धरान / धरानबाट प्रकाशित प्रबोध साप्ताहिक पत्रिका ११ वर्ष प्रवेश गरेको अवसरमा ब्लाष्टकर्मी खिलानाथ विश्वकर्मासहित ३ जना क्रियाशील पत्रकार र १ जना साहित्यकारलाई नगदसहित सम्मान गरिएको छ ।
ब्लाष्ट टाइम्स दैनिकका खिलानाथ विक, दिव्य रोशनी साप्तहिकका सागर सिञ्जाली र कृति टेलिभिजनकी मौसमी कार्कीलाई नगद ५ हजारसहित सम्मान–पत्रले सम्मानित गरिएको हो । प्रबोध साप्ताहिक पत्रिकाका सम्पादक लम्जेल सङ्घर्षशीलका बुबा रेशबहादुर लम्जेलको वार्षिक स्मृतिमा स्थापना गरिएको ‘रेशबहादुर लम्जेल खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’ बाट विकलाई प्रदान गरिएको हो ।
पत्रिकाका प्रधान सम्पादक प्रकाशक जमुना श्रेष्ठका आमाबुबाको वार्षिक स्मृतिमा ‘विष्णु–नन्द स्मृति सिर्जनशील पत्रकारिता पुरस्कार’ सिञ्जालीलाई प्रदान गरिएको हो । पत्रिकाका सल्लाहकार गजेन्द्र लम्जेलकी आमाको वार्षिक स्मृतिमा स्थापना गरिएको ‘पदमकुमारी लम्जेल स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार कार्कीलाई प्रदान गरिएको हो ।
साहित्यकार एवम् साप्ताहिक पत्रिकाका सल्लाहकार गणेशकुमारी राईकी आमाको वार्षिक स्मृतिमा ‘मतीश्वरा राई स्मृति साहित्यिक पुरस्कार–२०७८’ इटहरीकी कवयित्री लता कार्कीलाई प्रदान गरिएको हो । उनलाई पनि नगद ५ हजारसहित सम्मान–पत्र प्रदान गरिएको सम्पादक लम्जेल सङ्घर्षशीलले जानकारी दिए । वार्षिक उत्सवकै अवसरमा पत्रिकामा समूहका आफन्तजनको सामूहिक वार्षिक स्मृति एवम् सम्मान कार्यक्रम गरेको पत्रिकाको प्रकाशक, प्रधान सम्पादक जमुनादेवी श्रेष्ठले बताइन् ।
कार्यक्रमका प्रमख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले धरानका साप्ताहिक पत्रिकामा पनि प्रबोध र दिव्य रोशनीले विभिन्न रचनात्मक कार्य गर्दै संस्थागत भूमिका निर्वाह गरेको बताए । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य दीपेश राई, नेकपाका नेता त्रिलोचन लोहार, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई साथै विभिन्न राजनीतिक दलका नेतृत्व तथा प्रतिनिधि र साहित्यिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
पत्रिकाको अनलाइन संस्करण पनि सञ्चालन रहेको छ । पत्रिकाले १० औं वर्ष पूरा गरी २०७८ साउन १ गतेदेखि ११ औं वर्ष प्रवेश गरेकोे हो । ११ औँ वर्ष प्रवेश गरेको अवसरमा बिहीबार धरानको होटल पूर्वी स्टारमा विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाएको हो । पूर्वका क्रान्तिकारी पत्रकार तथा संस्कृतिकर्मी सहिद डि. कौडिण्यको स्मृति कार्यक्रम पनि गरेको छ ।