विजयपुर । सङ्घीय लिम्बुवान मञ्च नेपालले जोगवनी–किमाथाङ्का राजमार्गको मापदण्ड ७६ फिट कायम गर्न माग गरेको छ ।

आइतबार मञ्चले उपमहानगर प्रमुख तिलक राईलाई ज्ञापन–पत्र बुझाउँदै ७६ फिट हुनुपर्ने माग गरेको हो । मञ्चका सुनसरी अध्यक्ष अमर इजम लिम्बूद्वारा हस्ताक्षरित ज्ञापन–पत्रमा मापदण्डको विषयमा धरानका राजनीतिक दलहरूको आ–आफ्नो पार्टीको चुनावी एजेण्डा बनाउँदै बखेडा झिकी पार्टीको अवधारणाको रूपमा अवैज्ञानिक ढङ्गले प्रस्तावित गर्दै आएको उल्लेख छ ।

गतवर्षकै नीति तथा कार्यक्रममा ८० फिट कायम गर्ने निर्णय पारित भए पनि राजनीतिक दलको विवादका कारण कार्यान्वयन नभएको ज्ञापन–पत्रमा उल्लेख छ ।

ज्ञापन–पत्रमा नेकपा (एमाले) ले ८० फिटको मापदण्ड र नेपाली काङ्ग्रेसले ७२ फिटको मापदण्डको प्रस्ताव गरेको भन्दै मञ्चले ७६ फिटको कायम गर्नुपर्ने प्रस्ताव गरेको छ ।

८० र ७२ फिटको खिचातानीले समयमा सडक निर्माण कार्य सम्पन्न हुन नसक्ने भन्दै पार्टीको अन्तरद्वन्द्वले विकास परियोजनाहरू अवरुद्ध नगर्न पनि माग गरेको छ । स्थानीय सरकारले आफ्नो प्रक्रिया सुरु गरी सडक विभागसँग समन्वय गरी ७६ फिट कायम गरे सर्वस्वीकार्य हुने उल्लेख छ ।

राजमार्ग किनाराका नागरिकको निजी सम्पत्ति भोगचलन गर्ने  पूर्ण अधिकारमाथि स्थानीय सरकारले रोक लगाउन नमिल्ने पनि ज्ञापन–पत्रमा उल्लेख गरेको छ ।