पाँचथर / यासोक—पछिल्लो कोरोना माहामारीको कारण दुर्गम क्षेत्रमा त्रास फैलिएको छ । सुविधा सम्पन्न अस्पताल र भरपर्दो सडक संजालबाट बञ्चित नागरिक गाउँ—गाउँमै संक्रमित भएर बस्न बाध्य छन । यस्तो अवस्थामा अक्सिजन सहित स्वास्थ्य सामाग्री दुर्गम क्षेत्रमा सहजै पुग्न सकेको छैन । गाउँ—गाउँमा फैलिरहेको संक्रमण रोकथाम तथा न्यूनीकरण गर्न प्रवासी युवाहरु र बिभिन्न संघ सस्थाहरु सकृय भएका छन ।

यसैको उदाहरण हो पाँचथरको कुम्मायक गाउँपालिका । एक महिना अघि मात्रै कुम्मायक —२ का गजेन्द्र शेर्माले २ लाख १६ हजारको व्यक्तिगत लगानीमा वडा वासीलाई स्वास्थ्य सामाग्री बितरण गरे ।

काम खोज्दै दक्षिण कोरिया पुगेका शेर्माले अक्सिजन, सेनिटाइजर र माक्स वडा बासीलाई बितरण गर्न सफल भएका थिए । त्यसको ठीक एक महिनापछि “कुम्मायक गाउँपालिका सरोकार मञ्च दक्षिण कोरियाका युवाहरुले रकम संकलन गरी बिहिबार गाउँपलिकालाई ३ लाख बढि मुल्यको स्वास्थ्य सामाग्री सहयोग गरेको छन ।

युवाहरुले गाउँपालिकालाई ३ लाख ४७ हजार २ सय १२ रुपैयाँको १० थान अक्सिजन, सेनिटाइजर, माक्स लगायत सामाग्री सहयोग गरेका छन । त्यस्तै ५ वटै वडालाई ५१ हजार मुल्यको औषधी गरी ३ लाख ९८ हजार २ सय १२ रुपैयाँको स्वास्थ्य सामाग्री बितरण गरेको मञ्चका कुम्मायक प्रतिनिधि हुकुमबीर लावतीले बताए ।

yasok koreya

यासोक—देउराली समाज काठमाण्डौंको समन्वयमा मञ्चले स्वास्थ्य सामाग्री पालिकालाई हस्तान्त्रण गर्न सफल भएको लावतीले बताए । माहामारीको समयमा गाउँपालिकावासी नागरिकको जीवन रक्षा गर्न सहयोग गरिएको मञ्चले जनाएको छ ।  

युवाहरुले बैदेशिक रोजगारीबाट स्वास्थ्य सामाग्री जुटाउँदै गर्दा देश भित्र रहेका बिभिन्न संघ सस्थाले पनि सहयोग गर्न थालेका छन । बुधबार मात्रै यासोक—देउराली सरोकार सेवा समाज काठमाण्डौंले ५ लाख मुल्यको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

समाजको समन्वयमा अभियान संचालन गरी स्वास्थ्य सेवा बिभाग मार्फत ४ लाख ४० हजारको अक्सिजन सहितका स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको समाजका राहत बितरण समिति सम्योजक भीम सम्बाहाम्फेले बताए । त्यस्तै समाजको तर्फबाट ६० हजार बराबरको स्वास्थ्य सामाग्री पनि सोही दिनै गाउँपालिकालाई हस्तान्त्रण गरेको छ । हस्तान्त्रण गरिएको स्वास्थ्य सामाग्री कुम्मायक गाउँपालिका र फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ६ र ७ लाई प्रदान गरिएको सम्बाहाम्फेले जनाए । 

स्थानीय सरकारलाई सहयोग गर्न दाताहरुले बर्खाको हिलाम्मे सडकबाट स्वास्थ्य सामाग्री ढुवानी गर्दै आएका छन । बर्खाको समयमा समेत कोरोना भाइरस कोभिड १९ को माहामारी रोक्न गाउँपालिकालाई गरेको सहयोग उदाहरणी रहेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताए । यस अघि जिल्ला रेडक्रस सोसाइटी, सु—आहारा, वान हट लगायत सरकारी तथा गौरसरकारी संघ सस्थाहरुले गाउँपालिकालाई स्वास्थ्य सामाग्रीको सहयोग गरेका थिए । माहामारीको समयमा सहयोग गर्ने दाताहरुको प्रशंसा गर्दै चेम्जोङले निरन्तर सहयोगको अपेक्षा गरे । 

गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा न्यूनीकरण गर्न एटिजेन परिक्षण, पिसिआर, अक्सिजन र कोभिड अस्पतालदेखि आइसुलेसन कक्षको समेत व्यवस्थापन गर्दै आएको छ ।