धरान । सुनसरीको रामधुनी नगरपालिका १ स्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।
नम्बर नखुलेको सवारीले प्र ३–०२–००९ प ८४१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ हसनदहका ३५ वर्षीय पूर्णबहादुर कार्कीको निधन भएको हो । गम्भीर घाइते बनेका उनलाई उपचारको लागि इटहरीस्थित एपेक्स हस्पिटलमा पठाइएकोमा त्यहाँबाट थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएकोमा उपचारको क्रममा निधन भएको थियो ।
मोटरसाइकल प्रहरी चौकी झुम्काको नियन्त्रणमा लिइएको छ भने ठक्कर दिने सवारीको खोजी भइरहेको छ । तर, के कुन सवारीले ठक्कर दिएको हो भन्ने खुल्न नसकेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । तीव्र गतिका कारणले दुर्घटना भएको जनाइएको छ ।
त्यस्तै धरान ८ स्थित तीनकिनेभन्दा तल कोशी राजमार्गबाट विराटनगरतर्फ गइरहेको प्रहरीको गाडीलाई स्कुटरले ठक्कर दिँदा स्कुटरमा सवारहरु सामान्य घाइते बनेका छन् । प्रदेश १ तालिम केन्द्रका एसपी सवार बा १ झ ४९७३ नम्बरको गाडीलाई प्रदेश १–०२–०४३ प ७८७६ नम्बरको स्कुटरले ठक्कर दिँएको थियो । स्कुटर चालक जिल्ला बर्दिया घर भई धरान–८ बस्ने २३ वर्षीय सुमन चौधरी, पछाडि सवार संखुवासभा सिलिचोङ गापा–५ बस्ने ३३ वर्षीय प्रमोद तिम्सिना सामान्य घाइते भएका छन् ।
उनीहरुको बीपी प्रतिष्ठानमा उपचार भइरहेको छ । स्कुटर चालक चौधरीले मादक पदार्थ सेवन गरेकाका कारण दुर्घटना भएको जनाइएको छ । स्कुटर अस्थायी प्रहरी पोष्ट तीनकुनेको नियन्त्रणमा रहेको छ ।