विराटनगर/जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जिल्लाभर असार २८ गते मध्यरातिसम्मका लागि दशौं पटक निषेधाज्ञा अवधि थप गरेका हुन् ।

मंगलबारदेखि  मोरङमा जोर–बिजोरका आधारमा सार्वजानिक र निजी गाडी सञ्चालन हुने भएको जिल्ला प्रशासन कार्यालय मोरङ साहयक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी  महेशराज तिम्सिनाले जानकारी दिए ।

निषेधाज्ञा अवधिभरि सबै किसिमका पसलहरु बिहान ५ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिने र सार्वजानिक र निजी सवारी साधन जोर बिजोर प्रणाली लागू गर्ने सोमबार बिहान बसेको सिसिएमको बैठकले निर्णाय गरेको सूचना अधिकारी तिम्सिनाले जानकारी दिए ।

यसअघि ४ बजेसम्म  मात्र पसलहरू खुल्ला गर्ने निर्णाय प्रशासनले गरेको थियो । शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न भने नपाउने उनले बताए ।

अस्पतालहरुमा कोरोना संक्रमितको संख्या घटेकोले पसलहरु सञ्चालनमा केही खुकुलो पारिएको तर संक्रमणको जोखिम यथावतै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड सबैलाई अपनाउनु पर्नेछ । 

मोरङ प्रशासनले सरकारले हालै जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम प्रशासनले कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको छ ।

कोभिड १९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।