विराटनगर। प्रदेश १ को राजधानी विराटनगरमा निर्माण सम्पन्न भएको पिच सडकमा एकपछि अर्को गर्दै मान्छे छिर्ने ठूला– ठूला भ्वाङ पर्न थालेको छ । 

कालोपत्रे भएको वर्ष दिन पनि पूरा नभएका विराटनगर महानगरपालिका भित्रका पिच सडकहरूमा एकपछि अर्को गर्दै भ्वाङ पर्न थालेको हो । 

एशियाली विकास बैङ्कको सहयोगमा विराटनगर महानगरपालिकामा सञ्चालित मझौला सहरको एकीकृत सहरी वातावरणीय सुधार परियोजना अन्तर्गत निर्माण भएको पिच सडकमा अहिले समस्या देखिन थालेको छ ।

वर्ष दिन पनि पूरा नभएको विराटनगर–७ उच्च अदालतअगाडिको पिच सडक १८ दिनको फरकमा दुईवटा ठूला– ठूला भ्वाङ परेको छ । जेठ २८ गते विराटनगर–७ गएली मार्ग मोरङ अदालतको पूर्वी गेटअगाडि सडकमा ठूलो भ्वाङ परेको १८ दिनपछि सोही सडकको उच्च अदालतअगाडि नर्सिङ क्याम्पसको छेउमा ७ फिट गहिरो भ्वाङ परेको विराटनगर–७ का स्थानीय प्रेम श्रेष्ठले जानकारी दिए ।
‘सडक निर्माणको क्रममा ठेकेदार कम्पनीले राम्रोसँग रोलिङ नगरेको कारणले एकपछि अर्को गर्दै कालोपत्रे गरिएको सडकको बीचमा ठूलो भ्वाङ परेको छ’ उनले भने, ‘यसअघि पनि उच्च अदालतदेखि करिब ५० मिटर उत्तरमा मान्छे छिर्ने ठूलो भ्वाङ परेको थियो । सोही प्रकृतिको भ्वाङ अहिले उच्च अदालतअगाडि पिच सडकमा परेको छ ।’ यहाँका स्थानीयले ठेकेदार कम्पनीले लापरबाहीपूर्ण तरिकाले सडक बनाएको कारण वर्ष दिन नपुग्दै पिच सडकमा भ्वाङ परेको आरोप लगाएका छन् । 

दुर्घटना भयो भने भ्वाङ परेको पिच सडकभित्र मान्छे सोझै मुनि छिर्ने रहेको छ । ‘कालोपत्रे भएको ७–८ महिना भएको छ । वर्ष दिन पूरा नहुँदै पिच सडकमा भ्वाङ परेको छ’–उनले भने । भ्वाङ परेको पिच सडकमा अहिले ठेकेदार कम्पनीले एक ट्याक्टर मिक्स गिट्टी ल्याएर भ्वाङ टालटुल पारेको छ । 

दोस्रो चरणमा क्षेत्रीय सहरी विकास परियोजना (आरयुडिपी) अन्तर्गत सन् २०१७ नोभेम्बरमा यो परियोजना सुरु भएको हो । उक्त परियोजनातर्फ फुटपाथ नालासहित ७५.२८  किलोमिटर पिच सडक निर्माण सम्पन्न भई अहिले हस्तान्तरणको चरणमा रहेको छ । सो परियोजना ३ अर्ब ६१ करोडको हो । उक्त परियोजना अन्तर्गतको ठेक्का आशिष निर्माण सेवाले लिएको छ । वर्ष दिन पनि नहुँदै पिच सडकको बीचमा भ्वाङ परेपछि स्थानीयले ठेकेदार कम्पनीले गुणस्तरहीन सडक बनाएको आरोप लगाएका छन् । एक वर्ष पनि नहँुदै पिच सडक भासिनु र भ्वाङ पर्नुले गुणस्तरहीन काम गरेको प्रमाणित हुन्छ ।

यसअघि पनि विराटनगर–१० तीनटोलीयास्थित पीपलचोकमा पनि एउटा पिच सडकमा टिपर अचानक भासिएको थियो । कालोपत्रे गरिएको सडकमा गुडेको टिपरको पछाडिको दुवै चक्का सडकमा भासिएको थियो । निर्माणमा कमसल सामग्री प्रयोग गरिएका कारण टिपरको वजन थेग्न नसकेपछि चक्का भासिएको हो । त्यस बखत निर्माण कम्पनी आशिष निर्माण सेवाले पुनः मर्मत गरेको थियो ।

प्राविधिक काम र त्यसको अनुगमनको पाटो दुरुस्त नभएकै कारण सडकमा गुडिरहेका गाडीहरू यसरी धमाधम भासिन र भ्वाङ पर्न थालेका दृश्यहरू देखिन थालेका छन् ।

सन् २०२२ फेब्रुअरी १२ तारिखसम्ममा परियोजना अन्तर्गत निर्माण भएका सडक र नाला बिग्रिएको खण्डमा पुनः मर्मत सम्भार निर्माण कम्पनीले गर्नुपर्ने हुन्छ । क्षेत्रीय सहरी विकास परियोजना कार्यान्वयन इकाई विराटनगर महानगरपालिकाको प्रोजेक्ट म्यानेजर इञ्जिनियर भरत न्यौपाने क्यान्ट्याक्ट फेसमा रहेकोले कुनै पनि सडक भत्किए, उप्किए निर्माण कम्पनीले मर्मत सम्भार गर्नुपर्ने बताए । ‘अहिले वर्ष दिनको मर्मत सम्भार अवधि रहेको छ । त्यसबीचमा परियोजनाभित्रको कुनै पनि सडक बिग्रिए निर्माण कम्पनीले जिम्मा लिएर पुनः मर्मत सम्भार गर्नुपर्ने हुन्छ’–उनले भने ।

ढलको नाला लिकेजको कारण भ्वाङ
विराटनगर–७ उच्च अदालतअगाडिको पिच सडकको बीचमा भ्वाङ पर्नुको कारण जमिनमुनि रहेको ढल प्रणालीको नाला लिकेज भएको कारणले समस्या आएको प्राविधिकहरूले बताएका छन् ।

विराटनगर महानगरपालिकाभित्र परियोजना अन्तर्गत ७५ किलोमिटर सडक पिच भइसकेको छ । पिच भएको विराटनगर–७ अदालतअगाडि बाहेकको सडकदेखि अन्य क्षेत्रमा समस्या अहिलेसम्म नदेखिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाईले जनाएको छ ।

‘अदालतअगाडि सडकमा दलदले माटो रहेको थियो । निर्माण कम्पनीले राम्री रोलिङ लगाएर ४० एमएमको कालोपत्रे सडक बनाएको हो’ परियोजनाका व्यवस्थापक इञ्जिनियर भरतकुमार न्यौपानेले भने, ‘ढल प्रणालीको नालामा समस्या आएको कारणले भ्वाङ परेको प्रारम्भिक जानकारी आएको छ ।’ 

यता आशिष निर्माण कम्पनीका ठेकेदार तथा प्राविधिक रोविन्द्र ठाकुरसँग पिच सडकमा के कारणले भ्वाङ परेको हो भन्ने विषय बुझ्न बारम्बार सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।