संखुवासभा । सिलिचोङ गाउँपालिका वडा नं. १ सिसुवाखोलामा खसेर एक पुरुषको मृत्यु भएको छ । शनिबार दिउँसो २ः३० बजे सिसुवाखोला स्वास्थ्य चौकी सार्ने क्रममा भिरबाट खोलामा खस्दा मृत्यू भएको हो ।
गाउँपालिका वडा नं. १ चेप्चेवादेखि बुखल्टुममा सारिएको स्वास्थ्य चौकीको सामान बोकेर जाने क्रममा सानोबाट भई जाँदा सिसुवा, केवाडाँडाका २१ बर्षिय दिनेश राईको मृत्यू भएको स्थानीय सन्तोष कुलुङले जानकारी दिए । चेपचेवा भिरको बाटोबाट बखल्टुम नयाँ निर्माण भएको स्वास्थ्य चौकीको काठको टेबल बोकेर जाँदा भीरबाट करिब २ सय मिटर तल खसी उनको ज्यान गएको हो ।
स्वास्थ्य चौकी तर्फ जाँदै गर्दा सागुँरो सडकभएको कारण सिसुवा खोलाको दहमा खसि डुबि मृत्यू भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शुभेष अधिकारीले बताए । घटनाको खबर प्राप्त हुन साथ सिसुवाटार प्रहरी टोली खटि गई घटनास्थल सुरक्षित गरिएको साथै थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालयबाट सहितको टोली खटि गएको उनले बताए ।
गत बर्षको असार २७ गते गएको भिषण पहिरोका कारण चेप्चेवामा रहेको स्वास्थ्य चौकीमा क्षति पुराएपछि सार्ने प्रकृया अगाडी बढाईएको थियो । बखल्टुममा निःशुल्क जग्गा प्राप्त भएपछि अस्थायी टहरो बनाएर स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य चौकी सारिएको हो ।
वडा नं. १ सिसुवाखोलाका वडाध्यक्ष अलक्ष्य कुमार राईका अनुसार चेप्चेवा गाउँ नै विस्थापित भई बखल्टुममा स्थायी पुनःर्वासको प्रकृया अगाडी बढाईएको थियो । गएको बर्ष पहिराले गाउँ नै विस्थापित हुनुका साथै नयाँ व्यवस्थापनको लागि स्थानीय सरकार डटेर लागेको छ । चेप्चेवासंगै सिसुवाखोलाका बेसिन्दा गाउँ पनि विस्थापित भएको छ ।