवालगायत क्षेत्रका उपभोक्ताहरू हैरान छन् । अनियमित रूपमा विद्युत् कटौती र लो भोल्टेजका कारण समस्या भएको छ ।
राति १२–१ बजे लाइन काट्दा घण्टौंसम्म नआउने गरेको हुँदा सर्वसाधारण आक्रोसित हुनु स्वभाविकै भएको गुप्ताले बताए । उनी भन्छन्, ‘गर्मी बढ्दै गएको बेला लाइन आउने जाने र आपूर्ति भए पनि लो भोल्टेज समस्याले सर्वसाधारण आक्रोसित हुने गरेका छन् । विद्युत् बढी आवश्यक पर्ने दिउँसो र साँझको समयमा पङ्खा चल्नेसम्मको समेत भोल्टेज नहुँदा गर्मी मौसममा समस्या भएको हो ।’
विद्युत् प्राधिकरणलाई नियमित शुल्क बुझाउँदै आए पनि आफूहरूले राम्रो सेवा पाउन नसकेको स्थानीय सदरुल हकको भनाइ छ । उनी गुनासो गर्दै भन्छन्, ‘उपभोक्ताले के को लागि विद्युत् प्राधिकरणलाई शुल्क तिरेको ? त्यसैअनुरूप सेवा दिने व्यवस्था गर्नुपर्छ कि पर्दैन ? लाइन दिए पनि भोल्टेज आउँदैन ।’
दिनरात जुनसुकै समयमा लाइन काट्ने गरेको हुँदा आवश्यक परेको बेला लाइन नहुने गरेको उनले गुनासो गरे । विभिन्न क्षेत्रमा व्यवस्थित विद्युतीकरण भएको छैन । रुखहरूलाई छिचोल्दै विद्युत्का तार तानिएको छ भने वर्षौंदेखिको पुराना अव्यवस्थित रूपमा राखिएका विद्युत् पोल व्यवस्थापनमा प्राधिकरण उदासीन छ । जसले गर्दा सामान्य हावाहुरी र वर्षा हुँदा विभिन्न क्षेत्रको विद्युत् आपूर्ति बन्द हुने गरेको छ ।
यता नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रले विनाकारण विद्युत् कटौती नगरिएको जनाएको छ । इनरुवा वितरण केन्द्रका प्रमुख रामउद्गार साहले विना कारण विद्युत् कटौती नगरिएको दाबी गरेका छन् । बेलाबेलामा विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुँदा मर्मतका लागि मात्र विद्युत् कटौती गर्ने गरिएको बताउँदै अत्यधिक खपतका कारण भोल्टेजको समस्या हुनसक्ने उनले बताए । नयाँ ट्रान्सफर्मर अपग्रेडिङ गर्ने काम भइरहेको हुँदा एक हप्तायता बेलाबेला लाइन अवरुद्ध हुने गरेको उनले स्वीकार गरे ।