धनकुटा। असार १० गते पाख्रीबास नगरपालिकाको आठौं नगरसभामा आक्रमण गरी भौतिक सामग्री तोडफोड गर्नेहरूमाथि कारबाहीको माग गरिएको छ ।

शनिबार पाख्रीबास नगरपालिका कार्यालय र नेकपा (एमाले) पाख्रीबास नगर कमिटीले छुट्टछुट्टै पत्रकार सम्मेलन आयोजना गरेर विज्ञप्तिमार्फत् कारबाहीको माग गरेका छन् । नगरपालिकाका प्रमुख वृषबहादुर राईले पत्रकार सम्मेलन आयोजना गरेर नगरसभा सदस्यहरूमाथि हातपात गर्नेहरूलाई कारबाही गर्ने बताए ।

उनले तोडफोडमा ५ लाखभन्दा बढीको भौतिक क्षतिको परिपूर्ति गराउन स्थानीय प्रशासन र प्रहरीलाई विज्ञप्तिमार्फत् अपिल गरेका छन् ।

नगर प्रमुख राईले बजेट विनियोजनमा नगरको वडा नं. ४ को असहमति भएकोले उनीहरूको असहमति नगरसभामा राखेर टुङ्ग्याउनेभन्दा पनि सहमतिमा नआउँदा विवाद चर्किएको बताए ।

वडा नं.४ का वडाध्यक्ष सोभित निरौलाले तोडफोडको अगुवाइ गरेर आफूहरूमाथि आक्रमण गरेको आरोप लगाइएको छ । 

तोकिएको समयमा वडाको बजेट तथा कार्यक्रम नआएपछि स्थानीय सरकार सञ्चालन ऐनअनुसार वडाका बहुमत सदस्यहरूले सिफारिस गरेको आधारमा योजना समावेश गरिएको मेयर राईले जानकारी दिए । यसै सन्दर्भमा नगर कार्यपालिकाले असार ३ गते बजेटको सिलिङ दिएर ६ गतेसम्म वडाको योजना तथा कार्यक्रम पेश गर्न परिपत्र गरेको थियो । 

पटक–पटक आफूहरूले वडाको बैठक बस्न अनुरोध गरे पनि वडा नं.४ का वडाध्यक्ष सोभित निरौलाले बेवास्ता गरेको वडासदस्य कृष्णमाया खड्काले पत्रकार सम्मेलनमा बताइन् ।

अन्तिम समय असार ९ गतेसम्म पनि पटक–पटक बैठक बोलाउन अनुरोध गर्दा पनि बैठक नबसेपछि आफूहरूले बहुमत सदस्यहरूले निर्णय गरेर बाध्यात्मक परिस्थितिमा नगरमा योजना कार्यक्रम पेश गर्नुपरेको वडासदस्य खड्काले बताइन् । बैठकमा सहमति गरेको विषयलाई लिएर वडाध्यक्ष निरौलाले आफूलाई धम्कीपूर्ण व्यवहार गरेको र कालो मोसो लगाइदिने भनेर गाउँमा हल्ला गरेर मानसिक पीडा दिएको ४ नम्वर वडासदस्य शान्तिमाया परियारले रुँदै पत्रकार सम्मेलनमा गुनासो पोखिन् । 

उता नगरप्रमुख राईले पनि वडामा देखिएको समस्यालाई अध्यक्ष र सदस्यहरूको योजनालाई मिलाएर सभाबाट सम्बोधन गर्ने तयारी हुँदाहुँदै आफूहरूमाथि आक्रमण भएको जानकारी दिए । यस घटनालाई लिएर नेकपा (एमाले) पाख्रीबास नगर कमिटीले वडा नं.४ का वडाध्यक्ष निरौलालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

पार्टीका नगर अध्यक्ष शान्तिराम गौतमको अध्यक्षतामा शनिबार पत्रकार सम्मेलन गरेर नेकपा (एमाले) पाख्रीबास नगर कमिटीले उक्त जानकारी दिएको हो ।
‘नेकपा (एमाले) बाट वडाध्यक्षमा निर्वाचित निरौलालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको जानकारी दिइएको थियो ।

विपक्षीहरूसँग साँठगाँठ गरी पार्टीविरुद्ध लागेर सार्वजनिक सम्पत्ति तोडफेड गर्ने योजनाकार निरौलाको अध्यक्ष पदको खारेजीका लागि समेत निर्वाचन कार्यालयलाई माग गरेको नगर कमिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।