विराटनगर। सीमावर्ती क्षेत्र विराटनगर–१७ इस्लामपुर नेपाली भूमिमा निर्माणाधीन नाला निर्माण कार्य भारतले रोकिदिएको छ । भारतीय बजार जोगबनीबाट बगेर आएको पानीले जलमग्न भएर इस्लामपुर क्षेत्र डुबानमा पर्ने भएकोले जमेको पानी निकासको लागि बन्दै गरेको नाला भारतले रोक लगाएको हो ।

भारत विहार राज्यको अररिया जिल्लाको जोगबनी बजारसँग सीमा जोडिएको विराटनगर–१७ मा पर्ने इस्लामपुरमा नेपाली भूमिभित्रै पानी निकास गराउन निर्माण भइरहेको पक्की नाला निर्माणमा भारतीय सीमा सुरक्षा बलले धम्की दिँदै जबर्जस्ती रोक लगाएको वडाअध्यक्ष समीर कमरले जानकारी दिए । इस्लामपुरमा दसगजा नजिकै रहेको सडकमा पक्की नाला बनाउन सुरु गरेपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको उनले बताए ।

एसएसबीले अवरोध गरेपछि अहिले काम रोकिएको उनले बताए । वर्षाको समयमा भारतीय बजार जोगबनीबाट नेपालतर्फ दशगजामा नाला निर्माण गरेर भारतले पठाएको पानीको डुबानबाट जोगिन विराटनगर महानगरपालिकाले इस्लामपुर बस्तीमा नाला निर्माण थालेको थियो । वर्षा सुरु भएपछि इस्लामपुरका एक सय घरपरिवारले पाउँदै आएको सास्तीबाट मुक्त गर्न नेपाली भूमिकै पैनीमा पानी बग्ने गरी नाला निर्माण गरिएको भए पनि भारतीय सीमा सुरक्षा बल र प्रशासनका अधिकारीहरूले धम्की दिँदै नाला निर्माणमा रोक लगाएको वडाध्यक्ष कमरले बताए ।

‘नेपाली भूमिमा जलमग्न भएको पानी निकास गरेर भारतीय भूमि र बस्ती डुबानमा पार्न खोजेको भन्दै भारतीय एसएसबीले गालीगलौज गर्दै हाम्रो भूमिभित्रै बन्दुक तेस्र्याएर नाला निर्माण गर्न अहिलेसम्म दिएको छैन’ स्थानीयबासी कैलाशप्रसाद साहले भने, ‘हप्ता दिनअगाडि नाला बनाएर अहिले इँटाको गारो उठाउन सुरु गरिएको थियो । भारतीय पक्षको एसएसबी आएर अहिले निर्माण कार्यमा रोक लगाएको छ । अहिले आधाकल्चो बनाएर छोडेको छ ।’

उनका अनुसार बन्दुक बोकेका भारतीय सुरक्षाकर्मीहरू आएर अपशब्दले गालीगलौज गर्दै नाला निर्माण नगर्न धम्की दिएपछि दश दिनदेखी नाला निर्माण कार्य ठप्प भएको बताए । भारतीय सुरक्षाकर्मीको डरले नाला निर्माण गर्न डकर्मीहरू आउन नमानेको उनले बताए । ‘नाला बनाउन सुरु गरेको २–३ दिनपछि एसएसबीले धम्की दिएपछि अहिले नाला निर्माण हुन सकेको छैन’–उनले भने ।

एक सय बढी घरपरिवार बसोबास गर्दै आएको इस्लामपुर बस्तीमा नेपालीहरूले  निकासका लागि निर्माण गरेको नालाको पानी दशगजा क्षेत्रसँग जोडिएको नेपाली भूमिको पैनीमा पुग्ने गरेको छ । ‘इस्लामपुरमा जमेको पानी निकास भएर भारतमा गएको परमान नदीमा मिसिन्छ । यसैले उक्त निकासको पानीले भारतीयहरूको  बस्ती र भूमि डुबानमा पार्दैन’ शिक्षक हुदाले भने, ‘नेपालीहरूले आफ्नो पानी भारततर्फ नपठाएको बरु भारतबाटै निकास भएर आएको पानी नेपाली भूमिको पैनीमा बग्ने गरी निकास गर्न नाला निर्माण गरेको हो । हामीले भारतीय पक्षलाई सम्झाउँदा पनि अहिलेसम्म मानेका छैनन् ।’

उनीहरूले एकोहोरो जसरी पनि नाला निर्माण गर्न रोक्नुपर्ने भन्दै नेपाली भूमिभित्रै नाला बनाउन नदिएको स्थानीय महमद इनाम मियाँले बताए । ‘भारतको जोगवनीदेखि हाम्रो नेपालतिर आएको पानीले इस्लामपुर क्षेत्र जलमग्न हुने गरेको छ । त्यही पानी हाम्रै जमिन हुँदै निकास गर्न नाला निर्माण गर्छु भन्दा नदिनु भारतीय दादागिरीशैली हो’ उनले भने, ‘अहिले पनि जोगबनीको पानी  दशगजा क्षेत्रमा नाला निर्माण गरेर  भारतले मटेर्वा नाका, राइसमिल, रामसेवी र इस्लामपुर टोलमा पठाइरहेको छ ।’ भारतबाट आएको पानीले गर्दा नै सीमा क्षेत्रका नेपाली बस्ती बर्सेनि डुबानमा पर्दै आएका छन् । तर, उक्त कार्यको नेपाल प्रशासनले आजसम्म न कुनै रोक लगाएको छ, न त विरोध नै जनाएको छ ।

भारतले दशगजामा नाला निर्माण गरेर पठाएको पानीले गर्दा यहाँका स्थानीयबासी बर्र्सेनि डुबानमा पर्दै आएको भए पनि स्थानीय सरकारले कुनै पहल नगरेको उनीहरूको गुनासोे छ । सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीले जोगबनी बजारको पानी नेपालतर्फ पठाउने कार्य तुरुन्त रोक लगाउनु पर्ने र नेपाली भूमिभित्र नाला निर्माण कार्य खुल्ला गराउन प्रशासनले तुरुन्त पहल गर्नुपर्ने माग गरेका छन् । विराटनगर–१७ र १८ नम्बर वडामा पर्ने जोगबनी बजारसँग जोडिएको सीमावर्ती बस्तीहरू इस्लामपुर, राइसमिल र रामसेवी टोलमा तीन सय बढी घरपरिवार बसोबास गर्दै आएका छन् ।

नेपाली भूमिभित्रै नाला निर्माणमा भारतीयले रोक लगाएको वडाध्यक्षमार्फत् गुनासो आएपछि मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि निरीक्षण गरेका छन् । उनले चाँडै भारतीयहरूसँग वार्ता गरेर निर्माण कार्य सुचारु गराउन पहल गर्ने बताएका छन् । तर, दश दिन बितिसक्दा पनि भारतीयसँग कुनै वार्ता नहुँदा निर्माण कार्य ठप्प छ ।

‘भारतीयहरूले अझै वार्ता गर्न चाहेका छैनन् । मोरङका प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘भारतीयहरूले छलफल गरौंला भनेका छन् । तर, भएको छैन । भएपछि समाधान निकाल्नेछौं ।’ वडाध्यक्ष समिमले वार्ता गरेर समाधान निकाल्ने भन्दै सिडिओले दिएको आदेशअनुसार आफूहरूले निर्माण कार्य रोकेको बताए । वार्तामा ढिलाइ भए आफूहरूले नेपाली भूमिमा निर्माण कार्य अगाडि बढाउने उनले बताए । ‘छलफलदेखि समाधान खोज्ने सिडिओ साहेबले भनेपछि हामीले काम रोकेका हौं । नत्र हामी भारतीयको धम्कीले टेर्ने थिएनौं’–वडाध्यक्ष समिमले भने ।