विजयपुर।  जिल्ला प्रशासन कार्यालय सुनसरीले तत्काल कडा निषेधाज्ञा नहुने जनाएको छ । साथै हाल भइरहेको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै साउन–१० गतेसम्म थप गरेको छ ।

सरकारले राजस्व असुल्नका लागि निषेधाज्ञा खुकुलो बनाएको र असार अन्तिमसम्म असुल गरिसकेर पुनः पूर्ण निषेधाज्ञा हुन्छ भन्ने हल्ला चलेको थियो । तर, जिल्ला प्रशासन कार्यालय सुनसरीले तत्काल पूर्ण निषेधाज्ञा नहुने बताएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीका सूचना अधिकारी महेशकुमार पोखरेलले भने, ‘नागरिकको बुझाइ सरकारले राजस्व असुल्न खोलेको अनि असुल गरेर पुनः निषेधाज्ञा गर्छ भन्ने छ तर, अहिले निषेधाज्ञा हुँदैन ।’

धरानमा भने निषेधाज्ञा खुकुलो भएसँगै कोरोना भाइरसका सङ्क्रमित अत्यधिक वृद्धि भएको बताउँदै धरानमा भाइरस नियन्त्रण गर्नेबारे नगर प्रमुखसँग छलफल गरेर निर्णय गर्ने बताए । उनका अनुसार धरानमा अझै सङ्क्रमित वृद्धि हुँदै गएमा यातायातका साधनको आवागमनलाई बन्द गर्न सकिनेछ । उनले भने, ‘अहिले नगर प्रमुख बाहिर भएकाले निर्णय गरिएको छैन, आएपछि एउटा निर्णय गर्नुपर्छ ।’

प्रशासनले सुनसरी जिल्लामा भइरहेको निषेधाज्ञालाई फेरबदल गरी अझै खुकुलो बनाएर साउन–१० गतेसम्म थप गरेको छ । सूचना अधिकारी पोखरेलले यातायातका साधन सबै चलाउन दिने बताएका छन् । अर्थात् यातायातका साधनमा भएको जोरबिजोर प्रणाली हटाएको छ । साथै पसलहरू बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न दिइने भएको छ ।

मेला, हाट, गुद्री, सब्जीमण्डीमा भीडभाड हुन नदिने निर्णय गरेको छ । प्रशासनले थोकबजार बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको हो । राजमार्ग छेउछाउका होटल तथा रेष्टुरेण्टहरूलाई स्वास्थ्यका न्यूनतम् मापदण्ड पूरा गरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न दिने भएको छ ।

प्रशासनले औषधि, खाद्यान्न, तरकारी, इन्धन, डेरी, मासुजन्य तथा बिउविजनका पसलहरू दिनभरि खोल्न दिने भएको छ । सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, डान्स बार, जिमखाना, खेलकुदलगायतलाई निषेध गरिएको छ । धेरैमा २५ जनासम्म सहभागी हुने गोष्ठी, तालिम, बैठक, समीक्षा, प्रशिक्षणलगायत कार्यक्रमहरू सञ्चालन गर्न भने पाइनेछ ।