लक्ष्मीमार्ग । सयौं घरपरिवारको गुजारा चल्दै आएको मोरङका विभिन्न स्थानमा पाइने निगुरोबारे नयाँ बहस सुरु भएको छ । 

मोरङको कानेपोखरी, लेटाङ, भाउन्ने, लक्ष्मीमार्गलगायतका सामुदायिक वनमा प्रशस्त मात्रामा पाइने निगुरो काठमाडौंसम्म पुग्ने गरेको छ । यहाँको निगुरो एक प्रकारले हरेक नागरिकको जिब्रोमा झुण्डिएको अवस्था छ ।

आजकाल यहाँको निगुरोलाई ‘ब्राण्डिङ’ गर्नुपर्ने तर्कहरू यदाकदा उठ्न थालेका छन् । वनमा निगुरो टिप्न बिहानैदेखि सयौंको सङ्ख्यामा पुग्ने गरेका छन् । धेरैको गुजारा यसैबाट चलेको छ । यस विषयमा स्थानीय सरकारहरूले पनि ध्यान दिएका छैनन् । 

कृषि मन्त्रालय प्रदेश १ का प्रवक्ता राजेन्द्र उप्रेतीका अनुसार हालसम्म मन्त्रालयमा निगुरो बिक्रीको विषयमा कुनै पनि तथ्याङ्क छैन । व्यावसायिक हिसाबले किसानद्वारा उत्पादित वस्तुको मात्रै मन्त्रालयले तथ्याङ्क राख्ने गरेको उनले बताए । उनले भने, ‘पत्रपत्रिकामा आएको समाचारलाई आधार मान्दा वार्षिक एक करोडभन्दा बढीको निगुरो काठमाडौं पुग्ने गरेको अनुमान गर्न सकिन्छ ।’

निगुरो व्यवसाय गर्दै आएकी भद्रमाया भट्टराईका अनुसार चैतको दोस्रो साताबाट निगुरो टिपेर बिक्री गर्ने गरिएको छ । बेलबारी नगरपालिका–१० भाउन्नेमा विगत २८ वर्षदेखि निगुरोको व्यापार गर्दै आएकी भद्रमायाका अनुसार पहिला बजारको खोजीमा इटहरी, दमक, बिर्तामोड पु¥याउने गरिएको थियो । तर, अहिले काठमाडौंसम्मका व्यापारी आएर निगुरो लाने गरेको उनी बताउँछिन् ।

उनले १० जनाको परिवार निगुरो बेचेरै चलाउँदै आएकी छन् । भाउन्नेकी गीता दर्जी र मनमाया दर्जीले बिहानैदेखि जङ्गलमा गएर निगुरो टिपेर बिक्री गर्दै आएका छन् । उनीहरूले भने निगुरो बिक्री गर्ने पसलेहरूलाई दिने गरेका छन् । दैनिक यस स्थानबाट पाँच पिकअप निगुरो काठमाडौं जाने गरेको स्थानीय निगुरो व्यापारी बताउँछन् ।

निगुरो टिप्नेहरूले एकजनाले दैनिक ४ सयदेखि ६ सय रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । गत वर्ष र यस वर्ष कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि भने निगुरो निकासी लगभग ठप्प जस्तै भएको व्यवसायी बताउँछन् । अग्र्यानिक सब्जीको रूपमा रहेको निगुरोको ‘ब्राण्डिङ’ गर्न आवश्यक रहेको सिर्जना सामुदायिक वनका अध्यक्ष छत्र लिम्बूले बताए ।

विशेषगरी जनसेवा सामुदायिक, कमलपुर सामुदायिक वन, सिंहदेवी सामुदायिक, सिर्जना र लक्ष्मी सामुदायिक वनमा दैनिक निगुरो टिप्ने गरेका छन् । विद्यालय तहमा पढ्दै गरेका तथा कलेजस्तरमा पढ्दै गरेका विद्यार्थीले समेत बिदाको समयमा निगुरो टिपेर पढाइ खर्च जुटाउने गरेका छन् ।