धनकुटा। किराँत राई साँस्कृतिक कलाकार संघ केन्द्रिय समितिले विश्वव्यापी रुपमा आयोजना गरेको अनलाइन कोङकोङमा (विनायो) वादन खुल्ला प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।

पहिलो पटक विश्वव्यपी अनलाइनको माध्यमबाट आयोजना गरिएको प्रतियोगितामा झापाका बल बहादुर राई प्रथम भएका छन् भने खोटाङकी पम्फा खालिङग राई दितिय र ओखलदुङ्गाकी जीतुमाया राई तृतिय भएकी छन् । उक्त प्रतियोगितामा झापाकी मन कुमारी राईले सान्त्वना पुरस्कार पाएकी छन् ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद १६ हजार, द्धितिय हुनेलाई १० हजार, तेश्रो हुनेलाई ७ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी सान्तवना–२ र जेष्ठ सहभागी २ जनालाई जनही ५ हजारको दरले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

"मानव सभ्यताको प्र्रतिक हो, कला र संस्कृति" भन्ने मूल नाराको साथ आयोजना गरिएको प्रतियोगी मध्ये जन्तेदुङग गाउपालिका वडा नं ६ आहाले खोटाङकी ९५ बर्षिय विष्णुमाया राई र हलेसीतुवाचुङ नगरपालिका ५ खोटाङकी ९२ बर्षिय देशलक्षी राईलाई  ज्येष्ठ नागरिक सम्मानबाट सम्मान गरिएको थियो ।

प्रतियोगितामा नेपाल लगायत विभिन्न देशका १ सय ११ जनाले सहभागिता जनाएका थिए । बरिष्ठ गायक, संगितकार तथा साहित्यकार गणेश रसिक राईको प्रमुख आथिथ्यमा सम्पन्न फाइनल प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको थियो । बरिष्ठ गायक तथा संगितकार जितेन राईको संयोजकत्वमा गठित निर्णायक मण्डलका सदस्यहरु किराँत राई साँस्कृतिक कलाकार संघका पूर्व अध्यक्ष पार्वती राई र निवर्तमान अध्यक्ष राजु एन राईको टिमले सो नतिजा घोषणा गरेका थिए ।

किराँत राई साँस्कृतिक कलाकार संघका अध्यक्ष रामकर राईले लोपोन्मुख अवस्थामा रहेको पूर्खाको नासोलाई युवा पुस्तामा हस्तान्तरण गर्नु, कोङकोङमा बाजालाई प्रबद्र्धन गरी दस्तावेजीकरण गर्दै विश्वमा चिनाउनु, कोङकोङमा किराँती समुदायको सभ्यतासँग नजिक रहेको बताए ।

राईले यस वाजालाई हाम्रा पुर्खाले अपनत्व कायम गर्दै आएको भन्ने दावी गर्न किराँत राई साँस्कृतिक कलाकार संघले कार्यक्रमको आयोजना गरेको दावी समेत गरे । संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन चाम्लिङ राईले यो बाजा कुन उमेर समुहमा लोकप्रिय छ भन्ने विषयमा अध्ययन अनुसन्धान गर्न, कोङकोङमा धुनलाई डकुमेन्टेसन गर्न र कोङकोङमा बाजाको प्याटेन राइटको अधिकार प्राप्त गर्ने अभियानको रुपमा यो कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे ।

कार्यक्रममा संस्थापक अध्यक्ष जितेन राईले कोङकोङमा सम्बन्धि अवधारणा पत्र प्रस्तुत गरेका थिए भने विशेष अतिथि किराँत राई यायोक्खा केन्द्रीय समितिका महासचिव जनक राई, अक्षयकोषदाता युवाराज राई,  किराँत राई यायोक्खा बाग्मती प्रदेशका संयोजक सुमन राई, बम्बुले राई समाजका अध्यक्ष गजुरधन राई र प्रदेश नं १ का प्रदेश सदस्य विनादेवी राई लगायतका बक्ताहरुले बधाई सहित मन्तव्य राखेका थिए ।

कार्यक्रममा किराँत राई साँस्कृतिक कलाकार संघका उपाध्यक्ष सालिक शतासक राईले स्वागत मन्तव्य राखेका थिए भने सचिव सुरज मेवाहाङ राईले प्रतियोगितामा सहभागी,सहयोगी संघ संस्था र व्यक्तिालाई प्रदान गरिएको प्रमाणपत्र वाचन गरेका थिए ।