विराटनगर/ ३० करोड ८३ लाख रूपैयाँ लागतमा विराटनगरस्थित मोरङ कारागारको नयाँ भवन निर्माण सुरू भएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी रहदा समस्या भएपछि पूरानो भवनको साइटमा नयाँ भवन बनाउन सुरू गरिएको हो । नयाँ बन्ने भवनको शिलन्यास मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले गरे ।

उनले निर्माणाधिन भवनको शिलान्यास गर्दै गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै भौतिक संरचना सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । उनले भवनमा बस्ने कैदीबन्दीको जीवन सुरक्षा गर्नु राज्यको दायित्व भएकाले निर्माणमा कुनै कमी कमजोरी नहुनुपर्ने बताए ।

२०८० पुस २४ गतेभित्र निर्माण सम्पन्न गरिनुपर्ने यो भवन १० कठ्ठा १० धुर क्षेत्रफलमा बन्न लागेको हो । उक्त भवनको निर्माणको जिम्मा आशिष, आशीर्वाद र स्वामी नारायण जेभीले लिएको छ ।

निर्माण सुरू गरिएको नयाँ भवनमा महिला र पुरुष कैदी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्रशासन, कारागार प्रमुख, चमेनागृह र आगन्तुकका लागि अलग–अलग कक्ष रहने छ । भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराएको हो ।

हाल जिल्ला कारागार भएकै ठाउँमा बन्ने सो भवनमा महिला कैदीका लागि ८८ शैय्या र पुरुष कैदीका लागि २५० शय्याको हुनेछ । अहिले पुरानो कारागारमा ७१ महिलासहित ९२९ कैदीबन्दी रहेको कारागार प्रशासनका कर्मचारी रामप्रसाद पोखरेलले जानकारी दिए ।

नयाँ भवन बनेपछि पनि पुरानो भवनलाई कैदीबन्दीकै लागि प्रयोग गरिने भएको छ । कारागारको कूल क्षेत्रफल तीन बिघा जग्गा छ । निर्माण कम्पनीका प्रमुख केशर बुढाथोकीले राज्यले लगानी गरेको यस प्रकारको भौतिक सम्पत्तिमा कुनै कमी हुन नदिने र निर्धारित समयमै भवन निर्माण गरिने प्रतिबद्धता जनाए ।