दमक/ कोरोना संक्रमणको हटस्पट बनेको दमकमा एक हप्ता निषेधाज्ञा गरिने भइएको छ ।
शनिबार दमकमा सर्वपक्षीय छलफल गरेर नगरका प्र्रमुख रोमनाथ ओलीले पहिलो चरणमा ७ दिन दमकमा पूर्ण निषेधाज्ञाका लागि जिल्ला प्रशाषन कार्यालयलाई जानकारी पत्र पठाउने बताए ।
छलफलमा उपस्थित राजनैतिक दलका प्रतिनिधी, उद्योगी व्यबसायी र चिकित्सकहरुले कडा निशेधाज्ञा गरिनुपर्ने बताएपछि नगर प्रमुख ओलीले यस सम्बन्धीको निर्णय सुनाएका हुन् ।
उनका अनुसार सोमबार बिहान ५ बजे देखि १७ गते बेलुका १२ बजे सम्म पहिलो चरणमा पूर्ण निषधाज्ञा गरिने छ । औषधि पसलमा औषधि किनबेच बाहेक अन्य सबै प्रकारका पसलहरु पूर्ण रुपमा बन्द गरिने गरिको निशेधाज्ञा हुनेबारेमा उनले निर्णय सुनाएका हुन् ।
कोरोनाको चेन ब्रेक गर्न १४ दिन निषधाज्ञा आवश्यक पर्ने भएपनि पहिलो चरणमा ७ दिन र त्यस पछिको अवस्था हेरेर थप ७ दिन पनि निषेधाज्ञा गरिने उनले बताए ।
झापाको कन्काई र बुद्धशान्तिले सम्भावित जोखिमलाई ख्याल गर्दै नगरलाई पुर्ण सिल गर्दै लकडाउनको निर्णय गरिसकेकाछन् । लकडाउनमात्र समस्याको सामधान नभएपनि खोपको शुनिश्चितता र आधारभूत स्वास्थ्य मापदण्ड समेत पालना गराउन जोड दिनुपर्ने छलफलमा सहभागीहरुले सुझाव दिए ।
दमकमा शनिबार ६३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयद्धारा जारी गरिएको विवरण पत्रमा उल्लेख गरिएको छ ।