विजयपुर/अन्तरजातीय विवाहकै कारण आत्महत्या गर्न बाध्य भएका भोजपुर षडानन्द नगरपालिका–१४ बोयाका १८ वर्षीय सङ्गम ठटाल (परियार)को जाहेरी प्रहरीले दर्ता गर्न अस्वीकार गरेको छ । पीडित पक्ष सरकारी वकिलको कार्यालय पुग्दा पनि मुद्दा दर्ता भएको छैन ।
मृतककी आमा सीता दर्जी छोराले आत्महत्या गर्नुमा वडाध्यक्ष झङ्कबहादुर रोकाको भूमिका रहेको भन्दै जेठ २९ गते जिल्ला प्रहरी कार्यालय भोजपुर पुगेकी थिइन् ।
उनले जिल्ला प्रहरी कार्यालय भोजपुुरका प्रहरी प्रमुख डीएसपी कृष्णकुमार चन्दले जाहेरी दर्ता गर्न अस्वीकार गरेको बताइन् । सीताले वडाध्यक्षले प्रेम विवाह गरेका छोरालाई घरदेखि प्रहरी चौकीसम्म जातीय भेदभावजन्य शब्द प्रयोग गरेर गालीगलौज गरेकाले छोराले आत्महत्या गरेको दाबी गरेकी छन् ।
छोरालाई बोया प्रहरी चौकीमा लगेर प्रहरीले कुटपिट गरेको र आफूले कुटपिट नगर्न आग्रह गर्दा वडाध्यक्ष रोकाले उल्टै गाली गरेको सङ्गमका बुबा गोरखबहादुर दर्जीले बताए ।
त्यही गालीगलौजका कारण आफ्नो छोराको ज्यान गएको भन्दै वडाध्यक्ष झङ्कबहादुर रोकाविरुद्ध कुटपिट, जातीय भेदभाव तथा आत्महत्या दुरुत्साहनसम्बन्धी उजुरी लिएर सङ्गमको परिवार जिल्ला प्रहरी कार्यालय भोजपुर पुगेको थियो ।
दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य बबिन्द्र रसाइलीले जातीय भेदभाव, गालीबेइजती तथा ज्यानसम्बन्धी मुद्दा दर्ता गर्न जाँदा विभिन्न बहाना बनाएर प्रहरीले दर्ता गर्न नमानेको बताए । उनले भने, ‘प्रहरीले बालविवाह भएकाले त्यससम्बन्धी मुद्दा अघि बढ्छ भन्दै धम्काए, हामीले त्यसो भए बालविवाहको सजाय मृत्युदण्ड हो ? भन्दै प्रतिप्रश्न ग¥यौं, अनि दर्ता नगरेपछि फक्र्यौं ।’
डीएसपी चन्द भने आफूले घटनाको विषयमा पहिले नै जाहेरी दर्ता गरिसकेको बताए । उनले दुईवटा मुद्दा दर्ता गर्न नमिल्ने भएकाले अर्को दर्ता नगरेको दाबी गरे । उनले भने, ‘सङ्गम आत्महत्या प्रकरणमा ज्यानसम्बन्धी मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेका छौं । पहिले नै दर्ता भएकाले अर्को दर्ता गर्न मिल्दैन भनेको हो, दर्ता नै गर्दैनौँ भनेको होइन ।’
पीडित परिवारले अन्तरजातीय विवाह छुटाउनमा प्रहरीको पनि भूमिका रहेको र प्रहरीले वडाध्यक्षको संरक्षण गरेको आरोप लगाएको छ ।
सङ्गमले षडानन्द–१४ कै १५ वर्षीया श्रेष्ठ थरकी किशोरी विवाह गरेका थिए । उनीहरूलाई जेठ ११ गते वडाध्यक्षले नै प्रहरीमा लगेर छुट्याएका थिए । १२ गतेदेखि बेपत्ता भएका सङ्गमको शव १५ गते गाउँनजिकैको जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको थियो ।
प्रहरीले दर्ता नगरेपछि जाहेरी लिएर मृतककी आमा सीता जेठ ३० गते सरकारी वकिलको कार्यालय पुगेकी थिइन् । तर, त्यहाँ पनि उजुरी दर्ता भएन । उनले जिल्ला सरकारी वकिल कार्यालयकी जिल्ला न्यायाधीवक्ता कल्पना राईलाई जाहेरी बुझाइन् । सीताले कार्यालयले दर्ता ग¥यो भन्ने बुझेर फर्किइन् ।
तर, न्यायाधीवक्ता राई भने आफूले फाइल हेरेर सम्पर्क गर्छु भनेर पठाएको र आफूले फाइल नहेरी केही भन्ने अवस्था नरहेको बताइन् । उनले ब्लाष्टसँग कुरा गर्दै आफूले व्यस्तताले गर्दा अहिलेसम्म पनि फाइल हेर्न नभ्याएको बताइन् । फाइल हेरेर छलफल गरिसकेपछि के हुन्छ, त्यसैका आधारमा अघि बढ्ने उनले बताइन् ।