इनरुवा। अवधि एक साता बढाइएपनि सुनसरीमा जारी निषेधाज्ञालाई भने खुकुलो बनाइएको छ । 

आज बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञाको अवधि थपेर असार २२ गते मध्यराती सम्म पुर्याएको छ । यद्यपि, सो बैठकले निषेधाज्ञा भने खुकुलो पार्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले यस अघिका भन्दा थप लचिला निर्णयहरु गर्दै निषेधाज्ञालाई खुकुलो पार्ने निर्णय लिएको हो । 

जस अनुरुप अब सबै कार्यालयहरु खुला हुने छन् । डीसीसीएमसीको निर्णय सँगै असार १५ गतेबाट सरकारी कार्यालय, संस्थान तथा प्राधिकरण, बैंक तथा वित्तिय संस्था, बिमा एवं राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी संस्था खुल्ने छन् । त्यस्ता कार्यालयबाट प्रदान हुने सेवा भने आलापालो प्रणाली अनुरुप हुनु पर्ने निर्णयमा उल्लेख छ ।

बैठकले स्वास्थ्यको मापदण्ड पालना गरी औषधी र स्वास्थ्य सामाग्री, इन्धन व्यवसाय, खाद्यान्न, डिपार्टमेन्ट स्टोरका ग्रोसरी समेतका साथै तरकारी, फलफुल, डेरी, मासुजन्य तथा बिउविजनका पसल दिनैभर खोल्न दिने निर्णय समेत गरेको छ ।

डिपार्टपेन्ट स्टोर सहित अन्य पसल भने विहान १० देखि ४ सम्म मात्र खोल्न पाइने भनिएको छ । कृषि थोक बजार भने विहानको ४ देखि १० बजे सम्म संचालन गर्न दिइने डीसीसीएमसीको निर्णयमा उल्लेख छ ।

त्यस्तै बैठकको निर्णय अनुसार जिल्लाभरको लागि दुई र चार पाङग्रे निजी सवारीका साधन जोर विजोर प्रणाली अनुसार संचालन गर्न दिइने छ । बैठकले अन्य निर्णय भने पूर्ववत सरह हुने जनाएको छ ।