विजयपुर / धरान–१६ मा वृद्धहरूका लागि विश्रामालय निर्माण भइरहेको छ ।
धरान–१६ को निर्माणाधीन तारा सुब्बा स्मृति पार्कभित्र नै वृद्धवृद्धा विश्रामस्थल निर्माण भइरहेको हो । वडा कार्यालयले ज्येष्ठ नागरिकहरूका समस्यालाई मध्यनजर गर्दै विश्रामस्थल निर्माण गर्न थालेको वडाध्यक्ष दिलकुमार गिरीले जानकारी दिए ।
विश्रामस्थल ३ लाख ८१ हजारको लागतमा निर्माण हुँदैछ । अध्यक्ष गिरीले चालु आर्थिक वर्षको ज्येष्ठ नागरिकहरूलाई विनियोजित बजेटबाट विश्रामस्थल निर्माण गर्न थालेको बताए ।
विश्रामस्थलको अनुमानित बजेट ३ लाख ८१ हजार रहेको छ । वडा कार्यालयबाट २ लाख १४ हजार मात्रै विनियोजित छ भने अन्य बजेट भने उपभोक्ता र दाताहरूबाट व्यवस्थापन गर्ने अध्यक्ष गिरीको भनाइ छ ।
गिरीले ज्येष्ठ नागरिकहरू रुखको छहारीमुनी बसेर शीलत तापेको देखेपछि विश्रामस्थल आवश्यक महसुस गरी निर्माण गरेको बताए । उनले भने, ‘अन्य वडाले ज्येष्ठ नागरिकहरूलाई भ्रमणमा लगे, मैले वडाका वृद्धवृद्धालाई भेला गरेर सोधेँ, भ्रमणमा जानेँ कि विश्रामस्थल निर्माण गरौँ ? धेरैको विश्रामस्थल निर्माण गर्नू भन्ने उत्तर आएपछि सुरु गरेको हो ।’